
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस पोजेटिभ देखिएका कुनै पनि बिरामीलाई सरकारले उद्धार गरेर उपचार गर्ने बताएकाे छ ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले कुनै पनि कोभिड–१९ का बिरामी भेटिए सरकारले निःशुल्क उपचार गर्नेसमेत बताए । “कुनै व्यक्तिमा कोभिड–१९ पोजेटिभ देखिए हामी हवाईमार्ग वा स्थलमार्गबाट त्यस्ता व्यक्तिको सुरक्षितरूपमा उद्धार गरेर अस्पताल लगेर उपचार गछौँँ”, उनले भने ।
उहाँले नेपालमा पनि कोरोना पोजेटिभ देखिएपछि थप सावधानी अपनाउनुपर्छ भन्दै कोभिड–१९ पोजेटिभ देखिएपछि नेपाल अब ग्रीनजोनमा नरहेको समेत बताए । “हिजोसम्म हामी ग्रीन जोनमा रहेका थियौँ”, उनले भने, “कोभिड–१९ पोजेटिभ देखिएपछि हामी अब धैर्य गरेर थप सावधानी अपनाउनुपर्छ ।” फ्रान्सबाट नेपाल आएकी १९ वर्षीया युवतीमा कोभिड–१९ देखिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएकाे थियो ।
गत मङ्गलबार नेपाल अाएकी युवतीमा परीक्षणका क्रममा कोभिड–१९ पोजेटिभ देखिएपछि आइतबार बेलुका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ ।
मन्त्री ढकालले विगतमा पनि कोभिड–१९ पोजेटिभ देखिएको र १० दिनको उपचारपछि नेगेटिभमा परिणत भएको हो भन्दै अहिले देखिएका व्यक्तिलाई उपचारपछि नेगेटिभ परिणत गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कोरोना भाइरस परास्त गर्न नेपालीले देखाएको दृढताप्रति सराहना गर्दै कोभिड–१९ पोजेटिभ देखिएपछि अझ सावधानी अपनाउनुपर्ने बताए ।
उनले कोभिड–१९ पोजेटिभ देखिएका व्यक्तिका सम्पर्कमा रहेका परिवार तथा साथीभाइ पनि क्वारेन्टाइनमा राखी उपचार गरिने जानकारी दिए । “उहाँको परिवारलाई समेत होम क्वारेन्टाइनमा राखिएको छ । फ्रान्सबाट आएका साथीभाइको पनि हामीले खोजी गरिहेका छौँ”, उनले थपे, “उहाँहरु सबैलाई क्वारेन्टाइनमा राखी उपचार गछौँँ ।”
आइतबारदेखि चीन र भारतका सीमा एक हप्तासम्म बन्द गरिएको जानकारी गराउँदै ती दुई देशबाट आएका नेपालीलाई होम क्वारेन्टाइनमा बस्नसमेत भनिएको बताए । कोरोना अतिप्रभावित ५५ देश र ती देशबाट ट्रान्जिट भएर आउने यात्रुलाई नलिने भनेर निर्णय भए पनि केही अपवादका घटना भएपछि होम क्वारेन्टाइनमा पठाइएको जानकारी उनले दिए । खरिपाटीस्थित क्वारेन्टाइन आकस्मिकका लागि राखिने उनले बताए ।
हवाईमार्गबाट आएका र तत्काल आफ्नो बस्ने व्यवस्था नभएकाहरुलाई सरकारले खरिपाटीमा राखेको छ । बाहिरबाट आएका सङ्क्रमितलाई अप्ठ्यारो भयो भने सरकारले तोकिएका क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको जानकारी दिए ।
सबै प्रदेशमा टेकु अस्पतालस्तरीय प्रयोगशाला
सातै प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीको बैठकपछि सबै प्रदेशमा टेकु अस्पतालमा रहेको स्तरको प्रयोगशाला निर्माण गरिने जानकारी मन्त्री ढकालले दिए ।
सम्बन्धित प्रदेशमा कोभिड–१९ सँग सम्बन्धित रोगका बारेमा मात्र उपचार गर्ने गरी परिभाषित गरेर अस्पताल निर्माण गरिने उहाँले बताउनुभयो । सञ्चारमाध्यमलाई कोरोना भाइरससँगको लडाइँलाई कमजोर बनाउने खालका सूचना प्रवाह नगर्नसमेत मन्त्री ढकालले आग्रह गरेका छन् ।
कोरोना भाइरससँग सम्बन्धित औषधि सामग्री ल्याउनका विदेशस्थित कूटनीतिक नियोगबाट पहल भइरहेको उनले बताए । विदेशबाट अत्यावश्यक सामग्रीको सुनिश्चिता हुनेबित्तिकै सरकारले तयारी अवस्थामा राखिएका हवाईजहाजलाई पठाइने उनको भनाइ थियो ।
सरकारले चीन र भारतबाट सामग्री ल्याउने तयारी गरेको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले टेकुस्थित प्रयोगशालालाई विस्तार गरेर कोरोना भाइरसको नमूना परीक्षण बढाइने जानकारी दिए । उनका अनुसार अहिलेसम्म ६०० जनाको नमूना परीक्षण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस