
विश्वका अन्य धेरै मुलुक झैँ नेपाल पनि कोरोना भाइरसको सङ्क्रमण रोक्न लकडाउनको अवस्थामा छ । तर एकपछि अर्को गर्दै भाइरस सङ्क्रमित पुष्टि हुँदै जाँदा अहिले आम नेपाली चिन्तित छन् । अलग अलग विमानमार्फत विदेशबाट आएका दुई नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण नियन्त्रणमा सरकार कहाँ चिप्लियो भन्ने स्पष्ट भइसकेको छ ।
चैत ४ गते कतार एयरवेजको कल सान नम्बर क्यूआर ६५२ भएको विमान मार्फत स्वदेश फर्किएका नेपालीहरूको सूचि हेर्दा अत्यासलाग्दो अवस्था देखिन्छ । लगभग देशको सबै भागमा पुगेका उनीहरू यदि ती १९ वर्षीय युवती झैँ सङ्क्रमित रहेछन् भने अबको साता भित्रै कति कोरोना सङ्क्रमित फेला पर्लान् भन्ने अनुमानले मात्र पनि जिउ सिरिगं हुने अवस्था छ ।
तथापि अहिलेलाई के आशा र विश्वास गरौँ भने फ्रान्सबाट फर्किएकी ती युवतीबाहेक अरू सबै सङ्क्रमणमा नपरी आ-आफ्नो घरमा पुगे होलान् । उनीहरूले सरकारले निर्देश गरे अनुरूप ‘सेल्फ क्वारेन्टाइन’को मापदण्ड पुरा गरे होलान् । यो विश्वास गर्नु बाहेक अरू विकल्प नै अब हामीसँग छैन ।
तर, चैत ६ गते कतारबाट फर्किएका धादिङका कोरोना सङ्क्रमित युवा केही दिन काठमाडौँको होटेलमा बसे र त्यसपछि मात्र घर गएको भन्ने स्वयम् स्वास्थ्यमन्त्रीबाट प्राप्त जानकारी चाहिँ वास्तवमै डरलाग्दा खबर हो । ती युवामा बुधवार सङ्क्रमण पुष्टि हुनु अघि उनले केके गरे होलान् ? क-कसलाई, कहाँ, कुन अवस्थामा सङ्क्रमित पारे होलान् ? त्यसको कल्पनाले नै मन अमिलो हुने स्थिति बनेको छ।
उनी मङ्गलवार टेकु अस्पतालसम्म पुगिन्जेल ६ गते यताका ६ दिन कति मानिस भेटे र कोसँग कस्तो दुरीमा बसे ? त्यो कुराको ट्रयाकिङ हाम्रोमा असम्भव छ। जबकि कोरोनामाथि विजय प्राप्त गरेको चीन र त्यो क्रममा रहेको दक्षिण कोरिया, जापान लगायतका मुलुकले अवलम्बन गरेको विधि त्यही हो।
यतिले मात्र पनि बुझे हुन्छ की नेपाल कोरोनाको सङ्क्रमणमा नराम्ररी फसिसक्यो र यो दलदलबाट निस्किन आवश्यक तयारी राज्यले गरेको छैन । नागरिक समाज र सञ्चार माध्यमहरूले पटक पटक हवाई तथा स्थल मार्गबाट नेपाल भित्रने मानिसहरूलाई निश्चित समयसम्म क्वारेन्टाइनमा राख्नै पर्ने वा अन्य मुलुकहरू झैँ कठोर बनेर आउन नै रोक्नुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका नै हुन् । तर, सरकारमा त्यो गम्भिरता देखिएन । त्यसैले सङ्क्रमणको सम्भावना भएका १० हजार भन्दा बढी मानिसहरू नेपालका गाउँ गाउँमा पुगे र अहिले सङ्क्रमित व्यक्तिका रूपमा पहिचान हुन थालेका छन् ।
अन्य मुलुकमा कोरोनाको सङ्क्रमणको रफ्तार हेर्दा के देखिन्छ भने दुई जनामा सङ्क्रमण देखिनुको अर्थ कम्तीमा सय जना सङ्क्रमित भइसकेका छन् । अबको केही दिनमा उनीहरूको पहिचान हुन्छ नै तर त्यो बेलासम्ममा उनीहरूबाट सङ्क्रमित हुनेको सङ्ख्या निकै माथि पुगिसकेको हुनेछ ।
