
कोरोना भाइरसको सङ्क्रमण शरु भएपछि विश्वका कतिपय देशमा जो कोहीले घर बाहिर निस्किदा मास्क लगाएको देखियो । तर धेरै मुलुकका मानिसहरूले अहिले पनि मास्क लगाएर हिँड्ने गरेका छैनन् । किन त्यस्तो गरिएको होला ?
बेलायत, अमेरिका, अष्ट्रेलियादेखि सिगांपुरसम्मका सडकमा अहिले पनि मानिसहरू बिना मास्क सडकमा देखिन्छन् । उता कोरोनाको फैलावटलाई लगभग नियन्त्रण गरिसकेका चीन, दक्षिण कोरिया, जापान र हङकङमा भने मास्क नलगाएका मानिसहरू अहिले पनि सडकमा देखिँदैनन् ।
किन त्यस्तो होला ? जवाफ खोज्दा के देखियो भने त्यहाँका सरकारहरूले गरेका स्वास्थ्य सम्बन्धी निर्देशन र जारी गरिएका सुझावहरूमा मास्क लगाउनु अनिवार्य नभनिएको कारण मात्र यस्तो व्यवहारका लागि जिम्मेवार रहेनछ । खास कुरो त ती मूलकहरूमा कुन खालको संस्कृति छ र उनीहरूको इतिहास कस्तो छ भन्ने कुरा महत्त्वपूर्ण रहेछ ।
अहिलेको प्रश्न यो हो की के यो महामारीले मानिसहरूका ती आदत र व्यवहारलाई परिवर्तन ल्याउला ? यो चाहिँ भविष्यले नै बताउनेछ ।
गर्नु पर्ने के हो ?
कोरोनाको महामारी फैलिने बित्तिकै विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको आधिकारिक सुझावमा यसबारे स्पष्ट रूपमा उल्लेख गरिएको छ । त्यसमा मात्र दुई प्रकारका मानिसहरूले अनिवार्य मास्कको प्रयोग गर्न भनिएको छ । एक, बिरामी र सङ्क्रमणका लक्षण देखिएका र अर्को, ती मानिसहरू जसले कोरोना सङ्क्रमणको आशङ्कामा रहेकालाई हेरचाह र उपचार गरिरहेका छन् । त्यस बाहेक अरूले मास्क लगाउनु पर्ने कुरा डब्लूएचओले अनिवार्य भनेको छैन ।
यसका केही कारणहरू छन् । पहिलो त सामान्य मास्क यसको सङ्क्रमण रोक्ने भरपर्दो सुरक्षा कवच होइन । पछिल्लो अनुसन्धानले के देखाएको छ भने खोक्दा वा हाच्छ्युँ गर्दा मुखबाट निस्किने स-नसा पानीका कणहरू मार्फत मात्र यो भाइरस बाहिर निस्किने हो । र, ती छिटा परेका ठाउँहरूमा लामो समयसम्म भाइरस जीवित रहने पनि देखिएको छ ।
त्यसबाट के स्पष्ट हुन्छ भने मास्क प्रयोगले त्यो बेला मात्र सङ्क्रमणबाट रोक्न सक्छ जब तपाईँको नजिक आएर कुनै सङ्क्रमित व्यक्तिले खोक्छ वा हाच्छ्युँ गर्छ । सङ्क्रमण रोक्ने सर्वाधिक भरपर्दो उपाय भनेको नै बारम्बार साबुन पानीले हात धुनु नै हो । तथापि जसरी अहिले एसियाका प्राय सबै देशहरूमा अनिवार्य मास्कको प्रयोग भइरहेको छ त्यो सुरक्षित र कदरयोग्य छ ।
किन लगाइन्छ एसियामा मास्क ?
