aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

अर्थमन्त्री डा खतिवडा र भारतीय राजदूतबीच भेट

  • रासस
    रासस
  • शनिबार, ०८ चैत्र २०७६
अर्थमन्त्री डा खतिवडा र भारतीय राजदूतबीच भेट

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडासँग नेपालका लागि भारतका नवनियुक्त राजदूत विनय मोहन क्वात्राले शुक्रबार अर्थ मन्त्रालयमा शिष्टाचार भेट गरे  । सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका अर्थमन्त्री डा खतिवडाले नवनियुक्त राजदूतलाई स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना दिए । साथै, नेपालको विकासका लागि भारत सरकारबाट निरन्तर प्राप्त सहयोगका लागि धन्यवाद दिए । 

भेटमा अर्थमन्त्रीले नेपालको विकास कार्यसूची, आर्थिक स्थिति, वित्तीय सङ्घीयताको कार्यान्वयनमा नेपालको अनुभव, बैंक, वित्त र राजश्व क्षेत्रमा भएका सुधार, द्विपक्षीय आर्थिक सहयोग, व्यापार, लगानीलगायत विषयमा जानकारी गराएका थिए । उनले भूकम्पपश्चात्को पुनर्निर्माणका लागि भारत सरकारले गरेको सहयोगका लागि धन्यवाद दिए । 

अर्थमन्त्रीले कोभिड–१९ विरुद्ध नेपाल सरकारले चालेका कदमको जानकारी गराउँदैै यस भाइरसविरुद्ध लड्न सहकार्य गर्नसमेत आग्रह गरे । उहाँले कोभिड–१९ विरुद्ध भारत सरकारको अगुवाइमा स्थापित १० मिलियन अमेरिकी डलरको आकस्मिक कोषको स्वागत गरे । अर्थमन्त्रीले यसविरुद्ध भारत सरकारले मेडिकल, स्वास्थ्यकर्मी र स्वास्थ्यसँग सम्बन्धित मेशिनरी सामान नेपाललाई सहयोग गर्ने प्रस्तावको प्रशंसा गरे ।

अर्थमन्त्रीले कोभिड–१९ को समस्याबाट नागरिकको स्वास्थ्य र सुरक्षामा कुनै जोखिम आउन नदिन दुवै देशले विशेष सजगता अपनाउनुपर्ने बताउँँदै यसको जोखिम न्यूनीकरण गर्न दुवै देशको नाकाहरुमा निगरानी बढाउनुपर्नेमा जोड दिए। यस प्रकोपको समयमा अत्यावश्यक वस्तुको आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउने र सहकार्यबाट नागरिकको स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्नुपर्ने आवश्यकता रहेको बताए ।

अर्थमन्त्रीले विकास आयोजनाहरुको सहज कार्यान्वयनका लागि हाल देखिएका सबै समस्या समाधान गरी भारतीय सरकारको सहयोगमा सञ्चालित विभिन्न पूर्वाधार आयोजनाहरुको निर्माण कार्यमा तीव्रता दिनसमेत अनुरोध गरे । द्विपक्षीय तथा बहुपक्षीय व्यापारका लागि आवश्यक पूर्वाधार निर्माण, भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण, साना अनुदान कार्यक्रमअन्तर्गत सञ्चालित आयोजनाहरुको निर्माण कार्यमा पनि तीव्रता ल्याउन अनुरोध गरे । 

नेपालमा भारतीय पक्षबाट प्रवद्र्धन गरिएका व्यावसायिक परियोजनाहरुको निर्माण अवस्थाको समीक्षा गर्दै ती परियोजनाहरु तोकिएकै समयमा सम्पन्न हुने वातावरण गर्नसमेत अनुरोध गरे । उनले नेपाल र भारतबीच हुनसक्ने अवैध र अनौपचारिक व्यापारलाई नीतिगत र प्रणालीगत समन्वय र सहकार्यबाट नियन्त्रण गरी व्यापार, लगानी र वित्तको क्षेत्रको सुदृढीकरण गर्न संयुक्त प्रयास हुनुपर्नेमा जोड दिए । राजदूत क्वात्राले नेपाल र भारतबीच लामो सम्बन्ध भएको उल्लेख गर्दै आफ्नो कार्यकालमा नेपालसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुुभयो । उहाँले भारत सरकारले आगामी दिनमा नेपाल सरकारलाई सहयोग बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस