
भारत । मंगलबार राती १२ बजे देखि लागु हुने गरी भारतमा तीन साताको लागी लकडाउन गरिएको छ । भारत कोरोनाको उच्च जोखिममा रहेको भन्दै आज राती १२ बजेदेखि लागु हुनेगरी तीन साताका लागि भारतमा पूर्ण लकडाउन हुने घोषणा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् ।
मोदीले कोरोनाबाट बच्न घरबाट बाहिर ननिस्कन र सामाजिक दुरी कायम गर्न आह्वान गरे। घोषित ३ हप्ता भारतका लागि विशेष समय भएको बताउँदै मोदीले यस बेला संयमित नभए देश २१ वर्ष पछाडि धकेलिने चेतावनी समेत दिए।
भारतमा भाइरस रोक्ने भन्दै लगाइएको लकडाउन प्रभावकारी नभएपछि केही राज्यहरुमा त कर्फ्यू नै लगाएको थियो। यद्यपि, भारतीय नागरिकभने सडकमा ओर्लिएका थिए। राज्य सरकारको प्रयत्न सफल नभएपछि केन्द्रले नै देशभर लकडाउन गर्ने निर्णय गरेको हो।
भारतमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएसँगै मोदीले गत आइतबार ‘जनता कर्फ्यू’ घोषणा गरेका थिए। सो दिनदेखि विभिन्न राज्यहरुमा लकडाउन घोषणा भएको थियो। तर, मानिसहरुले घरबाट बाहिर निस्कन छोडेनन्।
देशबासीको नाममा सम्बोधन गर्दै उनले ‘जनता कर्फ्यू’ को समयमा भारतीयहरुले भाइरसविरुद्ध लड्ने हौसला देखाएको भन्दै ‘लकडाउन’ को समयमा पनि त्यसैगरी घरभित्र बस्न आग्रह गरे। ‘शारीरिक दुरी कायम गर्नाले मात्रै हामी कोरोना भाइरसबाट सुरक्षित हुनसक्छौं' उनले भने ।
सम्बोधनका क्रममा मोदीले सबैजना आआफ्नो घरभित्रै बस्नुस्, बाहिर नआउनुस भनेर आब्हान गरेका थिए । भारतमा भाइरसको संक्रमणबाट ५ सयभन्दा धेरै संक्रमित हुँदा १० जनाको मृत्यु भइसकेको छ।
प्रतिक्रिया दिनुहोस