aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

महावीर पुनले निःशुल्क पीपीई दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ चैत्र २०७६
महावीर पुनले निःशुल्क पीपीई दिने

काठमाडौँ । महावीर पुनले कोरोना भाइरसको उपचार गर्न चिकित्सकले लगाउने पोशाक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पीपीई) निःशुल्क उपलब्ध गराउने भएका छन् । बिहीबारदेखि पिपिई बनाउन थालेका पुनले सरकार र अस्पताललाई आफूले निःशुल्क रुपमा उक्त सामग्री वितरण गर्ने बताए । 

बिहीबार नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालालाई नमूना देखाएपछि साँझैबाट उत्पादन शुरु गरिएको उनले बताए । “एउटा पिपिई बनाउनका लागि एक हजार पर्छ”, उनले भने, “एक हजार उठाउँदै जान सम्भव हुँदैन । त्यसैले उक्त सामग्री निःशुल्क दिनेछु ।”

चप्पल कारखाना र पेप्सीकोला दुई ठाउँमा छजना मजदुरले अहिले पिपिई उत्पादन गरिरहेका छन् । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहनुभएका पुनका अनुसार एकजना मजदुरले दिनमा आठवटा पिपिई बनाउने छन् ।

त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, बिपी कोइराला विज्ञान प्रतिष्ठान अस्पताल धरानका चिकित्सकले पिपिई बनाउन भनेपछि उनले बनाउन थालेका हुन् । “शिक्षण अस्पतालका चिकित्सकले एउटा नमूना दिए” उनले भने, “अनि त्यही नमूनाअनुसार मैले पिपिई बनाउन थालेको हुँ ।” उनले पिपिई बनाउन थालेपछि जिल्लाका अस्पतालबाट चाहियो भनेर फोन आउने गरेका छन् ।

मजदुर र कच्चा पदार्थको अभाव

पुनले कोरोना भाइरस रोकथाम गर्न प्रयोग गरिने पिपिई आफूले उत्पादन गरे पनि अहिले लकडाउनका कारण मजदुर र कच्चा पदार्थको अभाव भएको बताए । 

‘‘मैले चाहिनेजति नै पिपिई बनाउने थिएँ’’ उनले भने, ‘‘तर अहिलेको अवस्थाले गर्दा मजदुर र कच्चा पदार्थ पर्याप्त नपाइएकाले धेरै बनाउन समस्या भइरहेको छ ।’’ उनले पिपिई बनाउन चाहिने कच्चा पदार्थ र मजदुर अहिले खोजिरहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस