aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

यस्तो छ कोरोना संक्रमित ५ जनाको ट्राभल हिस्ट्रिदेखि हालको अवस्था

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ चैत्र २०७६
यस्तो छ कोरोना संक्रमित ५ जनाको ट्राभल हिस्ट्रिदेखि हालको अवस्था

काठमाडौं । चैत १६ गते आइतवारसम्म नेपालमा जम्मा ५ जना कोरोना संक्रमितहरु प्mेला परेका छन् । जस मध्ये पहिलो संक्रमित व्यक्ति पुर्ण रुपमा स्वस्थ भइसकेका छन् । अन्यको उपचार जारी रहेको र कुनै पनि बिरामी सिकिस्त अवस्थामा नरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताईरहेका छन् । 

विश्वमा हालसम्म करिब ३१ हजार जना मानिसको कोरोना भाइरसले ज्यान लिईसकेको छ । संक्रमितको संख्या ७ लाखको सेरोफेरोमा पुगिसकेको छ । करिब डेढ लाख जना उपचार पछि घर फर्किसकेका छन् । 

यो तथ्यलाई हेर्दा नेपाल कोरोना भाइरसको ठुलै चपेटामा परिसकेको देखिदैन तर अब ठुलो संख्यामा संक्रमितहरु फेला पर्ने आशंकाले भने सबैमा बेचैनी थपिएको छ । यहाँ हामीले अहिलेसम्मका संक्रमित व्यक्तिहरुबारे उनीहरुको ट्राभल हिस्ट्रि देखि हालको अवस्थासम्मलाई समेट्ने प्रयत्न गरेका छौँ । 

पहिलो व्यक्ति 
चीनको वुहान सहरमा अध्ययन गर्ने ३२ वर्षिय युवक जनवरी ९ तारिक अर्थात पौष २४ गते काठमाडौं आए । जनवरी र फेब्रुअरीमा विश्वविद्यालयमा जाडोको छुट्टी हुने भएकोले उनी वुहानबाट खुन्मिङ हुँदै नेपाल आएका थिए ।

उनलाई वुहानमा नै रुघाखोकी लागिरहेको थियो। त्यहाँ कोरोना भाइरसको संक्रमण भएको उनलाई थाहा थियो । कोरोना भाइरससंग मिल्दाजुल्दा लक्षण भएकोले उनलाई शङ्का लागेर जनवरी १३ तारिखमा काठमाडौंको टेकु अस्पताल गए । 

उनी वुहानबाट आएको थाहा पाएपछि चिकित्सकले उनलार्ई निरीक्षणमा राखेर उपचार गर्नुपर्ने सल्लाह दिए । त्यसपछि टेकु अस्पताल मै उनको उपचार सुरु गरियो। डाक्टरले उनलाई सुईबाट एन्टिबायोटिक औषधि दिए । दुई दिनपछि नै उनलार्ई आराम भयो । 

कोरोना भाइरस संक्रमणको आशङ्कापछि उनको खकारको नमुना जाँचको लागि हङकङ पठाइयो । तर उनी ठिक भएर अस्पतालबाट घर फर्किए पछि हङ्कङबाट उनको खकारको नमुना परीक्षणको नतिजा आयो । जसले उनमा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि गर्योे । 

डाक्टरले फोन गरेर उनलाई भिडभाडबाट टाढै बस्नु र आफ्नो राम्रो हेरचाह गर्नु भने त्यसपछि उनी केही डराए । उनी जनवरी २७ सम्म काठमाडौं मै क्वारेनटाइनमा बसे । फेरि टेकु गए । उनको पुनः परीक्षण गरियो। त्यतिबेला उनी कोरोना भाइरस संक्रमणमुक्त भइसकेको पुष्टि भयो। तैपनि उनी सावधान रहिरहे । चिकित्सकहरूसँगको सम्पर्कमा बसे । 

त्यसको दुई दिनपछि जनवरी ३१ तारिखमा फेरि उनको खकार जाँच गरियो। उनी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको पुनः पुष्टि भयो । उनी अहिले पूर्ण रूपमा स्वस्थ भइसकेका छन् । 

दोश्रो व्यक्ति 
फ्रान्सबाट नेपाल फर्केकी १९ बर्षिय एक युवतीमा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले चैत १० गते पत्रकार सम्मेलन मार्फत जानकारी गरायो । ती युवती चैत ४ गते फ्रान्सबाट कतार हुदै कतार एयरवेजको क्यूआर ६५२ कल साईन भएको जहाजमा नेपाल आएकी थिईन् ।

दोहासम्म उनकी भियतनामी साथी सँगै थिइन्। काठमाडौं घर भएकी उनी विमानस्थलबाट सोझै मैतिदेवीको आफ्नो घर गइन्। संक्रमित देशबाट आएकीले ’सेल्फ क्वारेन्टाइन’ मा बसिन्। 

क्वारेन्टाइनमा बसेको दुई दिन भएको थियो, उनलाई एउटा म्यासेज आयो। म्यासेज पठाउने उही भियतनामी साथी थिईन् । उनले आफूलाई कोरोना भाइरस संक्रमण भएको सुनाइन्। 

