
काठमाडौं । लकडाउन भनेको कर्फ्यु होइन, खाद्यान्न, औषधि र तरकारीजस्ता अत्यावश्यक सामग्रीको पसल निश्चित समय खोल्न पाइने छ । यस्तो बेलामा सुरक्षामा चुनौती देखिएमा गृह मन्त्रालयले कर्फ्यु समेत लगाउन सक्नेछ । सुरक्षाबाहेक अन्य कारणले मान्छेलाई आवातजावत रोक्नुपर्ने अवस्थामा ‘लकडाउन’ गरिन्छ । कर्फ्यु स्थानीय प्रशासन ऐनअनुसार सीडीओ नेतृत्वको जिल्ला सुरक्षा समितिले लगाउन सक्छ ।
सरकारले आज मंगलबारदेखि चैत १८ गतेसम्मका लागि देशभर लकडाउन गरेको छ । फ्रान्सबाट आएकी १९ वर्षे युवतीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि जोखिम बढ्ने देखेर सावधानी अपनाउन सरकारले चैत ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म देशनै लकडाउन गरेको हो ।
लकडाउनको अवस्थामा औषधि तथा खाद्य सामग्री किन्न भने दिने निर्णय गरिएको छ । निश्चित समयमा खाद्यान्न तथा तरकारी पसल चलाउन सकिने छ । लकडाउनमा कफ्र्युमा भन्दा केही लचकता हुन्छ । अत्यावश्यक सेवाका सवारीसाधन भने दुबै अवस्थामा अनुमति लिएर सञ्चालन गर्न पाइन्छ ।
अत्यावश्यक सेवाको क्षेत्रमा काम गर्ने कर्मचारीले सवारीसाधन प्रयोग गर्न पाउनेछन् । यसअन्तर्गत स्वास्थ्य, सुरक्षाका सवारीसाधन पर्छन । खाद्य वस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन तथा फोहोरमैलाका कर्मचारी काम जान पाउँछन् । यस्तो अवस्थामा अत्यावश्यक सेवाका अन्य सरकारी कार्यालयसमेत खुल्नेछ ।
सोमबार सरकारले निर्णय गर्दै संक्रमण रोग ऐन २०२० को दफा (२) बमोजिम जारी आदेशको अपहेलना गर्ने काममा बाधा पर्याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने उल्लेख छ । उक्त ऐनमा अत्यावश्यक सेवा तथा सरकारी काममा वाधा पुर्याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुबै हुने उल्लेख गरिएको छ ।
त्यस्तै सरकारी नियम अपहेलना गर्ने व्यक्ति उपर १ महिना कैद वा १०० रुपैयाँसम्म जरिवाना वा दुबै हुने उल्लेख छ । यो ऐन अनुसार केन्द्रीय सरकार तथा प्रदेश सरकारले लकडाउनको निर्णय गर्दछ । हाल सोही ऐनअनुसार लकडाउनको निर्णय भएको हो ।
प्रतिक्रिया दिनुहोस