aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
आज विश्व दूरसञ्चार दिवस, नेपालमा छोटो समयमै दूरसञ्चार क्रान्ति

आज विश्व दूरसञ्चार दिवस, नेपालमा छोटो समयमै दूरसञ्चार क्रान्ति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ जेठ २०७६
आज विश्व दूरसञ्चार दिवस, नेपालमा छोटो समयमै दूरसञ्चार क्रान्ति

काठमाडौं, जेठ ३ गते । सन् २००० अर्थात् १९ बर्ष अघि नेपालमा १५ हजार व्यक्तिमा मात्र टेलिफोनको पहुँच थियो जतिखेर देशको जनसङ्ख्या दुई करोड २७ लाख थियो । टेलिफोनको पहुँच हुनेहरूको समाजमा छुट्टै इज्जत हुन्थ्यो । एउटा टेलिफोन लाइन लिन ‘ठूलै’ शक्तिको प्रयोग गर्नुको विकल्प पनि थिएन त्यसबेला । 

परिस्थिति अहिले अपत्यारिलो किसिमले बदलिएको छ । हातमा फोन हुनु अब नेपालीका लागि गर्वको विषय रहेन । यो बरु गास, बास, कपासजस्तै आधारभूत आवश्यकता बनिसकेको छ । 

अहिले नेपालको जनसङ्ख्या दुई करोड ९५ लाख पुगेको छ तर मोबाइल प्रयोगकर्ताकै सङ्ख्या जनसङ्ख्याभन्दा एक करोड बढी अर्थात तीन करोड ९६ लाख ५५ हजार पुगेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क छ । यसबाट दूरसञ्चारको पहुँच जनसङ्ख्याभन्दा अधिक अर्थात् १३७.०८ प्रतिशत हुन्छ । दूरसञ्चार सेवा प्रदायकले बिक्री गर्ने सिमकार्ड आधारमा पहुँच निर्धारण गर्ने गरिन्छ । 

जनसङ्ख्याको करिब ६० प्रतिशत व्यक्ति इन्टरनेटको पहुँचमा छन् । जबकि सन् २००० मा आम नेपालीका लागि इन्टरनेट कल्पनाको विषयभन्दा बाहिर थियो । दूरसञ्चार कम्पनीहरूको आम्दानीको आधारमा प्रति प्रयोगकर्ताको मासिक दूरसञ्चार खर्च करिब डेढ सय रुपियाँ पुगेको छ ।

अर्थतन्त्रका पछिल्ला तथ्याङ्कले विगत दशकमा कुनै क्षेत्रको दु्रततर विकास भएको छ भने त्यो दूरसञ्चार क्षेत्र नै देखाउँछ । प्राधिकरणकै तथ्याङ्क अनुसार हरेक महिना औसत दुई लाख दूरसञ्चार प्रयोगकर्ता थपिएका छन् । दूरसञ्चारको यो तिव्र विकासले विगतको यो बिलासी सेवा अहिले आवश्यकताका रुपमा स्थापित भएको छ ।

सरकारले पनि यसलाई आवश्यक सेवाको रुपमा लिएको प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख १९ गते आयोजित दोस्रो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा उल्लेख गर्नुभएको थियो । 

दूरसञ्चारको पहुँच विस्तारमार्फत देशभर डिजिटल प्रणाली विकास गर्ने लक्ष्य अनुसार सरकारले पनि पछिल्लो समय देशैभर ब्रोडब्यान्ड विस्तार र सार्वजनिक स्थानमा इन्टरनेटको पहुँच बढाउनेतर्फ जोड दिएको छ । 

शुक्रबार विश्वभर ५० औँ विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदैछ । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठन (आईटीयू)का विश्वभरका १९३ सदस्य राष्ट्रभर यो दिवस मनाउने गरिन्छ । दशक अघिसम्म यस्तो दिवस विश्वभर दूरसञ्चारको विस्तारमा बढी केन्द्रित रहन्थ्यो । पछिल्लो समय भने यस्तो दिवस यसको गुणस्तर वृद्धि र बढ्दो डिजिटल खाडल कम गर्नुपर्ने विषयमा लक्ष्यित हुन थालेको छ । 
 

दूरसञ्चारको महत्वपूर्ण इतिहास
विसं. १९७४ जेठ १ पहिलोपटक सर्वसाधारणका लागि टेलिफोन सेवा
१९७४ काठमाडौँदेखि रक्सौलसम्म ट्रङ्क लाइन सुरु
१९९३ काठमाडौँदेखि धनकुटासम्म ट्रङ्क लाइन विस्तार
२०३२ नेपाल दूरसञ्चार संस्थानको स्थापना
२०५३ भिस्याट सेवाको सुरुवात
२०५६ जीएसएम मोबाइल सेवाको सुरुवात
२०५७ इन्टरनेट सेवाको सुरुवात
२०६० जीएसएम प्रिपेड सेवा सुरु
२०६२ सीडीएमएको सुरुवात
२०६४ थ्रीजीको सेवाको सुरुवात
२०६९ वाइम्याक्स फोरजीको सुरुवात
२०७३ फोरजी सेवा सुरु
२०७५ देशैभर फोरजी सेवा विस्तार सम्झौता
२०७६ अप्टिकल फाइबर बिछ्याउन सुरु

गोरखापत्र दैनिकबाट । 

प्रतिक्रिया दिनुहोस