aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सोमबारदेखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध, यि दुई विमान भने सर्तसहित नियमित उडान हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ चैत्र २०७६
सोमबारदेखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध, यि दुई विमान भने सर्तसहित नियमित उडान हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार यसअघि नै रोक लगाइएका केही देश वा विमानस्थलबाट पनि काठमाण्डूमा विमान अवतरण गरेका छन् र ती विमान यात्रु लिएर फर्किएका छन् ।

आइतवार कतार एयरवेजले दोहा-काठमाण्डू, काठमाण्डू-दोहा, इतिहाद एयरवेजले अबुधाबी-काठमाण्डू, काठमाण्डू-अबुधाबी, सिल्क एयरले सिङ्गापुर-काठमाण्डू, काठमाण्डू-सिङ्गापुर, ड्रुक एयरले पारो (भुटान) (काठमाण्डू, काठमाण्डू- पारो उडान गरेका छन् ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार सरकारको निर्णयका आधारमा प्रतिबन्धित देश र विमानस्थलबाट पनि ती उडान भएका हुन्। र, ती विमान सेवाका उडान पूर्ण प्रतिबन्धपछि पनि जारी रहन सक्छन् ।

क्षेत्रीले भने, ‘कतार र इतिहाद एयरवेजलाई उताबाट यात्रु नल्याएर खाली आउने, पाइलटहरू जहाजमै बसिरहने र यहाँका यात्रु लग्ने सुविधा सरकारको निर्णय गराएर दिइएको छ। तर अरूलाई अहिलेसम्म त्यो अनुमति छैन।’

ती दुई विमान सेवा कम्पनीले पुरानै उडान तालिकाअनुसार यात्रु लिएर जाने गरेका छन् । उनीहरूले सोमवार पनि उडान गर्ने जानकारी दिएको छ ।
अरू विमान सेवा कम्पनीले चाहेमा त्यो सुविधाको निम्ति अनुमति दिन सकिने क्षेत्रीले जानकारी दिए ।

कुनै देशबाट निकाला गरिएका नेपाली अलपत्र परेका छन् भने उनीहरूलाई स्वास्थ्य परीक्षण गरेर क्वारन्टीनमा राख्ने गरी नेपाल ल्याउने अवस्था रहेमा सरकार लचिलो हुन सक्ने छ ।

तर त्यस्तो स्थितिबारे अहिलेसम्म कुनै विमान सेवा कम्पनीले सरकारलाई जानकारी गराएका छैनन् ।

प्रतिक्रिया दिनुहोस