
काठमाडौं । ठेक्का सम्झौता भएको दुई वर्षसम्म पनि ढोलाहिटी–सुनाकोठी–चापागाउँ–लेले तिरेश्वर हुँदै सरस्वती कुण्ड जोड्ने (१३.०१ किलोमिटर) सडक निर्माण नभएपछि स्थानीयवासी ६ दिनदेखि आन्दोलित बनेका छन् । स्थानीयले सुनाकोठीदेखि चापागाउँ हुँदै चल्ने सवारीसाधनमा रोक लगाएका छन् भने गौँडा–गौँडामा बाँस, फलामको रड, काठ र मूढा तेस्र्याएर धर्ना दिएका छन् ।
चापागाउँ, सुनाकोठी, ठेचोका बासिन्दाले घाम लाग्दा धुलो र पानी पर्दा हिलोले आजित बनेपछि आन्दोलनमा उत्रिएको बताएका छन् । ६ दिनदेखि लगातार आन्दोलन भए पनि स्थानीयको माग सुनुवाइ गर्ने विषयमा कुनै निकायले चासो दिएको छैन । धर्नास्थलमा भेटिएका गोदावरी–१२ थेचोका अनुपकुमार महर्जनका अनुसार धुवाँ र धुलोले आजित भएपछि आन्दोलनमा उत्रिएको बताए ।
उनले भने,‘सडक निर्माण सुरु भएको दुई वर्ष बित्यो । तर, अहिलेसम्म १० प्रतिशत काम भएको छैन । सडक भत्किएका छन् । ढल फुटेका छन् । नाली भरिएका छन् । घाम चर्र्किँदा धुलो उड्छ । पानी पर्दा हिलो हुन्छ । प्रदूषणले आजित भइयो । यसबाट मुक्ति पाउन आन्दोलनमा उत्रिएका हौँ ।’
सडक निर्माणको ठेक्का सम्झौता २५ जेठ ०७३ मा भएको थियो । सम्झौताअनुसार निर्माण व्यवसायीले काम गरेको भए पुस ०७५ भित्रै सकिन्थ्यो । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको तथ्यांकअनुसार सडक निर्माणको १० प्रतिशत काम पनि सम्पन्न हुन सकेको छैन । आयोजनाले सुरुमा सडकको चौडाइ २० मिटर तोकेको थियो ।
अधिकांश घर भत्किने भएपछि स्थानीयले यसको विरोध गरेपछि घटाएर १७ दशमलव पाँच मिटरमा झारियो । स्थानीयको यसमा पनि विरोध भयो । विरोधका बाबजुद पनि आयोजनाले केही स्थानमा सडक भत्काएको थियो । आयोजनाले भत्काएको यही सडकका कारण स्थानीय पीडित बनेका हुन् । नयाँ पत्रिका दैनिकबाट ।
प्रतिक्रिया दिनुहोस