aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
लकडाउन समय अवधि थप्ने

बैंकको ब्याज मिनाहदेखि प्रभावितलाई विशेष राहत प्याकेज घोषणा गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ चैत्र २०७६
बैंकको ब्याज मिनाहदेखि प्रभावितलाई विशेष राहत प्याकेज घोषणा गर्दै
फाइन तस्विर

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरूलाई सरकारले विशेष राहत प्याकेज घोषणा गर्ने भएकोे छ । आज आइतबार दिउँसो १ बजे बस्ने कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यसबारे निर्णय गर्ने बुझिएको छ । 

बैठकमा विभिन्न उपसमितिमार्फत सरकारले कोरोना संक्रमणविरुद्ध गरेका कामकारवाहीबारे विश्लेषण गर्नुका साथै थप विशेष राहत प्याकेज सहितको निर्णय हुने  समिति उच्च स्रोतले जानकारी दिएको छ । बैकको ब्याज मिनाहदेखि व्यवसायीहरुलाई कर्जा छुट, मजदुरलाई जीवन धान्न दिइने राहत तथा कोरोना प्रभावित देशमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउने लगायतका विषयमा निर्णय गर्ने तयारी समितिले गरेको छ । 

आजको बैठकमा खासगरी कोरोनाविरुद्धका अभियान कसरी प्रभावकारी बनाउने र प्रभावितहरुलाई राहत कसरी प्रदान गर्ने भन्नेमा केन्द्रीत स्रोतले बताए ।  आम सर्वसाधारणलाई रातह दिन तथा अर्थतन्त्रमा कोरोनाले पार्ने प्रभावका बारेमा अर्थ मन्त्रालयले अध्ययन गरिरहेको छ । आज अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक प्याकेजबारे अर्थमन्त्रालयले तयार पारेका कार्यक्रममा केन्द्रीत रहेर छलफलपछि निर्णय गरिन्छ ।’

आज गरिने कतिपय निर्णयहरु उच्चस्तरीय समितिको सिफारिसमा मन्त्रिपरिषदबाट अनुमोदन गर्नुपर्ने हुन्छ । सो अनुमोदन गर्न मन्त्रिपरिषद बैठक आजै अपरान्ह चार बजेलाई बोलाइएको छ । साथै उच्चस्तरीय समितिको आजको बैठकले लकडाउन समय अवधि थप्ने विषयमा समेत निर्णय लिने तयारी गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस