aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

किन संयमता गुमाउँदै छ स्वास्थ्य मन्त्रालय ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ चैत्र २०७६
किन संयमता गुमाउँदै छ स्वास्थ्य मन्त्रालय ?

काठमाडौं । कोरोना भाइरहको प्रकोपका कारण अहिले विश्व नै आक्रान्त बनिरहेको छ । नेपालमा पनि आम सर्वसाधारण मात्र नभएर उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु नै त्रासमा छन् । यस्तो महामारीको प्रकोपको उपचार गर्दा अपनाउनु पर्ने सुरक्षाका बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सजक, सक्रिय र संयम रहेर काम गर्नु जरुरी हुन्छ । तर, किन हतास र सन्तुलन गुमाएको शैलिमा काम गरिहेको छ भन्ने बुझ्न सकिएको छैन ।

विभिन्न सञ्चारमाध्यमा मेडिकल सम्बन्धी सामग्री खरिदमा भ्रष्टाचार भएको भनि समाचारहरु प्रकाशन भएपछि चैत्र १५ गते स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गर्यो । मन्त्रालयले सूचना जारि गरेको र बोलपत्र आब्हान गर्दा कुनै पनि फर्मले भाग नलिएको भनि सो विज्ञप्तिमा लेखिएको छ । तर, आइतबार नै व्यवशायीहरुले मन्त्रालयको बिज्ञप्तीमा उल्लेख भएको कुरा सत्य नभएको भन्दै अर्को विज्ञप्ती जारि गरे । 

मेडिकल सम्बन्धी सामग्री आपूर्ति गर्ने फर्महरुको संघ रसायन तथा मेडिकल आपूर्ति संघले आइतबार जारि गरेको विज्ञप्तीमा उल्लेख छ, स्वास्थ्य सेवा विभागबाट माघ २५ गते माग भएको उक्त बोलपत्र आब्हानमा १९ वटा फर्मले सरकारले माग गरेको सामग्री आपूर्तिका लागि आवदेश दिएका थिए । यदि सो कुरा सत्य हो भने मन्त्रालयले किन विज्ञप्ति नै जारी गरेर एउटा झुट छोप्न अर्को झुट थप्यो ? प्रश्न यो हो कि यदि कुनै गलत गरेको थिएन भने स्वास्थ्य मन्त्रालयले यसरी संयमता गुमाउनुको कारण के हो ? वा, के रसायन तथा मेडिकल आपूर्ति संघ संस्थागत रुपमा नै स्वास्थ्य मन्त्रालयको पछि हात धोएर लागेको हो ?

त्यसो त हतारमा गल्ती गर्ने र फुर्सदमा पछुताउने काममा अहिले स्वास्थ्य मन्त्रालय अलिक अगाडी नै छ । यसको उदाहरणको रुपमा बिहीबार स्वास्थ्य मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा घोषणा गरिएको एउटा विषयलाई लिन सकिन्छ । सो बेला भनिएको थियो, ‘अब शनिबारदेखि महामारीको रुप लिइरहेको कोरोना भाइरका बारेमा सम्पूर्ण जानकारी दिनका लागि वेवसाइट र एप आउँदै छ’ । शनिबार संचार माध्यमहरुमा एउटा निजी कम्पनीले विज्ञप्ति पठायो जसमा दाबी गरिएको थियो( स्वास्थ्य मन्त्रालयले भनेको एप यही हो । 

सो कम्पनीको वेबसाइटमा कोरोनाको विषयमा नेपालीले बुझ्ने कुनै कुरा थिएन । सरकारी वेबसाइट भन्न मिल्ने ट ठाउँ नै थिएन । त्यसैले आर्थिकन्युज डटकम लगायतका संचार माध्यमहरुले आलोचानापूर्ण टिप्पणी गरे । के स्वास्थ्य मन्त्रालय एउटा वेबसाइट समेत चलाउन सक्दैन ? यदि यही हो भने कसरी यो मन्त्रालयले कोरोना नियन्त्रण जस्तो भिषण युद्धको नेतृत्व गर्न सक्छ र कुन आधारमा नेपाली जनता भर पर्ने, आश्वस्त हुने ?

आर्थिक न्युजडटकमले उक्त टिप्पणी प्रकाशन गरेपछि आइतबार स्वास्थ्य मन्त्री भनुभक्त ढकालले स्वास्थ्य मन्त्रालयकै पहिलेदेखि नै संचालनमा रहेको वेबसाइटमा थपिएको कोरोना सम्बन्धी पेजको औपचारिक  रुपमा उद्घाटन गरे । एक निजी कम्पनीलाई उसको उत्पादनको प्रसार प्रचार गर्न यो अवसरमा मौका दिने स्वास्थ्य मन्त्रालयको योजना यसरी तुहिएपछि त्यहाँका हाकिमहरु अहिले मिडियासँग निकै आक्रोशित छन् ।  

त्यसैले स्वास्थ्य सचिव यादवप्रसाद कोइराला अहिले आफैँ मिडियालाई हप्काएर तह लगाउने योजना सहित सक्रिय छन् । उनले आइतबार सबेरै आर्थिकन्युज डटकमका प्रमुख कार्यकारी अधिकृत इन्द्र बानियाँलाई समेत हप्काउँदै फोन गरे । बानियाँले समाचारमा कुनै कुरा चित्त नबुझेको भए खण्डन पठाउन अनुरोध गरेका थिए । तर, त्यसो नगरी उनी फेरी धम्काउने काममा नै तल्लिन रहे ।

 उनले आर्थिकन्युजको समाचारमा कमेन्ट गर्दै लेखेका छन ‘बाबु समाचार लेखेछौ को कुन संस्थाबाट कहिले को सचिवलाई भेटेछन् जनता जान्न चाहन्छन् ।’

तपाई र रसायन तथा मेडिकल आपूर्ति संघ (क्यामसन) का पदाधिकारीबीच भएको भनाभन र विवादलाई डा. भगवान कोइरालाले साम्य पारेको घटना सम्झनुहोस् सचिव ज्यू’ भन्ने जवाफ पाएपछि भने उनले आफ्नो धैर्यता नै गुमाएका छन् । त्यसपछि उनले दिएको धम्की यस्तो छ, ‘गलत समाचारको मूल्य भारी पर्नेछ ।’

आर्थिकन्युजले रसायन तथा मेडिकल आपूर्ति संघले गत बिहीबार सहयोग स्वरूप राहतको सामग्री लिएर मन्त्रालय जाँदा स्वास्थ्य सचिवले हप्काएर फर्काएको समाचार प्रकाशित गरेको थियो । उक्त समाचार प्रकाशन भएपछि सचिव कोइरालाले आर्थिकन्युजमा फोन गरेर समाचार प्रकाशन गरेर ठिक नगरेको समेत भन्न भ्याएका थिए ।

प्रतिक्रिया दिनुहोस