चीन, हङकङ, जापान, थाइल्यान्ड र ताइवानलगायतका एसियाका मुलुकका मानिसहरू के विश्वास गर्छन् भने यदि सामुन्नेको मानिस सङ्क्रमित नभए पनि आफू स्वयम सङ्क्रमणमा परिएको हुन सक्छ । आफू बचौँ, अरूलाई पनि बचाऊँ भन्ने सामाजिक भाव एसियाको सांस्कृतिक पहिचान पनि हो । त्यसैले उनीहरू आफ्नो स्वास्थ्य जतिकै अरूको स्वास्थ्यबारे पनि चिन्तित रहेका देखिन्छ ।
त्यसो त कतिपय देशहरूका सरकारले नै मास्कको प्रयोग अनिवार्य गर्न अपिल गरेका छन् । चीन कै कतिपय भागहरूमा अहिले पनि मास्क नलगाई हिड्नेहरुलाई पक्राउ गर्ने गरिएको छ । उता इण्डोनेसिया, फिलिपिन्सलगायतका देशहरूमा सङ्क्रमणको सङ्ख्या निकै भएको तर पहिचान हुन नसकेको भन्ने सोचेर मानिसहरू आफूलाई सुरक्षित गर्न मास्क लगाई रहेका छन् ।
धेरै वटा मुलुकहरूमा चाहिँ बिना मास्क ननिस्किने संस्कृति नै भइसकेको छ । त्यसैले ती देशहरूमा कोरोना सङ्क्रमण देखिनु अगाडि नै बजारमा मास्क लगाएका मानिसहरू पर्याप्त मात्रामा देखिन्थे । यसको उदाहरणकारुपमा हङकङलाई लिन सकिन्छ ।
पूर्वीय देशहरूमा मानिसहरू रुघा लाग्दा अनिवार्यरुपमा मास्क लगाउनु पर्छ भन्ने कुरामा पहिले देखि नै सचेत थिए । त्यसैले मास्क नलगाई खोक्नु वा हाच्र्यू गर्नु त्यहाँ सामाजिकरुपमा नै एक प्रकारले असभ्य नै ठानिन थालिएको थियो । जुन अहिले आम भयो र सबैले लगाउँछन् ।
सन् २००३ मा फैलिएको सार्स भाइरसको प्रकोप पछि एसियाका धेरै देशहरूमा मास्क लगाउने कुरा संस्कृति नै बनेको देखिन्छ । कतिपय देशहरूमा त मास्कलाई पहिरनको एक अङ्गका रूपमा नै समेत स्वीकार गरिएको छ । जस्तो की मानिसहरू आफ्ना अन्य पहिरनसँग मास्कको समेत रङ्ग र गुणस्तर मिलाएर लगाउने गर्न थालेका छन् ।
पश्चिमाले किन लगाएनन् मास्क ?
एसियामा सार् लगायत भाइरसका सङ्क्रमणहरू केही दशक अघि मात्र निकै डरलाग्दो गरी फैलिएको थियो । त्यो बेलाको सङ्कट र त्रास अहिलेसम्म जुन रूपमा एसियाले सम्झिरहेको छ त्यो पश्चिमले नभोगेकाले पनि उतातिर मास्कको प्रयोगको आदत नबनेको बताइन्छ ।
त्यसबाहेक पश्चिमाहरूको व्यक्तिवादी सोच, चिन्तन र व्यवहार समेत मास्क प्रयोग कम हुनुको कारकको रूपमा लिने गरिन्छ । उनीहरू नितान्तरुपमा आफूमा केन्द्रित हुन्छन् । आफ्ना कारणले अरूलाई के कस्तो असर पर्न सक्छ भन्नेबारे त्यति धेरै वास्ता र चिन्ता गर्दैनन् ।
पुँजीवादी सस्कृतीले विकास गरेको यस प्रकारको सोच र व्यवहार यति जब्बररुपमा उनीहरूको मानसिकता बसेको छ की कोरोनाको सङ्क्रमण विश्वव्यापी हुँदा समेत उनीहरू मस्क लगाएर आफू सुरक्षित हुने र अरूलाई पनि सुरक्षित पार्नेबारे गम्भीर बनेका छैनन् । त्यसैले इटाली, स्पेन, बेलायत, अमेरिका जस्ता सम्पन्न मुलुकहरूलाई अहिले कोरोनाको सङ्क्रमणले हायलकायल बनाएको छ ।
मानिसहरूमा सामान्य स्वास्थ्य सुरक्षाबारे गम्भीरता नदेखिँदा त्यहाँको निकै सम्पन्न र व्यवस्थित भनिएको स्वास्थ्य सेवा प्रणाली लगभग बेकम्मा बनिसकेको छ । मास्क लगाउनाले मात्रै कोरोनाको सङ्क्रमण र तीव्र गतिको फैलावट रोकिने होइन तर यो सहायक चाहिँ पक्कै हो ।
त्यसैले मास्कको प्रयोगलाई आदत बनाऊँ । मास्कलाई पहिरनको एक अङ्ग बनाऊँ । कोरोनाले सिकाएको मास्क लगाउने कुरालाई संस्कृतिका रूपमा विकास गरौँ । (एजेन्सीको सहयोगमा)
प्रतिक्रिया दिनुहोस