
सिन्धुली । सरकारले खडा गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा नगद जम्मा गर्ने बाहेक व्यक्तिगत रुपमा सिधै जिन्सि नै सहयोग गर्ने क्रम पनि शुरु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका –४ ढुग्रेवास मल्लगाउँका सञ्जय भुजेलले सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई सहयोग गरेका छन् ।
सरकारले लागु गरेको ‘लकडाउन’ कार्यान्वयन गर्न सिन्धुलीमाढी सदरमुकाममा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरुलाई उनले पानी र विस्कुट सहयोग गरेका हुन् ।
उनले माहामारीले देश नै संकटमा परेको बेलामा अहोरात्र जनताको सुरक्षामा खटिएका ढुग्रेवास, शान्तिनगरचोक, लोकतान्त्रिक चोक, मधुटार लगाएतका ठाउँमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई बिहिवार दिउँसोको खाजा स्वरुप पानी र बिस्कुट वितरण गरेको बताए ।
भुजेलले भने, ‘लकडाउनको बेलामा नागरिक घरमै छन् । केही किनेर खानलाई पनि पसलहरु सबै बन्द रहेको बेला एक नागरिकको हैसियतले सहयोग गरेर सामाजिक उत्तरदायित्व पुरा गरेको हो ।’
यता, शसस्त्र प्रहरी बल सिन्धुलीका सशस्त्र प्रहरी नायवउपरिक्षक बुद्धि कृष्ण भट्टराईले यस्तै सहयोगले गर्दा जनताको सेवा गर्न उत्प्रेरण मिल्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस