काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चैत महिनाको विद्युत महसुलमा २० प्रतिशत छुट दिने भएको छ । सरकारले नेपाल विद्युत प्राधिकरणका ३८ लाख घरायसी ग्राहकलाई महसुल छुट दिने निर्णय गरेको हो ।
प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहेका ऊर्जामन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको बैठकले चैत महिनाका लागि कुल १५० युनिटसम्म विद्युत प्रयोगकर्ताले २० प्रतिशत महसुल छुट दिने निर्णय गरेको हो ।
विपदको यो समयमा आम नागरिकलाई राहत दिने लक्ष्यका साथ यो निर्णय गरिएको हो । सरकारले यो छुट दिएपछि अब मासिक एक हजार रुपैयाँ तिर्दै आएका आम उपभोक्ताले चैत महिनाको महसुल ८ सय रुपैयाँमात्र तिरे पुग्नै भएको छ ।
लक डाउनको समयमा धेरैको रोजगारी गुमेको तथा आर्थिक गतिविधि ठप्प भएकोले उक्त निर्णय भएको गरिएको ऊर्जा मन्त्रालयले बताएको छ । गत बुधबार बसेको कोरोना रोकथाम उच्चस्तरीय समितिले विद्युत् महसुल छुट दिने र इन्डक्शन चुल्हो प्रयोगका लागि नागरिकलाई प्रोत्साहित गर्ने निर्णय गरेको थियो । सरकारले इन्डक्शन चुल्हो प्रयोगमा प्रोत्साहन गर्न यस्तो निर्णय गरेको हो । विद्युतीय उपकरणको प्रयोग तथा एलपी ग्यासको विस्थापनका लागि यो निर्णयले विशेष सहयोग पुग्नेछ ।
विद्युत नेपालकै उत्पादन हो भने ग्यास बाहिरी मुलुकबाट आयात गर्नुपर्छ । सो कारण सरकारले इन्डक्शन चुल्होको प्रवद्र्धन गर्दा अर्थतन्त्र मै सकारात्मक असर पर्ने मन्त्री पुनले बताएका छन् । सरकारले व्यापार घाटा घटाउने तथा आत्मनिर्भरता बढाउने उदेश्यका साथ इन्डक्शन चुल्हो प्रयोगलाई रणनीतिक रुपमा नै अगाडि बढाउने लक्ष्य बनाएको छ । प्राधिकरणका कूल ३८ लाख ग्राहकलाई १५० युनिटसम्मको खपतमा २० प्रतिशत छुट दिँदा एक महिनामा सरकारी राजश्वमा ५० करोड नोक्सान पर्छ । गत आर्थिक वर्षमा प्राधिकरणको महसुलबाट ३० अर्ब रुपैयाँ उठेको थियो ।
हाल प्राधिकरणले उपलब्ध गराएको विद्युत घरायसी खपतमा मात्रै प्रयोग भइरहेको छ । सामान्य अवस्थामा करिब एक हजार ३०० मेगावाट बराबरको विद्युत खपत हुने गरेको थियो । अहिले उद्योग कलकारखाना तथा होटल बन्द भएपछि माग घटेर ९४५ मेगावाटमा सीमित भएको छ ।
प्रतिक्रिया दिनुहोस