aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
कोरोना भाइरस

डेढ महिना सिनेमा हल बन्द, २५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने, भ्रम फैलाउनेलाई ५ वर्ष जेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ चैत्र २०७६
डेढ महिना सिनेमा हल बन्द, २५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने, भ्रम फैलाउनेलाई ५ वर्ष जेल

काठमाडौं । सरकारले अप्रिल ३० सम्म धेरै मानिस जमघट हुने स्थल बन्द गर्ने निर्णय गरेको छ । उपप्रधामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना भाइरस कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रण गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले रङ्गशाला, सिनेमा हल, जिम तथा हेल्थ क्लबलगायत बढी मानिसको जमघट हुने स्थल उक्त समयावधिसम्मको लागि बन्द गर्ने निर्णय गरेको छ ।

साथै बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुनसमेत रोक लगाएको छ । अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिष्कन समेत सरकारले सर्वसाधारणलाई सूचीत गरेको छ । सार्वजनिक यातायातका सवारीधनीलाई सवारी साधान चलाउनुअघि प्रत्येक दिन सवारीसाधनलाई ‘डिस्इन्फेक्सन’ गर्न लगाउने निर्णय समेत बैठकले गरेको छ ।

भ्रम फैलाउनेलाई ५ वर्ष जेल

रक्षा मन्त्री समेत रहेका पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरिय समन्वय समितिको बैठकले कोरोना भाइरसबारे गलत भ्रम फैलाउनेलाई ५ वर्ष जेल सजाय गर्ने निर्णय समेत छ । ‘सर्वसाधारण नागरिकलाई भ्रम सिर्जना हुने गरि कुनै पनि सञ्चार माध्यम(सामाजिक सञ्जाल समेत)बाट गलत अभिव्यक्ति दिएमा विद्यमान कानुन बमोजिम कडा कारवाही गर्ने गरी निर्णय गरिएको हो ।

 समितिले त्यस्तो भ्रम फैलाउनेलाई खोजेर कारवाही गर्न नेपाल प्रहरीलाई निर्देशन समेत दिईसकेको छ । सरकारले विद्युतिय कारोबार ऐन, २०६३ लाई टेकेर कारवाही प्रक्रिया अघि बढाउन लागेको हो । उक्त ऐनको दफा ४७ मा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था गरेको छ । 

प्रतिक्रिया दिनुहोस