
क्यानडा .। ‘आगो निभाउन धेरै पानी प्रयोग गर्यो भनेर कसैले पनि आलोचना गर्दैन’ बैंक अफ क्यानडाका गभर्नर स्टेफेन पलज को यो भनाइ क्यानडाको अर्थतन्त्रलाई बर्बाद हुनबाट बचाउन उनीहरूले चालेको कदम प्रति लक्षित थियो । कोभिड–१९ को कारण अचानक देशले झेल्नु परेको आर्थिक संकटबाट बचाउन उनले तीन हप्ताको अन्तरालमा तीन पटक गरी बैंक अफ क्यानडा को ब्याजदर घटएर सबै भन्दा कम ०.२५ प्रतिशतमा झारे । अर्थतन्त्र धरासयी हुँदै गर्दा देशको केन्द्रीय बैंकले अपनाउने विभिन्न कदममध्य यो एक प्रभावकारी र महत्वपूर्ण कदम हो ।
आर्थिक संकटसँग जुध्न
यस्तै गरी साना तथा मझौला व्यापार र व्यापारीलाई टाट पल्टिनबाट बचाउन र उनीहरुले सर्वसाधारणलाई दिने कामबाट बन्चित गर्न नपरोस् भन्ने हेतुले त्यस्ता ठाउँमा काम गर्ने कर्मचारीलाई दिने तलवको ७५ प्रतिशतसम्म आफैले ब्यहोर्ने नीति सरकारले ल्याएको छ । यसबाट विशेष गरेर स–साना व्यापार व्यवसायहरू यो अप्ठारो संकटको बेलामा पनि खुट्टो टेक्न सक्ने वातावरण सृजना हुन्छ र त्यस्ता कम्पनीहरुमा कामदारहरूले पनि जागिरबाट हात धुन पर्दैन ।
हुन त क्यानडामा जुनसुकै र जस्तोसुकै काम गर्ने मानिसले पनि जागिरबाट निकालियो भने उसले पाउने तलवभन्दा अलि कम रकम १ वर्षसम्म सरकारबाट प्राप्त गर्छ । यसबीचमा उसले अरू काम खोज्न अथवा कुनै सिप वा ज्ञान प्राप्त गर्न सक्छ र अर्को जागिर पाएपछि यो सुविधा स्वतः बन्द हुन्छ ।
यसका लागि कसैले सरकारी जागिर नै खान पर्दैन, सरकारी र निजी कर्मचारीले पाउने सम्पूर्ण सुविधा एउटै हुन्छ । बच्चा जन्मेमा आमा र बुबा दुबैले १८ महिनासम्म विदा तथा प्रस्तुती वा अभिभावकले पाउने सरकारी रकम प्राप्त गर्छन् । हरेक बच्चाहरूले परिवारको वार्षिक आय अनुसार १६ वर्षसम्म महिनावारी पैसा पाउछन् । यति हुँदा हुँदै पनि अहिले कोभिड–१९को कारणले भोग्नु परेको विकराल समस्यालाई समाधान गर्न सजिलो छैन ।
त्यसैले कोभिड–१९ को कारणले जागिर गुमाएका, आफन्तहरूको हेरचाह गर्नुपर्ने, केटाकेटी हेर्नुपर्ने वा आफै भाइरस पोजेटिभ देखिएर आइसोलेशनमा बस्नु पर्ने नागरिकहरूलाई ४ महिनासम्म महिनाको दुई हजार डलरका दरले प्रदान गर्ने केन्द्रीय सरकारले निर्णय गरेको छ ।
प्रान्तीय सरकार र स्थानिय सरकारहरूले आ–आफ्नै तरिकाले जनतालाई विभिन्न सुविधाको घोषणा गरिरहेका छन् ।
जस्तो कि भाडावालहरूलाई भाडा नतिरे वापत निकाल्न नपाइने, जनताले तिर्न पर्ने कर छ महिनासम्म स्थगन, बिजुली पानी बत्ती तथा ग्यास चलाए वापत तिर्नुपर्ने बिल स्थगन, ११ सय डलरसम्म आपत्कालीन सहयोग, किसानहरूलाई विभिन्न सहयोग र व्यापार सुचारु गर्न आवश्यक सहयोगहरू धेरैमध्य केही उदाहरण हुन । त्यस्तै बैंकहरुलाई तिर्नपर्ने घरको धितो पनि छ महिना सम्म स्थगित गर्ने निर्णय बैंकहरूले गरेका छन् । यी त भए कोभिड–१९ को कारणले नागरिकहरूलाई अचानक पर्ने आर्थिक भार खुकुलो पार्न चालिएका केही कदम हरू ।
महामारीसँग जुध्नः
नागरिकहरूलाई महामारीबाट बचाउन अथवा असर न्युनीकरण गर्न तीन तहका सरकारहरू रातदिन खटिएका छन् । केन्द्रीय सरकारले देशमा छिर्ने जो कोहीलाई १४ दिनको आइसोलेशन अनिवार्य गरेको छ भने कोरोना भाइरसको लक्षण देखिएकाहरूले देशभित्र पनि यात्रा गर्न नपाउने निर्णय गरेको छ ।
उनीहरूले प्रान्तीय सरकारलाई आवश्यकता सहयोग गर्ने, सामग्रीहरू उपलब्ध गराउने र सल्लाह सुझाब दिने गरेका छन । यस्तै विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ) को निर्णय र सुझाब अनुसार केन्द्रीय सरकारले देशका सिमानामा आवतजावत बन्द गर्ने र महामारी न्यूनीकरन गर्न स्वास्थ्य सम्बन्धि कार्य क्षमता आक्रमक रुपमा बढाएको छ ।
छिन छिनमा परिवर्तन भइरहने निर्णय, नयाँ कानुन व्यवस्था र सरकारी कदमको जानकारी दिन २४ घन्टे सूचना टेलिफोन सेवा, वेवसाइटमा अप्डेट गर्ने र राष्ट्रिय सञ्चार माध्यामद्वारा आम नागरिकहरूलाई जानकारी दिने गरेको छ । सरकार अन्तर्गत भाइरस रिसर्च र सम्भावित उपचार खोपको विकास गर्न विभिन्न वैज्ञानिकहरू अहोरात्र काम गरिरहेका छन् भने कोरोना भाइरस कै लागि तत्काल जिम्मेवार समूह ‘इन्सिडेण्ट रेस्पोन्स टिम’ खडा गरेको छ ।
उक्त टिमले स्वास्थ्य मन्त्रीसहितको क्याविनेट कमिटीसँग मिलेर काम गर्छ । अहिले प्रधानमन्त्री, मन्त्री, अन्य कर्मचारी, डाक्टर, नर्सहरू अहोरात्र खट्नु पर्ने भएकोले कतिपयलाई कोरोना भाइरस पोजिटिभ देखिएको छ र उनीहरू आफूलाई आइसोलेट गरेर पनि मिल्ने र सक्नेसम्म काम गरिरहेका छन् ।
प्रान्तिय सरकारका कदमः
प्रान्तीय सरकारले आफुसँग भएको क्षमता र केन्द्रबाट हुने सहयोगलाई मिलाएर विभिन्न उपायहरू अपनाएका छन् । सम्पूर्ण अस्पतालहरूमा प्रयोगमा नआएका वा आउन सक्ने भवनहरू, अस्पताल बेडहरू तथा अन्य ठाउँहरुलाई रातारात परिमार्जन गरेर कोभिड–१९ बाट ग्रसित बिरामीहरूलाई उपचारको व्यवस्था मिलाएका छन् ।
त्यस्तै, अलिपछि सार्न मिल्ने उपचारको समय तालिका बनिसकेका अप्रेसनलगाय अन्य उपचारहरु रद्द गरिएको छ । सबै अस्पतालहरू सरकारको निगरानीमा हुने हुँदा सरकारसँग मिलेर मात्रा प्रमुख स्वास्थ्य अधिकारी र अस्पताल प्रशासनले काम गर्ने गर्छ । यसले सबैतिर एकैनासको कार्य हुने, कार्य शैलीमा एकरुपता आउने, सबैले एउटै निर्देशन पालन गर्ने हुँदा कार्य सम्पादन चुस्त हुन्छ ।
कोभिड–१९ को असर दिन प्रतिदिन बढीरहेको कारण प्रान्तीय सरकारले अवस्था हेरेर १० जना भन्दा धेरै एकै ठाउमा भेला हुन नमिल्ने र २ मिटरको दूरी कायम राख्नुपर्ने, अनावश्यक रुपमा बाहिर निस्कन नपाइने, रेस्टुराँहरूमा बसेर खान नपाइने र अत्यावश्कीय वाहेक सबै पसलहरू सबै बन्द गरिएको छ । यस्तो निर्णयको पालना नगरेमा उक्त व्यक्तिलाई एक हजार डलर र व्यवसायलाई ५ लाख डलरसम्म जरिवाना गर्नुका साथै पुलिसले पक्राउ समेत गर्न सक्छ । त्यस्तै सबै पार्क, चिडियाघर, संग्राहलय तथा सम्पूर्ण सान्चुअरीहरू बन्द भएका छन ।
कोभिड–१९ को असर दिन प्रतिदिन बढीरहेको कारण प्रान्तीय सरकारले अवस्था हेरेर १० जना भन्दा धेरै एकै ठाउमा भेला हुन नमिल्ने र २ मिटरको दूरी कायम राख्नुपर्ने, अनावश्यक रुपमा बाहिर निस्कन नपाइने, रेस्टुराँहरूमा बसेर खान नपाइने र अत्यावश्कीय वाहेक सबै पसलहरू सबै बन्द गरिएको छ । यस्तो निर्णयको पालना नगरेमा उक्त व्यक्तिलाई एक हजार डलर र व्यवसायलाई ५ लाख डलरसम्म जरिवाना गर्नुका साथै पुलिसले पक्राउ समेत गर्न सक्छ ।
स्वास्थ्य कर्मचारीहरूलाई अस्पतालमा छिर्नु भन्दा अगाडि हरेक पल्ट चेक गरी संक्रमण नभएको भए मात्रा छिर्न र काम गर्न पाउने अनिवार्य गरेको छ । सबै भन्दा महत्वपूर्ण कुरा हरेक दिन उही समयमा नयाँ कार्ययोजना, कानुन, संक्रमणको संख्या, मृत्यलगायत सम्पूर्ण जानकारी सम्बन्धित मन्त्री, प्रमुख स्वास्थ्य अधिकारीले जनतालाई दिने गर्छन् । जसले गर्दा आफ्नो भूमिका नागरिकहरूलाई प्रस्ट हुन्छ । त्यस्तैगरी आपत्कालीन घोषणाका सुचनाहरू छिन्–छिन् मा सरकारी वेबसाईट मा अप्डेट गरिन्छ ।
स्थानीय सरकारले स्थानीय संकटकालको घोषणा गरेका छन् । प्रान्तिय तथा केन्द्रीय सरकारका निर्णयहरु पूर्ण रुपमा लागु गर्दै स्थानीय तहबाट गर्न सकिने सकरात्मक कदमहरु चालेका छन् । स्थानीय रेस्टुराँ, पसल, मल, स्कुल, युनिभर्सिटी, केटाकेटीलाई हेरचाह गर्ने केन्द्रहरूलगायत तत्काल आवश्यक नपर्ने सम्पूर्ण सेवाहरू बन्द गरिएका छन् ।
शहर द्वारा सञ्चालित सबै खेलकुद, मनोरञ्जन, बहिरी र भित्रि गतिविधि, पौडी पोखरी, व्यायाम सेन्टरहरू र सिनेमाहरू बन्द छन् । स्थानिय कानुनको पालन गराउन पुलिस प्रशासन कडाइका साथ लागि परेका छन् । १० जना भन्दा धेरै एउटा ठाउँमा भेला हुन नमिल्ने कानुन लागु भएपछि यसको अवज्ञा गर्ने ११ जना भएको व्यवसायीको लाइसेन्स खारेज गरिएको छ ।
यति हुँदाहुँदै पनि कोभिड–१९ को महामारीका बिरामीहरू दिन दुईगुना रात चारगुना दिन प्रतिदिन बढीरहेका छन् । अमेरिका, इटाली, स्पेनलगायत अन्य देशहरूले भोग्नु परेको यो दुःखद र विकराल महामारीले कुनै देश वा सीमाना छुट्याउदैन । जुन विश्वको दुई सय दुईवटा देशहरूमा फैलिसकेको छ । हाम्रो देशमा पनि कोरोना भाइरसका घटनाहरू शुरु हुन थालेको अवस्थामा सरकारलगायत नागरिकहरू अहिले नै सजग भई द्रुत गतिमा आवश्यक कदम चाल्न सके अनहाकमा ज्यान गुमाउनु पर्दैन । जीवन रहे अरु रहने हो ।
प्रतिक्रिया दिनुहोस