नेपाल सरकारले सम्भावित सङ्क्रमणको नियन्त्रणका लागि पर्याप्त समय पाएको हो । इटाली जस्तो मुलुकको स्वास्थ्य सेवा प्रणाली कोरोना भाइरसका अगाडि बेकम्मा साबित भएको सरकारले देखिसकेको थियो । आवश्यक सामाग्रीको जोहो, चाँडो कडा निर्णय गर्नु मात्र कोरोना नियन्त्रणको सर्वाधिक प्रभावकारी विधि हो भन्ने कुरा चीनको अनुभवले सिद्ध गरेको नेपाल सरकारलाई राम्ररी थाहा थियो । तर, हाम्रा सर्वज्ञ मन्त्री र प्रधानमन्त्रीले अरूका अनुभवबाट सिक्नु उपयुक्त ठानेनन् । आखिर मुलुकलाई जोखिममा पारि छाडे ।
देशको एक मात्र सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मीलाई समेत सुरक्षा सामाग्री उपलब्ध गराउन नसकेको सरकारले मुलुकका थप सङ्क्रमित व्यक्तिहरूको परीक्षण गर्ला र उपचार गर्ला भनेर भर पर्नु अब नेपालीको दुखत नियतिबाहेक केही हुँदैन । फेरि पनि त्यही सरकारको आशा गर्नु बाहेक अर्को विकल्प छैन ।
नागरिकले यो बेला आफ्नो कर्तव्य पुरा गर्ने हो । सरकारले भने झैँ सबै प्रकारका सामाजिक सम्बन्ध र सम्पर्कबाट अलग रहेर घरभित्रै बस्ने हो । सरकारलाई आम नागरिकले गर्ने सहयोग यही हो । त्यसमा कसैले कन्जुस्याइँ गर्नु हुँदैन । इमानदार भएर आफ्नो कर्तव्य पुरा गर्नु पर्छ। यो धिक्कार कुरा गर्ने बेला होइन । लकडाउनका बेला घरमा बस्ने र स्च्छतापुर्ण व्यवहार अवलम्बन गर्ने, कर्तव्यबाट च्यूत नबनीकन आम नेपाली आवश्यक परे कम्तीमा अरू दुई हप्तासम्म पनि लकडाउनलाई स्वीकार गर्न मानसिकरुपमा तयार रहनु पर्छ ।
हो, बन्दी झैँ भएर घरमा बस्दा विभिन्न प्रकारका अत्यासलाग्दा सोच, विचार र समाचारहरु हाम्रो सामुन्ने आउँछन् । सामान्यतया त्यस्तो बेला कुनै भरोसायुक्त आधार सम्झन पाए अत्यास घट्छ । हाम्रै उत्तरी छिमेकी देशका नागरिकहरू पुरै मुलुक कोरोनासँग संर्घष गरिरहँदा सरकारले हेर्छ, गर्छ र महामारीको चपेटाबाट बाहिर निकाल्छ भन्ने विश्वास र भरोसामा थिए । त्यहाँको सरकारले त्यो पुरा गरेर देखायो पनि । तर हामी न सरकारमा भर पर्न सक्छौँ । न अन्य विकल्प नै छ । मुलुकमा राजतन्त्र रहेको बेला आफू जनताको पक्षमा केही नगर्ने राजाहरू सम्बोधनको अन्त्यमा भन्ने गर्ने ‘श्री पशुपतिनाथ नै हामी सबैको कल्याण गरुन् ।’
अहिले सरकारले सही समयमा सही निर्णय नगरेका कारण मुलुक डरलाग्दो गरी कोरोनाको सङ्क्रमणमा पर्दैछ । देशमा परम्परागत राजा छैनन् । नयाँ राजाहरूले अरू त गरेनन् नै पशुपतिनाथ समेतलाई पुकार्ने लक्षण देखाएका छैनन् । जे गर्नु छ, हामी जनता स्वयम् आफैँ गरौँ । आपसी दुरी कायम गरौँ, आफ्नै लागि हो ‘लक डाउन’लाई जति लम्बिएपनी स्वीकार गरौँ । आइपर्ने कष्ट व्यहोर्न मानसिक रूपमा तयार बनौँ । अनि सबैले कामना गरौँ – श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन् !
प्रतिक्रिया दिनुहोस