aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बैंकर बाबुकाजीको ‘कैँची’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ चैत्र २०७६
बैंकर बाबुकाजीको ‘कैँची’
बाबुकाजी थापा: लेखक

धेरै दिन देखि म एउटा कैँचीको खोजीमा थिएँ । मौका नपरेर, किन्न जान सकिरहेको थिइनँ। एक दुई पसलमा सोधेको पनि हुँ, भने जस्तो पाइएन । जाबो एउटा कैँचीको अभावमा करिब छ महिना देखि सास्ती झेलिरहेको थिएँ । हात मुखको जोहो गर्ने उपक्रममा कैँचीको आवश्यकता व्यस्तताले गर्दा ओझेलमा परिरहेको थियो। त्यसले चुलोमा समस्या उब्जाएको थिएनत्यसैले चलेकै छ भन्ने लाग्थ्यो । तर, जब जब म नुहाउन बाथरुम पस्थेँ वा दाह्री काट्न बस्थेँ, कैँचीको सम्झनाले मन अमिलो भएर आउँथ्यो ।

एक दिन वाचा गरेँ आज चाहिँ नल्याई छाड्दिन । त्यो बेला म जागिरको सिलसिलामा सुदूरपश्चिमको धनगढी पुगेको थिएँ । काठमाडौँवासीले त यसलाई कालापानी सरह नै ठान्छन् । अरू हिसाबले होइन, दुरीको हिसाबले । काठमाडौँबाट बेलुकी ३ बजे दिउँसो रात्रि बस चढियो भने भोलिपल्ट बिहान ९ बजे आई पुगिन्छ, धनगढी ।

म काठमाण्डौंको मान्छे, मलाई टाढा नै लाग्छ यहाँ आउन । उसरी त जहाज चढ्ने हो भने सवा घण्टाको बाटो हो । तर के गर्नु ? १५ दिनको तलब जान्छ एकतर्फी जहाज चढ्न । कार्यालयमा कर्मचारी सबै स्थानीय छन्, म बाहेक अफिस छुटेपछि सबै आआफ्नो घर तिर लागे। मैले अठोट गरेँ, ‘आज पसल पसल चहारेर भए पनि कैँची त किन्छु किन्छु

वैशाखको धूम थियो। मान्छेहरू घामबाट जोगिएर हिँडिरहेका थिए। प्रायजसोले छाता ओढेका थिए । छत भएको रिक्सा चढेर यात्रा गर्ने मान्छे पनि प्रशस्तै थिए । घाम पनि कस्तो भने सूर्य नारायण टाउकै माथि छन् कि जस्तो लाग्ने । सात सूर्य उदाए सरह, उग्र गर्मी । यस्तैमा म लर्-लखर् सडक पेटी पेटी फुल बाहुले सेतो सर्ट र निलो पाइन्टमा सजिएर कैँचीको खोजीमा सडकमा दायाँ बायाँका पसलमा आँखा गाडेर हिँडिरहेको थिएँ ।

आँखा सडकको पल्लोपट्टि सम्झना शृङ्गार पसललेखिएको साइनबोर्ड रहेछ । सोचेँ महिलाको शृङ्गारको सामान बेच्ने ठाउँमा के पाइएला र, कैँची ? तर फेरी गमेँ, कैँची पाउने पसल नै शृङ्गारको पसल न हो ।

जाँगर थिएन बाटो काट्न । धनगढीमा रिक्सा, गड्यौंला जस्तै गुड्छन् । सलबल सलबल पुरै बाटो ढाकेर । फेरी उसमाथि बयल गाडा, साइकल, रिक्सा, बस, ट्रक, जिप, गाई÷भैँसी, मोटरसाइकल सबै एउटै बाटोमा दुई तर्फी चल्छन् । कतिखेर कुनले बजाई दिन्छ ठेगान हुँदैन । आ....१ भन्ने लागेको थियो । कैँची पनि नभई नहुने अनि पसलमा सोधपुछ गर्न अल्छी पनि मान्ने हो भने आज पनि किनिँदैन भन्ने ठानेर बाटो काटेँ र पुगेँ पसल भित्र ।

सरसर्ती आँखा लगाएँ पसलमा, महिलाको लागि घस्ने/दल्ने देखि सबै खालका सामान रहेछन् । पुरुषका लागि आवश्यक पर्ने सामान पनि थिए, काइँयोदेखि सेभींग क्रिमसम्म । एक नजर पुरै पसलमा डुलाएँ । सिसाको र्‍याकमा कुना तिर कैँचीहरूको खात थियो, म ढुक्क भएँ । बल्ल मेरा आँखा पसलको मालिक तिर गयो ।

सुरु मै झमटमा पसले होइन पसल्नी छन् भन्ने त थाहा भैसकेको थियो । तर, आफ्नो ध्यान साहुनी भन्दा पनि कैँची तिरै गएको हुँदा खासै ध्यान गएको थिएन । आँखा जुधे पसल्नीसँग ।

बहिनी कैँची छ ?”

 “सर बस्नुस्”, अगाडीको सानो टुल देखाएर मलाई गढेर हेरिन् उनले । शायद लजाएँ गाला राता भए । त्यसमाथि गर्मीको राप त छँदै थियो ।

सर घामले तातिएर आउनु भएछ, चिसो पानी खानु हुन्थ्यो कि ?”“ छ भने पाऊँ न त ।भनेँ मैले ।

पसल २० बाई २० फिटको हुँदो हो, ठुलो । एउटा कुनामा बेड रुम साइजको फ्रिज राखेको रहेछ , त्यहाँबाट झिकेर एक बोतल पानी ल्याइन् पसल्नीले । पिउन खोजेँ असाध्यै चिसो रहेछ, सकिनँ। त्यो उनले चाल पाइन् र सहज पारिदिइन्, “एक छिन बाहिर राखेपछि तातो भइहाल्छ सर, कहिछिन कुरेर खाए हुन्छ

मेरो अवस्था देखेर उनले घुम्ने पङ्खा लगाई दिइन्, म तिर फोकस गरेर । पसलमा उनी बाहेक कोही थिएन । मलाई यति धेरै सेवा गरेको देख्दा मेरो मन त्यसै त्यसै प्रफुल्ल भएर आयो । बस्ने कुर्ची, चिसो पानी, पङ्खाको फोकस यो सबै भरे बिलमा जोडिने होला भनेर म चाहिँ त्यति वास्ता गरिरहेको थिइनँ ।

उनले ठानेकी हुँदी हुन्, म कुनै अफिसको हाकिम नै हुँ । दुई चार हजारको माल त किनी हालुँला । तर म कैँचीको मात्र ग्राहक थिएँ । करिब आधा लिटर पानी पिएँ हुँला, ज्यानमा सास आयो ।

पानी पिउँदा घाँटी ठाडो परेको मौका पारेर चोरी नजरले पसल्नीलाई शिर देखी पाउसम्म नियालेँ।

फरर हावामा उड्लान् जस्ता केस्रा केस्रा छुट्टिएका हल्का बैजनी रङ्गको लामो कपाल, सेतो मलमलको कपडा जस्तो छाला, न ठुला न साना साह्रै तेजिला आँखा, कुनै मूर्तिकारले मेहनतपूर्वक बनाएर टपक्क टाँसे जस्तो नाक । आँखी भौं सर्लक्क तन्किएका, मिलेका ओठमा मेहनत गरेर लगाएको लिपिस्टीक, हल्का राता पुटुक्क परेका गाला ।  न लामो न गोलो अनुहार । एक झमटमा मैले देखेको पसल्नीको आकृति यही थियो ।

अनि बैनी तालीम लिएर खोलेको हो कि यसै सुरु गरेको यो पसल ?” मैले गफिने चेष्टा गरेँ, “घरेलुबाट शृङ्गार सम्बन्धी तालीम लिएपछि खोलेकी हुँ सर । किन र ?”  उनको प्रतिप्रश्न थियो । हैन त्यसैमैले भनेँ ।

तर, त्यो प्रश्न यसै सोधिएको थिएन । उनले आफ्नो शरीरको व्यवस्थापन जुन ढङ्गले गरेकी थिइन्, त्यसले बताउँथ्यो व्युटिसियन तालीम प्राप्त महिला हुन्, उनी । एक राउन्ड नजर यसै बिचमा लगाएँ फेरी ।

असाध्यै सुहाउने गुलाबी रङ्गको कुर्ता सलवार, बाहिर कतै बनाएर लगेर टाँसे जस्तो स्तनका बनोट, बान्की परेको पिठ्युँ, करिब साढे पाँच फिटको उचाइ, न मोटी न दुब्ली । म मन्त्रमुग्ध भएँ । कतै खोट लगाउने ठाउँ छैन, कस्तो मिलेको रूप र बनावट होला ?

बैनीको नाम चाहिँ के हो नि ?”,

हजुर, सम्झना” ! जवाफ आयो । मैले ए....भनेँ । कस्तो कस्तो, उकुसमुकुस र अत्यास जस्तो भएर आयो । घर यहीँ हो कि ?”“ हैन सर, पहाड डोटी हो, यहाँ धनगढीमा घडेरी छ, घर बनाएको छैन ।

मलाई पहिलो दिन यहाँ भन्दा बढी कुरा गर्न मन लागेन, त्यो पनि कहिल्यै नदेखेको, नचिनेको महिला सँग । अनि कैँची निकाल्नु न तमैले भनेँ । तर ऊनी त काउन्टरको सिसामाथि दुवै हात चिउँडोमा अड्याएर मलाई पो घुरेर हेर्न थालिन् ।

