
काठमाडौं । गत हप्ताको मंगलबार (चैत ११) गतेदेखि नेपाल ‘लकडाउन’को स्थितीमा रहेको छ । उक्त ‘लकडाउन’को छैटौं दिन करिव एक हप्तासम्मको समिक्षा र भावि रणनीतिकोलागि आइतबार(आज) मन्त्रिपरिषदको बैठक बस्दैछ । आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
मन्त्रिपरिषद बैठक अघि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक दिउसो १ बजे सिंहदरबारमा बस्ने भएको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा दिउँसो बस्ने कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय बैठकमा लकडाउनको आज छैटौ दिनसम्मको समीक्षा, कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारका तर्फबाट भईरहेका प्रयास, खाद्यान्न, इन्धन, तरकारी लगायत दैनिक उपभोग्य सामग्रीहरु सर्वसाधारणमा पुर्याउने सम्बन्धमा गरिने व्यबस्थालगायतका विषयमा छलफल हुने बताइएको छ ।
बैठकले लकडाउनको अवधि थप्ने सम्बन्धमा पनि आवश्यक निर्णय गर्ने र मन्त्रिपरिषदको आज अपराह्न बस्ने बैठकबाट त्यसबारेमा निर्णय लिइने तयारी गरिएको स्रोतको भनाइ छ ।
नेपालमा दोस्रो व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि चैत्र ११ गते विहान ६ बजेदेखि लागु हुनेगरी चैत्र १८ गते विहान ६ बजेसम्म लकडाउन गर्ने निर्णय भएको थियो ।
संक्रमण फैलन नदिनका लागि लकडाउनलाई उपयुक्त विकल्प मानिएको छ । छिमेकी मुलुक भारतमा समेत २१ दिन लामो लक डाउनको घोषणा नेपालमा भन्दा दुई दिन पछाडी गरिसकेको छ ।
लकडाउनपछि अरू तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि न्यूनतम आवागमन खुलाउँदै लकडाउन बढाउने तयारी गरिएकाे छ ।
सरकारले चैत ४ र ६ गते फ्रान्स हुँदै कतार र युएईबाट आएका नेपालीको विवरण खोज्दै उनीहरूलाई सम्पर्कमा ल्याउने काम पनि तीब्र पारेको छ ।
उक्त दुई उडानबाट आएका नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनीहरूसँगै आउने अरू यात्रुमा पनि संक्रमण हुने जोखिम उच्च रहेपछि उनीहरूको खोजी तीब्र पारिएको छ ।
ती दुई उडानबाट ३ सयभन्दा बढी नेपाली आएका थिए । उनीहरूको खोजी गरी क्वारेन्टाइनमा राख्न नेपाल प्रहरीलाई निर्देशन दिइएको छ ।
सरकारको निर्देशनपछि चैत ४ र ६ गते नेपाल आएका यात्रुको खोजी तीब्र पारेको प्रहरीले १३४ जना नेपालीलाई सम्पर्क गरी क्वारन्टाइनमा राखिसकेको जनाएको छ । यी सबै चैत ४ गते कतार एअरवेजको विमानमार्फत् नेपाल फर्किएकाहरू हुन् ।
कोरोना भाइरस संक्रमण पुष्टि भएकी नेपाली युवतीसँगै क्युआर ६५२ उडानमार्फत् नेपाल आएका यात्रुमध्ये १३४ जना काठमाडौं, ललितपुर, रूपन्देही, झापा लगायतका ४८ जिल्लाका क्वारन्टाइनमा राखिएका छन् ।
प्रतिक्रिया दिनुहोस