aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

पैसा नदिएको रिसमा बालकको हत्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ चैत्र २०७६
पैसा नदिएको रिसमा बालकको हत्या

रुपन्देही । रुपन्देहीको ओमसतीया गाउँपालिकामा एक बालकको हत्या भएको छ ।ओमसतीया–५ धान्सीका १० वर्षीय बालक आकाश हरिजनको इँटाले टाउकोमा प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

यही चैत ४ गते बिहान १० बजे विद्यालय गएका बालक घर नफर्किएपछि खोजतलास गर्ने क्रममा ६ गते मात्रै ओमसतीयाको खेतमा शव फेला परेको थियो । बिहान करिब साढे ११ बजे स्थानीयवासीले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । 

सिक्टहन माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत हरिजनलाई विद्यालयले चार सय छात्रवृत्ति रकम प्रदान गरेको थियो । सोही रकम नदिएको रिसमा स्थानीय १५ वर्षीय बालकले उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी दिए । उनले बाबुसँगको मिलेमतोमा आकाशको हत्या गरेको आशङ्कामा प्रहरीले दुबैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक थापाले बताए । 

“आरोपीले विद्यालयले दिएको रकम आफूलाई दिन ललाइफकाई गर्दा पनि आकाशले नदिएपछि इँटाले हानेर हत्या गरेको स्वीकार गरेका छन्, १५ वर्षको मात्रै भएका कारण नाम सार्वजनिक गरिएको छैन”, उनले भने । हत्याको आशङ्कामा आकाशका परिवारजनले किटानी जाहेरीसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो । 

प्रतिक्रिया दिनुहोस