
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले सिमा नाकामा अलपत्र नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले कोरोना संक्रमणपछि भारतबाट आएर सीमा नाकामा बसेका नेपालीहरुलाई आजका लागि मात्रै नेपाल प्रवेशको अनुमति दिने निर्णय भएको जानकारी दिए । नेपाल प्रवेश अनुमति पाएपनि उनीहरुले १४ दिनसम्म अनिवार्य क्वारेनटाइनमा बस्नुपर्ने छ ।
आइतबार बिहान १० बजेदेखि सरकारले सीमा नाका बन्द गरेपछि आइपुगेका उनीहरूले प्रवेशको अनुमति पाएका थिएनन् । नाकामा अलपत्र परेका उनीहरुले नेपाल प्रवेशका लागि आज जिल्ला प्रशासन कार्यालय कैलाली र प्रदेश र संघीय सरकारलाई आग्रह गरेका थिए । जिल्ला प्रशासन कार्यालय कैलालीले सीमा नाकामा आएका नेपालीहरुलाई नागरिकता प्रमाणित गरेर स्वस्थ्य परीक्षण गरी नेपाल प्रवेश गराउन लागिएको हो ।
सरकारको यो निर्णयसँगै कैलालीको गौरीफन्टा नाकामा अलपत्र नेपालीहरु सरकारको निर्णयसँगै खुसी भएका छन् । नेपाल प्रवेशसँगै उनीहरूले स्वास्थ्यसम्बन्धी नियम पालना गर्न गर्ने बताएका छन् । सोमबार साँझ नाकामा आएपुगे पनि उनीहरूले प्रवेश पाएका थिएनन् । हिजो बेलुकादेखि जंगलकोबीचमा करिब ६ सय जना अलपत्र परेका थिए ।
प्रतिक्रिया दिनुहोस