
काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कृषि तथा पशुपंन्छी विकास मन्त्रालयले खाद्यवस्तु, बिरुवाजन्य तथा पशुपंन्छी जन्य वस्तु आयातमा रोक लगाएको छ । मन्त्रालयले गत फागुन २८ गते सबै क्वारेन्टाइन कार्यालयलाई परिपत्र गर्दै यस्ता वस्तु पैठारीमा रोक लगाएको हो ।
मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ –‘कोरोना भाइरस ( कोभिड–१९) बाट अति प्रभावित चीन, दक्षिण कोरिया, इटाली, जापान, इरान, फ्रान्स, स्पेन र जर्मनीबाट कुनै पनि पशु तथा पशुजन्य, बिरुवा तथा बिरुवाजन्य तथा खाद्यवस्तुको आयात सिफारिस प्रदान गर्ने कार्य स्थगित गरिएको छ ।’ सरकारले यसका साथै अनअराइभल भिसा प्रदान गर्न रोक लगाएको सबै मुलुकबाट समेत माथि उल्लेखित वस्तु आयातमा रोक लगाएको कृषि विकास मन्त्रालयका प्रवक्ता डा. हरिवहादुर केसीले जानकारी दिए ।
मन्त्रालयको यो निर्णयपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कोरोना अति प्रभावित मुलुकबाट पैठारी गरिने कृषिजन्य, पशुजन्य र विरुवाजन्य खाद्यसामग्रीको आयातको अनुमति दिन बन्द गरेको प्रवक्ता मोहनकृष्ण महर्जनले बताए ।
रेट जोनका परेका बाहेक कोरोना संक्रमित अन्य मुलुकबाट समेत आयातमा रोक लगाइएका वस्तुहरू पैठारी गर्न सिफारिस दिँदा अनिवार्य रुपमा जोखिम विश्लेषण गर्नुपर्नेछ । कोरोना संक्रमित मुलुकबाट आयात इजाजतपत्र नलिइकन आयात गरिएका पशुजन्य, बिरुवाजन्य र पशुपंछीजन्य वस्तु कन्साइनमेन्टहरूको नष्ट गर्ने प्रक्रिया अघि बढाउन समेत मन्त्रालयले निर्देशन दिएको छ । आयात अनुमति पत्र लिएर नेपाल भित्रिएका यस्ता वस्तुका कन्साइनमेन्ट समेत सम्बन्धित क्वारेन्टाइनबाट कडाइका साथ चेकजाँच गर्ने र आवश्यकता भएमा निसंक्रमण सकेत गर्न समेत सबै क्वारेन्टाइन कार्यालय÷चेकपोष्ट÷केन्द्रहरूलाई निर्देशन दिइएको छ ।
यदि क्वारेन्टाइन अधिकृतलाई कुनै वस्तुमा शंका लागेमा अधिकृतले सो वस्तु आयात भएकै देशमा फर्काउने, नष्ट गर्ने तथा जलाउने समेत अधिकार पशु स्वास्थ्य तथा पशुसेवा ऐन २०५५ मा व्यवस्था गरिएको छ । मन्त्रालयको उक्त परिपत्र देशभरि रहेका २८ वटा क्वारेन्टाइन कार्यालयमा पनि खासगरी भारतीय नाका पठाइसकेको मन्त्रालयले जानकारी दिएको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार कृषि तथा पशुपन्छी मन्त्रालयले तीन प्रकारका वस्तुको पैठारीमा रोक लगाएको जानकारी आएको बताए ।
प्रतिक्रिया दिनुहोस