aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

संक्रमित युवतीसँगै फर्किएका १ सय २५ को स्वास्थ्य जाँच गरिँदै,  इटालीमा मृत्यु हुनेकाे संख्या ६ हजार ८ सय २० पुग्याे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ चैत्र २०७६
संक्रमित युवतीसँगै फर्किएका १ सय २५ को स्वास्थ्य जाँच गरिँदै,  इटालीमा मृत्यु हुनेकाे संख्या ६ हजार ८ सय २० पुग्याे

काठमाडौं । कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १ सय २५ जना नेपालीको ठेगाना पत्ता लागेको नेपाल प्रहरीले जनाएको छ ।

चैत ४ गतेको कतार एअरवेजको विमानमार्फत् उनी नेपाल आएको अध्यागमन कर्मचारीहरुले पनि पुष्टि गरेका छन् ।

त्यो दिन कतार एअरवेजका तीनवटा उडानमार्फत् ४६९ जना नेपाल आएका थिए ।

प्रहरीले देशका विभिन्न भागमा रहेका उनीहरूलाई स्वास्थ्य जाँच र क्वारन्टीनजस्ता थप सतर्कता अपनाउन आफूले मतहतका निकायलाई पत्राचार गरेको जनाएको छ ।

फ्रान्सबाट कतार हुँदै फर्किएकी ती १९ वर्षीया विद्यार्थी १५८ जना यात्रु बोकेको क्युआर ६५२ उडानमार्फत् आएको बुझिएको छ ।

ती किशोरी नेपाल आएको दिन क्युआर ६५०, क्युआर ६५२ र क्युआर ६५३ गरी कतार एअरवेजले तीनवटा उडान गरेको र तीनवटै उडानका सबै यात्रुको विवरण प्रहरीलाई उपलब्ध गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यलयका प्रमुख सागर आचार्यले बताए ।

उनले ती यात्रुको नाम आफूहरूलाई पनि नखुलाइएको भन्दै सबै यात्रुको पासपोर्टको प्रतिलिपिसहितका विवरण प्रहरीलाई बुझाइएको जानकारी दिए ।

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले एअरलाइन्सबाट यात्रुहरूको विवरण प्राप्त भएसँगै यात्रुहरू पहिचान गर्ने प्रयास अघि बढाइएको जनाए ।

उनले भने, 'कतार एअरवेजको उक्त जहाजबाट आएका १५८ यात्रुमध्ये १२५ जना नेपालीको घरको ठेगाना हामीले पत्ता लगाइसकेका छौँ। बाकी नेपाली यात्रुको ठेगाना पत्ता लगाउने काम भइरहेको छ।'

उनी थप्छन्, 'घरको ठेगानामा स्थानीय प्रहरी पठाएर उनीहरूको अवस्था के छ त्यो हेर्छौँ र क्वारन्टीनमा बस्ने अनि थप सतर्कता अपनाउन भनिरहेका छौँ।'

उनका अनुसार स्वास्थ्य मन्त्रायसँग समन्वय गरी सबै यात्रुको यथाशीघ्र स्वास्थ्य परीक्षण गरिनेछ ।

उनी भन्छन्, 'उक्त जहाजमा यात्रा गरेका झापाका एक व्यक्तिले आफू सोही जहाजमा आएको र स्वास्थ्य परीक्षण गर्न तयार भएको भनी हामीसँग सम्पर्कमा आएका छन्। यसले मानिसहरु कोरोनाभाइरस सङ्क्रमणसँग जुझ्न तयार भएको देखाउँछ।'

फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी १९ वर्षीया विद्यार्थीमा कोरोनाभाइरस सङ्क्रमण भएको मङ्गलवार पुष्टि भएपछि प्रहरीले उक्त जहाजमा यात्रा गरेका अन्य नेपालीको खोजी शुरू गरेको हो ।

नाम र ठेगाना गोप्य राखिएकी ती नेपाली विद्यार्थीको शुक्रराज सरुवा रोग नियन्त्रण अस्पताल टेकु, काठमाण्डूमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कतार एयरवेजको उक्त जहाजमा नेपाल फर्किएका सबै नेपालीलाई सम्पर्क गर्न प्रयास भइरहेको बताए ।

'कोही व्यक्ति स्वेच्छिक रूपमा सम्पर्कमा आएका छन् । उनीहरूलाको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले पूर्वाधार तयार गरेको छ,' देवकोटाले भने ।

नेपाल दोस्रो कोरोनाभाइरसको सङ्क्रमणको घटना पुष्टि भएपछि सोमवार सरकारले अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्किन नपाउने गरी आवतजावत र हिँडडुलमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

मङ्गलवार बिहानबाट लागु भएको उक्त आदेश चैत १८ गते बिहान ६ बजेसम्म कायम रहनेछ ।

केही साताअघि चीनको वुहानबाट फर्किएका एक नेपाली युवकलाई कोभिड–१९ भएको पुष्टि भएको थियो । अहिले उनी पूर्ण स्वस्थ भइसकेको बताएको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म झन्डै ६०० वटा नमुनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताए । मंगलबार ५० जनाको नमुन संकलन भएकोमा बुधबार (आज) नतिजा निस्कने अस्पताल स्रोतले बताएको छ । 

विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको कोभिड–१९ अहिले १८७ वटा देश र क्षेत्रमा फैलिसकेको छ ।

चीनको वुहानबाट फैलिन थालेको कोरोनाभाइरस सङ्क्रमणबाट सर्वाधिक मृत्यु इटली र चीनमा भएको छ । त्यसपछि स्पेन, इरान र अमेरिकामा धेरै मानिसको ज्यान गएको छ ।

ताजा अपडेट

अहिले भर्खरैको ताजा जानकारी अनुसार कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमितको संख्या ४ लाख २२ हजार ६ सय १४ पुगेको छ ।

हालसम्म १८ हजार ८ सय ९२ जनाको मृत्यु भैसकेको छ भने १ लाख ८ हजार ८ सय ७९ जना उपचार पछि सामान्य जिवन विताइरहेका छन् । 

अझै २ लाख ९४ हजार ८ सय ४३ जनामा अझै भाइरस संक्रमित छन् । जसमध्ये १३ हजार ९५ जनाको स्थिती नाजुक रहेको छ । भने, २ लाख ८१ जहार ७ सय ४८ जनामा सामान्य देखिएको छ । 

यसैगरि पछिल्लो अपडेट अनुसार इटालिमा एकै दिन ७ सय ४३ जनाको मृत्यु भएको छ । अमेरिकामा २ सय २२ स्पेनमा ६ सय ८०, इरानमा १ सय २२, फ्रान्समा २ सय ४० चीनमा ४ जनाको मृत्यु भएको छ ।

सबै भन्दा धेरै मृत्यु हुनेमा इटाली अघि देखिएको छ । इटालीमा जम्मा ६ हजार ८ सय २० जनाले कोरोना भाइरसकै कारण ज्यान गुमाइसेका छन् । 

प्रतिक्रिया दिनुहोस