
काठमाडौं । कल वाइपास सबैले सुन्दै आएको हो, तर एक जना भारतीयले भने एसएमएस नै वाइपास गरेको तथ्य फेला पारेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले यसरी अत्याधुनिक प्रविधिको प्रयोग गरी एसएसमएस वाइपास गरेको नेपालमा पहिलो भएको दाबी गरेको छ । उक्त अवैध कार्यमा संलग्न रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ समेत गरेको छ ।
उनले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिइ उपकरण राखी गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय एसएसएस वाइपास गर्ने गरेको खुलेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२५ टङ्गालस्थित तुलसी महर्जनको घरमा कोठा भाडामा लिई बस्दै आएका भारतका ३५ वर्षका प्रशान्त साह रहेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।
शाहमाथि दुरसञ्चार ऐन, २०५३ अन्तर्गत कारवाही थालिएको छ । उनको साथबाट प्रहरीले विभिन्न सञ्चार उपकरण बरामद गरेको छ । यस्तै तीस थान नेपाल टेलिकमको सिम र १८५ थान एनसेलको सिमसमेत बरामद गरिएको छ । प्रहरीका अनुसार अनुसन्धानमा विगतमा कल वाइपास गर्दै आएकोमा अहिले नयाँ तरिकाले एसएसएस वाइपास गर्ने गरेको फेला परेको हो । उनले उक्त कामका लागि सबै उपकरण भारतबाटै ल्याएको खुल्न आएको छ । वाइपासमा उनी एक्लै सहभागी भएको समेत प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस