aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

३ सय ५२ भारतीय बीरगञ्जमा पक्राउ, कारवाही गर्ने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ चैत्र २०७६
३ सय ५२ भारतीय बीरगञ्जमा पक्राउ, कारवाही गर्ने तयारी

बीरगञ्ज । कोभिड–१९को सङ्क्रमणलाई रोक्न देशव्यापी लकडाउन अवज्ञा गर्ने ३५२ जना भारतीय नागरिकलाई आज पर्सा प्रहरीले बीरगञ्जबाट नियन्त्रणमा लिएको छ । वीरगञ्ज नाकाबाट भारततर्फ जाँदै गरेका पाँच महिला, ११ बालबालिका र ३३६ पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

देशको विभिन्नस्थानमा रही काम गर्दै आएका भारतीय नागरिक बीरगञ्ज नाकाबाट भारततर्फ जाने क्रममा बिहान १ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।

उनले नियन्त्रणमा लिइएकालाई हाल वीरगञ्जको आदर्शनगरस्थित ठाकुरराम बहुमुखी कम्यापसको एजुकेशन भवनमा राखिएको बताए । 

काठमाडौँ, चितवन, मकवानपुर, पोखरालगायतका स्थानमा रही काम गर्दै आएका भारतीय नागरिकहरु  मालवाहक वाहनमा लुकिछिपी तथा पैदल यात्रा गर्दै वीरगञ्जसम्म आइपुगेको प्रहरीले जनाएको छ । 

गएरातिदेखि नै प्रहरी नियन्त्रणमा रहेकालाई आदर्शनगर ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले खानाको प्रबन्ध गरेको छ ।

नियन्त्रणमा रहेकालाई जिल्ला सुरक्षा समन्वय समितिको आज बस्ने बैठकले के कारवाही गर्ने विषयमा निर्णय गर्ने प्रहरीले जनाएको छ  । 

प्रतिक्रिया दिनुहोस