खबर पाउनेबित्तिकै युवतीले आफ्नो परिवारसँग कुराकानी गरिन् र टेकु अस्पतालमा सम्पर्क गरिन्। अस्पतालका चिकित्सकले उनलाई एकपटक जाँचका लागि आउन सुझाए।

उनी गत शुक्रबार आफ्नो बुवासँग निजी गाडीमा अस्पताल पुगिन्। बुवा र उनी दुवैले मास्क र पञ्जा लगाएका थिए। अस्पताल पुगेर उनले सबै बेलिविस्तार चिकित्सकलाई सुनाइन्। चिकित्सकले एउटा नमूना परीक्षण गर्नुपर्ने सुझाए ।

चिकित्सकले उनका घाँटी र नाकर्को यालको नमूना तत्कालै संकलन गरी प्रयोगशाला पठाए । उनी घरमा पनि छुट्टै बसिरहेको बताएपछि चिकित्सकले घर जान अनुमति दिए । उनी त्यसै दिन घर फर्किन्। 

पहिलेजस्तै सेल्फ क्वारेन्टाइनमा बसिन्। गत आइतबार अस्पतालबाट फोन आयो । उनको कोरोना परीक्षण नतिजा ’पोजेटिभ’ आएको खबर गर्यो। आइतबार मध्यरातमै बिरामीलाई अस्पताल भर्ना गरियो । उनी अहिले टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा उपचाररत छिन् । 
 
तेश्रोे व्यक्ति 
चैत १२ गते स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर नेपालमा कोरोना भाइरसको तेश्रो संक्रमित व्यक्ति फेला परेको जनायो । 

कोरोनाबाट संक्रमित युवा धादिङको नेत्रावती डेबजोङ गाउँपालिका वडा नम्बर ३ सेमजोङ घर भएका ३२ बर्षिय युवक हुन् । उनी एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट राती १० बजे दुबईबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । 
उनी एयरपोर्टबाट ट्याक्सी चढेर बसुन्धारा स्थित तनहुँ गेष्ट हाउसमा गए । २ दिन होटलमा बसे । उनले होटलमा अंकल, आन्टी र दाईलाई भेटेका थिए । 

होटलमा हुँदा चिसो पानीले नुहाएपछि उनलाई गाह्रो भयो । त्यसपछि उनी टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल पुगे । उनको रिपोर्टमा कोरोना पोजेभि देखिए पछि उनी अहिले सोहि हस्पिटलमा आइसोलेसनमा छन् । 

चौथोँ व्यक्ति 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन गरेर नेपालमा कोरोना भाइरसको चौथो संक्रमित भेटिएको जनायो । धनगढीमा कोरोना संक्रमित देखिएका उक्त ३४ वर्षीय युवक दुबईबाट आएका हुन् ।

चैत ७ गते दुबईबाट उनी दिल्ली हुँदै काठमाडौं आइपुगेका थिए । भोलिपल्ट ८ गते बुद्ध एयरको उडानबाट नेपालगञ्ज उत्रिएका उनी त्यहाँबाट टेम्पु, माइक्रो हायस चढेर धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको घरमा पुगे । 

दुई दिन घरमा बसेपछि उनीलाई रुघाखोकी र ज्वरो आयो । उनी आफैं चैत ११ गते अस्पताल पुगी भर्ना भए । अस्पतालले उनको स्वाबको नमुना परीक्षणका लागि काठमाडौं जनस्वास्थ्य प्रयोगशालामा पठायो । 

अस्पताल भर्ना भएको चार दिनपछि शुक्रबार स्वास्थ्य मन्त्रलायले उनमा संक्रमण भएको पुष्टि गर्यो । उपचारमा संलग्न डाक्टरका अनुसार ३४ वर्षीय ती युवाको स्वास्थ्य अवस्था हालसम्म चिन्ताजनक छैन। उनी अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेका छन् । 

पाचौँ व्यक्ति 
बेल्जियमबाट आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको शनिवार पुष्टि भयो । उनी चैत ४ गतेको दिन बेल्जियमबाट कतार हुँदै कतार एयरवेजको क्यू आर ६५२ नम्वरकै विमानमा नेपाल आएकी हुन् । 

बागलुङकी घर भएकी युवती नेपालमा कोरोना संक्रमित पाँचौ व्यक्ति हुन् । आमाबाबुलाई भेट्न बेल्जियम गएकी उनी करिब डेढ महिना घुमेर चैतको ४ गते कतारको दोहा हुँदै काठमाडौं आएकी थिईन् ।

काठमाडौं आएकै दिन दिउँसोको फ्लाइटमा उनी पोखरा गइन् । त्यहाँबाट भने जीप रिजर्भ गरेर घर गईन् । गत ७ गते ती युवतीलाई हल्का ज्वरो आयो । त्यो ज्वरो एकदिनमै सन्चो भयो । त्यसपछिका दुईदिनसम्म ज्वरो आएन । फेरी १० गते बेलुका ज्वरो आयो । 

गत मंगलबार सदरमुकामबाट डाक्टरहरु घरमै गएर नमुना लिएर फर्किए । अस्पतालका डाक्टरले फोन गरेर उनलार्ई कोरोना संक्रमणको पुष्टी गरे । उनलाई बाग्लुङ सदरमुकामस्थित धौलागिरि अस्पतालमा भर्ना गरिएको छ ।


 

प्रतिक्रिया दिनुहोस