एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी फैलिन नदिनका लागि अपनाइएका निषेधात्मक उपायहरु कम्तिमा अप्रिल ३० सम्म लम्बिन सक्ने बताएका छन् । यसअघी अमेरिका बन्द हुन बनेको मुलुक नभएको भन्ने उनको टिप्पणीको व्यापक आलोचना भएको थियो ।
अब सामाजिक दूरीसहितका निषेधात्मक नियमहरु अमेरिकाभर बढाउने बारे तयारी भएको उनले उल्लेख गरेका छन् । ‘अबको दुई हप्तामा कोरोना भाइरसका कारण उच्चदरमा मृत्यु हुने सम्भावना छ । त्यसैले हामीले संक्रमण रोकथामका उपायहरु बढाउने तयारी गरेका छौँ ।’, राष्ट्रपति ट्रम्पले आइतबार भनेका छन् । यसअघि ट्रम्पले इस्टर अर्थात अप्रिल १२ देखि देशका केही क्षेत्र खुला गर्ने बताएका थिए ।
राष्ट्रपति ट्रम्पले गठन गरेको कोरोना भाइरस टास्क फोर्सका उच्च अधिकारी डा. एन्थोनी फाउकीले यसअघि कोरोना भाइरसका कारण दुई लाख अमेरिकीको ज्यान जान सक्ने चेतावनी दिएका थिए । डा. आउकीले दशौँ लाख अमेरिकी कोरोना भाइरसका कारण संक्रमति भएको र एकदेखि दुई लाखजनाको मृत्यु हुन सक्ने बताएका थिए। कोरोना भाइरसको संक्रमण सबै भन्दा धेरैमा हुने देश अमेरिका हो ।
कोरोना भाइरस टास्क फोर्सको पछिल्लो पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले कोरोना भाइरसमाथि विजय प्राप्त गर्ने एक मात्र उपाय भनेको सामाजिक दूरी नै रहेको बताएका हुन् । आउँदो जुनसम्ममा कोरोना भाइरसको संक्रमणबाट अमेरिका बाहिर निस्कने उनले दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस