aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
वल्ड वार सी

स्वास्थ्यमन्त्री ज्यू, कमिसनको चक्करमा लागेर कसरी जितिएला “वर्ल्ड वार सी” ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ चैत्र २०७६
स्वास्थ्यमन्त्री ज्यू, कमिसनको चक्करमा लागेर कसरी जितिएला “वर्ल्ड वार सी” ?

अहिले विश्वका सर्वाधिक धनी र प्राविधिकरुपले उत्कृष्ट भनिएका मुलुकहरू कोरोना भाइरसका सामु घुँडा टेक्न बाध्य भएका छन् । “वर्ल्ड वार सी” को रूपमा हाम्रो ग्रह नै समावेश भएको  यो युद्ध लड्न हामी कुन रूपमा तयार छौँ ? के त्यसका लागि आवश्यक साङ्गठनिक शक्ति र उपयुक्त रणनीति हामीले निर्माण गयौँ ? यी सवालको जवाफले नै हामी कोरोना विरुद्धको विश्वव्यापी युद्ध अर्थात् “वर्ल्ड वार सी” जित्छौँ या हार्छौँ भन्ने निर्धारण गर्छ ।

यो युद्ध आफ्नो पक्षमा पार्न तीव्र गतिको र प्रभावकारी एक्सनको जरुरी हुन्छ । जसले यो महामारीलाई रोक्न सकोस् । सबै मुलुकहरूले अहिले गरिरहेका त्यँहि हो । जसले उपयुक्त विधि अपनाए उनीहरू सफल बन्दै गएका छन् । जुन देशहरूले यसलाई ख्याल ख्याल ठाने तिनीहरू नराम्ररी दलदलमा फसिसकेका छन् ।

हाम्रो उत्तरी छिमेकी चीन सामान्य दैनिकीमा लगभग फर्किसकेको छ । उसले “वर्ल्ड वार सी”मा आफू विजय भएको घोषणा मात्र गर्न बाँकी छ । लगभग २ महिना भन्दा बढी चलेको सो भीषण युद्धका क्षतिहरू आँकलन गर्न र अर्थतन्त्रमा पारेका घाउहरू निको पार्ने उपायको खोजीमा चीन लागिसकेको छ ।  

यदि हामीले पनि सहि रणनीति अवलम्बन गर्ने र त्यसलाई पुर्णरुपमा कार्यान्वयन गर्ने हो भने अझै सम्म समय घट्की सकेको छैन । यसका लागि धेरै ठुलो काम गर्नु पर्दैन तर जे गरिन्छ त्यो गम्भीरताका साथ गरियो भने परिणाम निस्किन्छ भन्ने कुराको उदाहरण हाम्रा सामु छन् ।

सर्वप्रथम त अहिले सरकारले जसरी बिरालो बाँध्ने विधि अवलम्बन गरिरहेका छ त्यो पूर्ण छैन । एउटा चुस्त, दुरुस्त र परिणाममुखी कामगर्ने सर्वाधिकार युक्त संयन्त्रको अहिले पनि खाँचो देखिन्छ । सञ्चार माध्यमहरूले देखाएका कमजोरीलाई सरकारको आलोचना ठान्ने र आफ्नो बचाउमा प्रस्तुत हुने पुरानो बानीबाट सरकार बाहिर निस्किनु पर्छ ।

यो विपद्को समयलाई स्वास्थ्यमन्त्री लगायत सो मन्त्रालयका हाकिमहरूले कमाउने सुनौलो अवसरको रूपमा प्रयोग गरेको घटनाक्रमले देखाइरहेका छ । उनीहरू यति निर्लज्ज ढङ्गले कमाऊ धन्दामा लागेका छन् कि ... लाई भन्दा देख्नेलाई लाज भन्ने अवस्था छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रवार कोरोना सम्बन्धी जानकारी दिने एप सञ्चालन गर्ने भनेर पत्रकार सम्मेलन गरेर डङ्का पिट्यो । तर जब शनिवार एउटा निजी कम्पनीले एप सञ्चालन भएको भन्दै सञ्चारमाध्यमलाई विज्ञप्ति पठायो तब उनीहरूको “धोती खुस्कियो”। सो विज्ञप्तिले नै  एउटा सफ्टवेयर निर्माता निजी कम्पनीले स्वास्थ्य मन्त्रालय खरिद गरेको देखायो ।

