aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

नेपाल-भारत सीमाको जमुनाह नाकामा सवारी आवागमनमा रोक

  • रासस
    रासस
  • विहीबार, ०६ चैत्र २०७६
नेपाल-भारत सीमाको जमुनाह नाकामा सवारी आवागमनमा रोक

नेपालगंज। कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिँदै बाँकेको मुख्य नेपाल-भारत सीमाको जमुनाह नाकामा सवारी साधन संचालनमा रोक लगाइएको छ। हिजो, ५ फागुनदेखि साइकलदेखि ठूला सवारीसाधनसम्म आवतजावतमा रोक लगाइएको हो।

नेपाल र भारतका सुरक्षा अधिकारीको बैठकले सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको हो। बिहानैदेखि टेन्ट लगाएर स्वास्थ्यकर्मीले नाकामा प्रवेश गर्ने हरेकको अनिवार्य स्वास्थ्य परीक्षण गरिरहेका छन् । नेपालतर्फ चौलिक्का चोकसम्म मात्र सवारीसाधन सञ्चालन गर्न दिइएको छ।

सवारीसाधन संचालनमा रोक लगाए पनि पैदल आवातजावत भने यथावत रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए।

कोभिड-१९ को त्राससँगै अहिले भारतबाट घर फर्किने नेपालीको संख्या बढ्दो छ। भारतमा कोरोना भाइरस संक्रमणका बिरामी देखिएसँगै नेपालमा भित्रिन सक्ने भन्दै सतर्कतास्वरूप जमुनाह नाका बन्द गर्नुपर्ने स्थानीयले माग गरेका थिए।

तर, यहाँको व्यापार व्यवसायमा प्रतिकूल प्रभाव परे पनि भारतबाट आउने मालसामान भने रोकिएका छैनन्।

सीमानाकामा आवतजावतमा कडाइ भए पनि सामान आयात तथा निर्यात भने जारी नै रहेको नेपालगंज भन्सार कार्यालयले जनाएको छ ।

“भारतबाट मालसामान आयातमा वृद्धि भएकाले अहिले विगतको भन्दा दैनिक एक करोड बढी राजश्‍व संकलन भइरहेको छ”, भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले बताए।

प्रतिक्रिया दिनुहोस