
काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक राख्ने भएका छन् । बैठकले कोरोना भाइरस संक्रमणको त्रासबाट नेपाली अर्थतन्त्रलाई जोगाउने प्रयासदेखि हिजो कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गरेका निर्णयलाई अनुमोदन र अन्य थप नीतिगत निर्णय गर्ने बुझिएको छ । आज बस्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषद् बैठकले थप नीतिगत निर्णय समेत गर्ने प्रम कार्यालयका प्रवक्ता रोजन्द्रकुमार पौडेलले बताए ।
‘हिजो बुधबार समितिले गरेको निर्णयका साथै राती १० बजेसम्म भएका थप निर्णय समेत आजको बैठकले अनुमोदन गर्नेछ । ‘ यसअघि भएका मन्त्रालयस्तरीय निर्णय र अन्य नीतिगत निर्णय गर्न नियमति बैठक बस्न लागेको हो,’ उनले भने ‘प्रम सचिवालयमा आज बैठक बस्नेछ । योे नियमित बैठक हो । तर, यो नियमित बैठक भएपनि विषम परिस्थिति भएकोले नीतिगत निर्णय गर्नेछ ।’
साथै राष्ट्र बैंकमा रिक्त रहेको गभर्नर नियुक्तिको प्रक्रियालाई अघि बढाउने बुझिएको छ । आज बस्ने मन्त्रीपरिषद्को बैठकले राष्ट्र बैंक गभर्नर सिफारिस समिति बनाउने छ । अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षमा बन्ने तीन सदस्यीय गभर्नर सिफारिस समितिले राष्ट्र बैंकका लागि १७ औं गभर्नर नियुक्त गर्नेछ । राष्ट्र बैंकमा यहि चैत ५ गतेदेखि गभर्नर पद रिक्त रहेकाले डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले कायममुकाय गभर्नरको पदभार सम्हाली रहेका छन् ।
त्यस्तै मिर्गाैला प्रत्यारोपणपछि बस्न लागेको मन्त्रिपरिषद बैठकले विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको त्रासबाट अपनाउने सावधानी, नेपाली अर्थतन्त्रमा पार्न सक्ने प्रभाव तथा गभर्नर सिफारिस समितिको गठनजस्ता नीतिगत निर्णय गर्न बैठक बोलाएको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जानकारी दिएको छ ।
सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बनाएको छ ।
प्रतिक्रिया दिनुहोस