aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

कोरोनाका कारण २४ घण्टामै ८ सयभन्दा धेरैको ज्यान गयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ चैत्र २०७६
कोरोनाका कारण २४ घण्टामै ८ सयभन्दा धेरैको ज्यान गयो

काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण अहिलेसम्म एक सय ६५ देशमा पुगिसकेको छ । भाइरसको केन्द्रबिन्दु चीनमा नियन्त्रण हुँदै गइरहेको सङ्क्रमण चीनबाहिर भने तीव्र रुपमा फैलिरहेको छ । 

चीनमा पछिल्लो २४ घण्टामा चीनमा कसैमा पनि सङ्क्रमण देखिएको छैन र ज्यान गुमाउनेको सङ्ख्या पनि बढेको छैन । कोरोनाका कारण चीनमा अहिलेसम्म तीन हजार दुई सय २६ जनाको ज्यान गएको छ ।

सङ्क्रमण देखिएका ८० हजार आठ सय १ मध्ये ६ हजार सात सय २४ जना उपचारपछि घर फर्किएका छन् । त्यस्तै उपचार गराइरहेका आठ हजार ९ सय ३१ जनामध्ये तीन हजार दुई सय २६ जनाको अवस्था गम्भीर छ । 

चीनबाहिर पछिल्लो २४ घण्टामा आठ सय तीन जनाको ज्यान गएको छ भने १५ हजार सात सय ४० जना नयाँ सङ्क्रमित थपिएका छन् । 

चीनपछि सबैभन्दा धेरै इटलीमा ज्यान गएको छ । पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय २६ जनामा सङ्क्रमण देखिएकोमा तीन सय ४५ जनाको ज्यान गएको छ । भाइरसका कारण इटलीमा ज्यान गुमाउनेको सङ्ख्या दुई हजार पाँच सय तीन पुगेको छ । भाइरसको सङ्क्रमण देखिएका ३१ हजार पाँच सय ६ जनामध्ये झण्डै तीन हजार जना उपचारपछि निको भएका छन् । 

इरानमा पनि पछिल्लो २४ घण्टामा एक सय ३५ जनाको ज्यान गएको छ । इरानमा भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ९ सय ८८ पुगेको छ ।  

एक लाख ९८ हजारभन्दा धेरै मानिसमा सङ्क्रमण पुष्टि भएकोमा साढे ८१ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् । सात हजार ९ सय ६५ जनाको ज्यान गइसकेको छ ।

इटली, इरान, स्पेन, फ्रान्स, अमेरिका, दक्षिण कोरिया, बेलायत, नेदरल्याण्ड, स्विजरल्याड, जर्मनी लगायतका देशहरुमा सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । 

प्रतिक्रिया दिनुहोस