aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

“ट्राफिक प्रहरीको विशेष अप्रेशन, बढी भाडा लिने ९ जना पक्राउ ”

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ चैत्र २०७६
“ट्राफिक प्रहरीको विशेष अप्रेशन, बढी भाडा लिने ९ जना पक्राउ ”

 काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले विषम परिस्थितिको फाईदा उठाई सार्वजनिक बसहरूमा बढी भाडा लिने ९ जना व्यक्तिहरूलाई पक्राउ गरेको छ । ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाले जनाएको छ । 

पक्राउ पर्नेमा लालकाजि घिसिङ, दिपक तामाङ, श्याम थापा मगर, नरेश लामिछाने, दिल बहादुर भण्डारी,  भुवन लामा, राजेन्द्र थापा, संगम दुत्त मग्रान्ती र सुव्वा बोहरा रहेका छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सादा पोशाकमै प्रहरी खटाएर बढी भाडा लिने विरुद्ध कारवाही चलाएको जानकारी दिए । उनले यात्रु ठगीका घटना रोक्न विशेष अभियान चलाएको तर प्रहरीको आँखा छलेर ठगीमा परिएको स्वयं यात्रुले गुनासो गरे ट्राफिक प्रहरी खटाई तुरून्तै कारवाही गर्ने बताए । 

प्रहरीले आफैँ यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिएर कारवाही गर्ने र प्यासेञ्जर बस्ने लाइनमा बसेर फलानो ठाउँ जाने भनी टिकट मागेर अडियो भिडियो रेकर्ड गरी उनीहरुलाई कारवाहीको दायरामा ल्याउने गरेको छ । 

महाशाखाका प्रवक्ता  प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले सर्वसाधारणको रुपमा यात्रु बनेर बढी भाडा लिनेलाई पक्राउ गर्ने गरिएको बताए । उनीहरुले गाडी चढ्न अघि कतिपय यात्रुलाई कन्भिन्स गरेर पैसा ठग्ने गरेको र कतिपयलाई बढी भाडा नतिरे नलैजाने गरेको पाइएको छ। 

पक्राउ पर्ने व्यक्तिहरूलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्तहरूमा बुझाएको छ । बिश्वव्यापी रूपमा फैलिदै गएको कोभिड – १९ ९कोरोना० भाईरस संक्रमणबाट बच्न सतर्कता अपनाउदै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सेवाहरू प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस