
केही साता अघिसम्म हामी बसेको यो ग्रह चलायमान थियो भन्ने कुरा सम्झँदा समेत अहिले अचम्म लाग्न थालेको छ । विश्वका विभिन्न भागमा अनेकौँ घटनाहरू घटिरहेका थिए । प्रत्येक मिनेट छुट्छ झैँ गरी मानिसहरू दौडिरहेका थिए । हाम्रै देशमा समेत सत्ता चलाउने र चुनौती दिनेको बिचमा रस्साकस्सी चल्दै थियो ।
तर, एकाएक धर्ती नै टक्क अडिए झैँ भएको छ । लकडाउन उलङ्घन गर्नेलाई सुरक्षाकर्मीले बिच सडकमा ३ घण्टा उभ्याए झैँ । विश्वभरका विभिन्न सहरमा सरकार विरुद्ध अनेकौँ आन्दोलनहरू जारी थिए । ती सबै आन्दोलन आफै साम्य भएका छन् । भारतको दिल्लीमा, इक्वेडरको क्यूटोमा, चिलीको सान्टीएगोमा प्रर्दशनहरु जारी थिए । ति कति समयका लागि आझेलमा परे भन्न सकिंदैन ।
अहिले सम्झँदा लाग्छ, सायद अब त्यो पुरानो स्थितिमा संसार फर्कने छैन । एउटा नयाँ सूक्ष्म जीवका सामु सारा विश्व निरीह बनेको छ । त्रासदी व्याप्त छ । मानवजातीका गतिविधि ठप्प भएका बेला यमदूतहरू मृत्यु गीत गुनगुनाउँदै सर्वत्र फैलिरहे झैँ महसुस भइरहेको छ ।
अहिले चिन्ता कतै कोरोना भाइरसले हाम्रो शरीरमा प्रवेश गर्ने त होइन भन्ने त छँदै छ त्यसबाहेक अब यसपछिको सामाजिक जीवन कस्तो बन्ला भन्ने पनि अर्को पिर छ । विश्व पुँजीवाद अहिलेको क्षतिलाई पूर्ति गर्न कति निकृष्ट बन्छ होला ? सरकारहरू आफ्नो सबै कोष रित्ताइसकेपछि पुनः राष्ट्रिय अर्थतन्त्र चलायमान पार्न निजी क्षेत्रले अगाडी सारेका कस्ता सर्तहरू मान्न बाध्य बन्दा हुन् । त्यो बेला श्रमजीवी वर्गको हालत कस्तो बन्छ होला ?
स्वास्थ्य क्षेत्रहरू कसरी आफूलाई टिकाई राख्दा हुन् ? सार्वजनिक स्वास्थ्य सेवाको स्थिति कस्तो बन्ला ? के यो बिचमा सरकारले सुधार गर्ने स्वास्थ्य सेवा र त्यसका पूर्वाधारहरूले निजी अस्पताल चलाई रहेका मेडिकल माफिया र व्यापारीहरूलाई सकसको स्थिति सिर्जना होला ? वा, मौकाको फाइदा उठाउँदै यो बेला तिनीहरू अझ बलिया र दर्बिला बन्लान् ।
आर्थिक प्रणालीमा विशेषगरि वित्तीय क्षेत्रको स्थिति कस्तो बन्ला ? रोजगारीको अवस्था कस्तो होला ? सरकारले बेरोजगारी हलका नीति निर्माण गर्दा कसको हित रक्षालाई केन्द्रमा राख्ला ? यी सबै प्रश्नको जवाफ किन गाह्रो छ भने अहिले हामी त्यो खालको शासन प्रणालीमा छौँ जसले यी सबै विषयमा पूर्वानुमान गर्नु पर्ने आवश्यकता कहिले महसुस गरेन ।
त्यसैले अहिले हामीले एउटा महत्त्वपूर्ण विषयमा समेत लकडाउन मै बसेका बेला माथापच्चि गर्नु उपयुक्त हुन्छ । वास्तवमा कस्तो शासन प्रणाली मानव जातिका लागि उचित हो ? उत्तर कोरिया, चीन वा अमेरिकाको जस्तो ? यो प्रश्न किन जरुरी देखियो भने कुन खालको आर्थिक नीतिलाई अङ्गीकार गरेका मुलुकहरू वास्तवमा मानिसहरूका अधिकारको समेत रक्षा गर्दै आइलागेका समस्याहरूको समाधान गर्न सक्षम रहेछन् भन्ने कुरा कोरोनासँग विश्वका सबै मुलुकहरूले गरेको युद्धले स्पष्ट पारेको छ ।
अमेरिका अहिले कोरोना सङ्क्रमणको केन्द्रबिन्दु बनेको छ । रसियाले सङ्क्रमणलाई सजिलै परास्त गर्ने नीतिको सफलतापूर्वक कार्यान्वयन गरिरहेको देखिन्छ । चीन संकटबाट लगभग बाहिर निस्किसकेको अवस्था छ । उत्तर कोरियामा के हुँदैछ ? संसार अनविज्ञ छ । उ पनि सारा विश्व कोरोनाको डरले त्राहिमाम् रहेको बेला समेत क्षेप्यास्त्र परीक्षण गर्नमा नै तल्लीन छ ।
निष्कर्षमा के भन्न सकिन्छ भने जहाँको सरकार आम जनताको जीवनस्तर प्रति चिन्तित छ उसका योजनाहरू र कार्य शैली सही हुँदा रहेछन् । चीनले सीमित व्यापारी र सम्भ्रान्त वर्गको मात्रै हित रक्षालाई केन्द्रमा राख्दैन त्यसैले उसले आम जनताको जीवन रक्षासँग कुनै पनि कुराको सम्झौता गरेन । जनताले पनि सरकारले चाहे अनुरुपको साथ दिए । मुलुक कोरोना विरुद्धको युद्धमा होमीएको त्यहाँ घोषणा गरियो । अहिले सारा चिनियाँ हातमा देशको झन्डा बोकेर विजय उत्सव मनाउने क्षणको प्रतीक्षामा छन् ।
उता रसियनहरू धैर्यतापूर्वक कोरोना विरुद्ध एक भएर युद्ध लडिरहेका छन् । त्यहाँका राष्ट्रपतिलाई जनतालाई साथ दिएका छन् । उनीप्रतिको भरोसा र विश्वास आम नागरिकमा देखिन्छ । अमेरिकामा भने राष्ट्रपति विरोधी जन आक्रोश बढ्दो छ । आवश्यक निर्णय गर्न ट्रम्पले सकिरहेका छैनन् । आखिर अमेरिका कोरोनाको केन्द्र बनीसकेको छ । अमेरिकाको जस्तै तरिका अपनाउँदा र हेलचेक्र्याइँ गर्दा इटाली र स्पेनलाई कोरोनाले पुर्णरुपमा घाइते बनाईसको छ ।
अन्तर्यमा हेर्ने हो भने कोरोना विरुद्धको युद्धको जित र हारमा कुन प्रकारको शासन प्रणाली, अर्थनीति र सामाजिक संरचना ती मुलुकहरूमा थिए भन्ने कुरा केन्दैमा रहेको देखिन्छ । समग्रमा के भन्न सकिन्छ भने समाजवादी गन्ध भएका शासन प्रणाली र आर्थिक नीतिहरू वास्तवमै मानव जातिको संकटका लागि सहायक बन्ने रहेछन् । जुन समाज पुँजीवादको निकृष्ट छायाँबाट बचेको छ त्यो समाजले यस्ता युद्धहरू लड्ने क्षमता गुमाएको हुँदो रहेनछ ।
प्रतिक्रिया दिनुहोस