
काठमाडौं । वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले सरकारसँग कोरोना भाइरसको परीक्षण गर्ने किट नै नभएको दाबी गरेका छन् । कोरोना भाइरसका विषयमा मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा डा.दीक्षितले भाइरस परीक्षण नै नगरी सरकारले संक्रमण देखिएको छैन भन्दै जनतालाई धोका दिएको आरोप लगाएका हुन् ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण एक जनामा पनि नदेखिएको बताइरहेका बेला वरिष्ठ चिकित्सक दीक्षितले भने शंकास्पद व्यक्तिमाथि कुनै पनि परीक्षण नभएको आरोप लगाएका हुन्।
उनले भने, ‘हामीलाई के भनिएको छ भने हाम्रो यहाँ त आएकै छैन, एउटालाई मात्रै देखिएको थियो, नेपालमा त कोरोना भाइरस छँदै छैन्, टेस्ट नै नगरेपछि कहाँबाट हुन्छ त ?’ उनले सरकारसँग भएका केही किट भिआइपीको परीक्षणका लागि मात्र प्रयोग गरिएको आरोप पनि लगाए ।
उनले भने, ‘अझ खतरनाक कुरा, जति किट छ रे त्यो खालि भिआइपिको लागि, त्यो कति सत्य हो, त्योचाहिँ भन्न सक्दिनँ र अरू तीनवटा कुराचाहिं विलकुल सत्य हुन्।’ एक दिनअघि मात्रै इटलीबाट प्रशिक्षणका लागि आएका एक जना व्यक्तिलाई ज्वरो र खोकी लागेको भए पनि सरकारले परीक्षण नगरिदिएको उनले बताए ।
उनले आफ्नो अस्पतालमा अझै ३ जना शंकास्पद बिरामी रहेको तर टेकु अस्पतालले परीक्षण नगरिदिएको आरोपसमेत लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस