aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
१३ खर्बको बजेट  विकासमा जम्मा एक खर्ब खर्च

१३ खर्बको बजेट  विकासमा जम्मा एक खर्ब खर्च

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ जेठ २०७६
१३ खर्बको बजेट  विकासमा जम्मा एक खर्ब खर्च

काठमाडौं । आर्थिक वर्षको १० महिनामा नेपाल सरकारले बजेटको आधा अर्थात् ५० प्रतिशत मात्रै खर्च गरेको छ । चालू आर्थिक वर्षको संघीय बजेट १३ खर्ब १५ अर्ब १६ करोडमध्ये वैशाख मसान्तसम्म जम्मा ६ खर्ब ६१ अर्ब ९७ करोड मात्रै खर्च भएको हो ।

सरकारले मध्यावधि समीक्षामार्फत बजेटमा संशोधन गरी ११ खर्ब ९९ अर्ब १५ करोड २५ लाख रुपैयाँ मात्रै खर्च हुने लक्ष्य तय गरेको छ । आर्थिक वर्षको १० महिनामा त्यसको पनि जम्मा ५५ दशमलव २ प्रतिशत मात्रै खर्च भएको छ । यसको अर्थ चालू आर्थिक वर्ष ०७५र७६ सम्पन्न हुन ६३ दिनमा करिब साढे पाँच खर्ब रुपैयाँ खर्च गर्नुपर्नेछ । 

दुईतिहाइ बहुमतसहितको बलियो सरकारले ल्याएको बजेट खर्च गत आर्थिक वर्षको तुलनामा पनि कमजोर देखिएको छ । गत आर्थिक वर्षको वैशाख मसान्तसम्म सुरु अनुमानको ५९ प्रतिशत बजेट खर्च भएको थियो । त्यस वर्ष १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँको बजेट ल्याएकोमा १० महिनामा सात खर्ब ५६ अर्ब ३६ करोड बजेट खर्च भएको थियो । 

०७६ को असार मसान्तभित्र चालू आर्थिक वर्षको बजेट खर्च गरिसक्ने हो भने दैनिक आठ अर्ब ५२ करोड ६६ लाख रुपैयाँ खर्च गर्नुपर्नेछ । सार्वजनिक बिदा, पर्वलगायतलाई कटाउने हो भने खर्चको दर दैनिक झन्डै नौ अर्ब रुपैयाँ पुर्‍याउनुपर्नेछ ।

तर, १० महिना अर्थात् तीन सय दुई दिनमा गरिएको खर्चको दर हेर्दा यो लक्ष्य पूरा हुन देखिँदैन । अहिलेसम्मको प्रगति हेर्दा दैनिक दुई अर्ब १९ करोड १९ लाख रुपैयाँ खर्च भइरहेको देखिन्छ । यस आधारमा अब असार मसान्तभित्र बाँकी बजेट खर्च गर्न दैनिक बजेट खर्च गर्ने दर झन्डै चार गुणाले वृद्धि गर्नुपर्ने हुन्छ । 

कुल विनियोजित बजेटलाई आधार मान्ने हो भने खर्चको अवस्था अझ भयावह देखिन्छ । कुल विनियोजित बजेटको अहिलेसम्म ५० दशमलव ३३ प्रतिशत मात्र खर्च भएको छ । यसको अर्थ दुई महिनामा बाँकी ४९ दशमलव ६७ प्रतिशत बजेट खर्च गर्नुपर्ने अवस्था हुने थियो । सरकारले चालू आवमा १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट ल्याएकोमा मध्यावधि समीक्षामार्फत ११ खर्ब ९९ अर्ब १५ करोड २५ लाख रुपैयाँ मात्र खर्च गर्ने अनुमान गरेको छ । नयाँ पत्रिका दैनिकबाट । 

प्रतिक्रिया दिनुहोस