
दैलेख । ‘तपाईहरु कोही विरामी हुनुहुन्छ भने हामीलाई एककल फोन गर्नुहोस, हामी तपाईहरुको उपचारका लागि घरमै आउँछौं ।’ यो व्यहोराको सुचना दैलेख जिल्ला स्वास्थ्य कार्यालयले छ । विश्वव्यापी रुपमा फैलिएको (कोभिड –१९) कोरोना भाइरस फैलिन नदिन सम्बन्धित गाउँपालिका र नगरपालिकाको एम्बुलेन्सको नम्बर सार्वजनिक गर्दै यस्तो सूचना जारी गरेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय दैलेखले स्वास्थ्यकर्मीको टोलीसहित घरमै गएर उपचार गर्ने रणनीति बनाएर यस्तो सेवा प्रवाह गर्ने निर्णय गरेको हो । जिल्लाका सबै वडा सम्म पुग्ने सडक संजाल रहेकोले सेवा प्रवाहमा समस्या नहुने निष्कर्ष सहित यस्तो निर्णय गरेको बुझिएको छ ।
‘कोही विरामी भए । एक कल फोन गर्नुहोस् । उपचार लागि तपाईको घरमै आउँछौं’, जिल्ला स्वास्थ्य कार्यालय दैलेख प्रमुख थिर प्रसाद रेग्मीले भने, ‘कोराना फैलिन नदिनका लागि विरामीको घरदैलोमा उपचार गर्न थालेका छौं ।’ कोही विरामी हुँदा घरबाट बाहिर नआउन स्वास्थ्य कार्यालयले जिल्लाबासीलाई आग्रह समेत गरेको छ ।
स्वास्थ्य कार्यालयले सूचनासँगै ९ स्थानीय तहका एम्बुलेन्स र त्यसको चालकको मोवाइल नम्बर सहितको सूचना जारी गरेको छ । यी नम्बरहरुमा फोन आउनासाथ तुरुन्त त्यही पुगेर विरामीलाई जिल्ला अस्पतालमा ल्याइने रेग्मीले जानकारी दिए ।
सबैले यो अनुरोधलाई आत्मसाथ गरे कोही कसैले उपचार नपाएर यो लक डाउनमा ज्यान गुमाउन नपर्ने उहाँको भनाइ छ । लकडाउन भएको बेला उद्दारका लागि १० एम्बुलेन्स तयारी अवस्थामा राखेको उनले बताए ।
कोरोना सङ्क्रमितका लागि दैलेख अस्पतालमा १५, महावुमा ५, दुल्लू नगरपालिका ५, भगवतीमाई गाउँपालिकामा ५ वटा आइसोलेशन शैय्या र नारायण क्याम्पसमा १०० शैय्याकोे क्वारेन्टाइन तयार पारिएको जिल्ला स्वास्थ्य कार्यालय दैलेख प्रमुख थिर प्रसाद रेग्मीले आर्थिक न्युजलाई जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस