काठमाडौं । विश्वभर कोरोनाको संक्रमणले आक्रान्त भएको बेला दुईवटा देशका राष्ट्रपतिले दिएको बयानले भने सबैलाई अचम्ममा पारेको छ । बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकेसेन्काले आफुले भाइरस नदेखेको भन्दै कोरोना भाइरसको मजाक उडाएका छन् । उता ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले दुर्घटना भयो भनेर कार फ्याक्ट्री त बन्द गर्न नसकिने भनेका छन् ।
हालै राष्ट्रपति एलेक्जेन्डर लुकेसेन्कालाई देशमा कोरोनाभाइरस रोक्न सरकारले किन पहल गरिरहेको छैन भनेर सोधिएको प्रश्नको जवाफ दिदै भने – ‘मलाई त कुनै भाइरस छैन, तपाइले उडिरहेको भाइरस देख्नु भयो मैले त देखेको छैन । हामीकँहा बर्फ धेरै छ भाइरसलाई मार्न यो काफी छ ।’
बेलारुस कोरोनाको संक्रमण रोक्न खासै कुनै कदम चालेको छैन भने खेल गतिविधिलाई समेत निरन्तरता दिएको छ । बेलारुसमा अहिलेसम्म ९४ जना संक्रमित भएका छन् ।
त्यस्तै, कोरोना भाइरसको संक्रमणको असरलाई बुझ पचाउदै ब्राजिलका राष्ट्रपतिले समेत यस्तै विवादस्पद बयान दिएका छन् । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले आफ्नो प्राथमिकता अर्थव्यवस्था रहेको बताएका छन् । उनले भने –‘मानिस त मर्छन नै, मलाई माफ गर्नुस् । तर हामी दुर्घटना भयो भनेर कार फ्याक्ट्री त बन्द गर्न सक्दैनौ ।’
ब्राजिलमा कोरोनाबाट अहिलेसम्म १३६ जनाको मृत्यु भएको छ भने ४ हाजर २५६ जना संक्रमित भएका छन् । विश्वभर करिब ३४ हजारको मृत्यु भएको छ भने अहिलेसम्म ७ लाखभन्दा बढी संक्रमित भएका छन् ।
विश्वका मै हुँ भन्ने शक्तिराष्ट्र र उत्कृष्ट स्वास्थ्य सेवा भएका भनिएका मुलुकहरुलाई समेत कोरोनाले हायल कायल पारेको बेला यी राष्ट्रपतीले झैँ यदी हाम्रा नेताले झैँ ठट्टा गरिदिएका भए कस्तो हालत हुन्थ्यो होला ! धन्न, हाम्रा प्रधानमन्त्री देखी राज्यका सबै तह र वर्गका मानिसहरुले यो बिपद्लाई गम्भीरतापूर्वक लिएका छन्।
प्रतिक्रिया दिनुहोस