आइमार्क डिजिटल नामक कम्पनीले आफ्ना उत्पादनको प्रमोसन गर्न सञ्चालनमा ल्याएको डाँफे हेल्थ डटकमलाई सरकारको कोभिड १९ नियन्त्रण तथा रोकथामको कामलाई व्यवस्थित गर्ने एपको रूपमा प्रस्तुत गरियो ।

अझ रोचक कुरा त के छ भने सो वेबसाइटमा राखिएका भिडियोहरु केही निजी अस्पतालहरूका प्रचार गरिएको छ । सरकार नजिकका मान्छेले चलाएका अरू अस्पतालका विज्ञापन पनि त्यहाँ देख्न सकिन्छ । प्रायः जसो सबै सञ्चार माध्यमहरूले कोरोना सम्बन्धीका जानकारी र सूचना पर्याप्तरुपमा प्रकाशन, प्रसारण गरिरहेका छन् । जुन सो वेबसाइटमा राखिएका सामाग्री भन्दा सरल र स्पष्ट शब्दमा छन् । नेपाली भाषामा छन् । सरकारले सुरु गरिएको भनिएको सो कम्पनीको वेबसाइटमा जे जति सामाग्री छन् ती अङ्ग्रेजी भाषामा प्रकाशित छन् ।

विश्व स्वास्थ्य सङ्गठनको वेबसाइटमा प्रकाशित भएका समाचारको कपि पेष्ट गरेर एउटा आफ्नै वेब पोर्टल सञ्चालन गर्न नसकेर स्वास्थ्य मन्त्रालयले सो निजी कम्पनीलाई जिम्मा दिएको हो त ? यदि हो भने स्वास्थ्य मन्त्रीले सार्वजनिकरुपमा नै स्वीकार गर्नु पर्छ की उनी सो पदका लागि उपयुक्त पात्र हुँदै होइनन् । होइन भने भन्नु पर्‍यो की सो कम्पनीबाट कति पैसा लिएर त्यसको प्रचार गरियो ? सो रकम तुरुन्त कोरोना नियन्त्रण कोषमा जम्मा गरियोस् ।

शनिवार चीन तर्फ स्वास्थ्य सम्बन्धी सामाग्रीहरू लिन विमान उडेसँगै अर्को प्रश्न उठेको छ । सो जहाजले लिएर आउने पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) सहितका स्वास्थ्य सामाग्री कुन मूल्यमा को बाट सरकारले खरिद गर्दै छ भन्ने चासोको विषय बनेको छ । स्वास्थ्य सम्बन्धी सबै खालका उपकरणहरूका एक मात्र सप्लायर झैँ परिचय बनाएका विशाल पण्डित मार्फत नै त्यी सामाग्री खरिद गर्न लागिएको हो भने त्यसमा गढबढी छ भन्ने कुरा आँखा चिम्लेरै भन्न सकिन्छ ।

के स्वास्थ्य मन्त्रालयका हाकिमहरूले यो विपद्को घडीलाई राज्य कोष दोहन गर्ने र निजी क्षेत्रसँगको मिलेमतोमा करोडौँ कुम्ल्याउने अवसरका रूपमा प्रयोग गर्लान् भन्ने कुरा नेपाली जनताले सोच्न सक्छन् ? तर यथार्थता त्यहीँ देखिदैछ की सामान्य मानिसले सोच्न पनि नसक्ने अनियमिततामा अहिले स्वास्थ्य मन्त्रालयको ध्यान छ । करोना भाइरस विरुद्धको विश्व युद्ध “वर्ल्ड वार सी” मा कसरी नेपालको नाम विजयी राष्ट्रको सूचिमा राख्ने भन्ने थोरै पनि गम्भीरता हुने देखिएको छैन । 

प्रतिक्रिया दिनुहोस