अब उनको पालो थियो, ‘सरको घर कहाँ हो, के गर्नुहुन्छ ?” “ अघि देखि सर...... सर किन लगाई राख्नु भा छ तपाई ?” मैले उल्टै प्रतिप्रश्न गरेँ । जवाफ आयो, “हेर्दै अफिसको अफिसर जस्तो लाग्छ, सर नभनेर के भनूँ त ?” म अवाक् भएँ । मेरो घर काठमाण्डौं हो, ६ महिना अघि सरुवा भएर यहाँ आएको, बैङ्कमा काम गर्छु ।” “” , यती मात्र थियो उनको प्रतिक्रिया। निक्कै नियालेर मलाई हेरेपछि कैँची निकालेर ल्याइन् । एउटा सानो कैँची देखाइन् । यो हैन, यो सानो भयो, अर्को देखाउनु....मैले भनेँ । अर्को ल्याइन् त्यो पनि २० को १९ थियो पहिलेको भन्दा । यो पनि होइन क्या अलि ठुलो छैन ?” म अलि झर्किए जस्तो भएँ क्यार । के गर्नलाई हो र सर कैँची जुँगा मिलाउन वा नाकमा उम्रेका रौँ काट्न त होला नि हैन र !उनी नझर्की बोलिन् । मलाई भने अब रिस उठिसकेको थियो । के थाहा के के पो गर्नुपर्छ । कहाँ कहाँ काम लाग्छ, तल माथि जता पनि त काम आउला । हुन पनि मलाई अलि ठुलै कैँची चाहिएको थियो । अब चाहिँ कुरा बुझिछ क्यारे खोजे जस्तै कैँची देखाई ।पैँतालिस रुपैयाँ तिरेर म त्यहाँबाट हिडें । हिंडने बेलामा ल त बैनी गएँभनेँ । उसले भनी आउँदै गर्नुहोला है सरहुन्छ ..... हुन्छ। तर, पसलबाट निक्लँदा मलाई अन्मिएर अर्काको घर जान लागेकी छोरीलाई जस्तै गाह्रो भयो ।

बाटोभरी र डेरा पुगेपछि पनि अनेक खालका तर्कन र सम्झनाले सताउन थाल्यो, मलाई । जतिखेर पनि ती सुन्दरीको याद आउन थाल्यो । अर्को एक दिन अफिस छुटेर डेरा तिर जाँदै थिएँ, शृङ्गार पसलमा आँखा परे । आएर बसिदिए हुन्थ्यो जस्तो भावले उनले पसलबाटै नमस्ते सरभनिन् ।

जानु कहीँ थिएन, कार्यालय समयपछि फुर्सदै फुर्सद थियो मसँग । पसेँ, भलाकुसारी भयो, सन्चो बिसन्चो सोधियो, यस्तो लाग्थ्यो हामी वर्षौँ देखि चिनजानका थियौँ। कुरा गर्दै जाँदा थाहा भयो उनका श्रीमान् नेपाल पुलिसका असई थिए, तराईकै कुनै जिल्लामा गाउँ लुट्न आएका डाँकाहरूसँगको भिडन्तमा २८ वर्षकै उमेरमा मारिए । २५ वर्षको खाउन् खाउन् लाऊँ लाऊँ भन्ने उमेरमा सिउँदोको सिन्दूर खोसिएको रहेछ, सम्झनाको ।

श्रीमान् बित्दा छोरो पेटमा थियो, आज ५ वर्षको भैसकेको छ, नर्सरीमा पढ्छ ।श्रीमान्को तर्फबाट केही पैसा त आएछ तर घरमा मिलेर बस्न नसकेपछि उनी झरेकी रहिछिन्, डोटीबाट धनगढी । कस्तो चल्दै छ त बैनी पसल ?”

ठिकै छ सर, दिनको हजार रुपैयाँ जति नाफा बस्छ ।

ए राम्रै रहेछ त”  मैले भनेँ । ठिकै छ हजुरहरू जस्ता शुभचिन्तकको आशीर्वाद त हो । बोलीमा त्यत्तिकै नरमपना छ, मिठास छ, माधुर्य छ, रूप रङ्ग त्यस्तै छ । थुक्क विधाता ! मैले ईश्वरलाई धिक्कारेँ । श्रीमान् छैन, दुःख सुख साटेन साथी छैन, सम्झनासँग । मलाई चिमोटिरह्यो यो कुराले ।

सर घरबाट बनाएर ल्याएको खाजा छ खानु हुन्छ.... टक्र्याऊँ ?”के भन्नु .... के नभन्नु भयो । खाजा खाइयो, नजिकको कोल्ड स्टोरबाट चिसो मगाइन्, त्यो पिएँ । आनन्द आयो, तर मन भित्र दुःख गरेर कमाएकी केटीको पैसा खर्च गराएँ भन्ने लागिरह्यो । हिँड्ने बेलामा ल त बैनी म गएँ भने । ऊ पसलबाट निक्लेर आई, मलाई परसम्म गएको हेरिरही । यो कुराले मलाई हजार वाटको झट्का दियो । 

आउने जाने क्रम बाक्लिन थाल्यो, यो माया भन्ने कुरा पनि अचम्मको रहेछ । नदेख्दा सम्म को हो, को हो चिनेपछि माया मोह । तपाईँबाट म तिमीमा झरेँ, आँखा एक अर्कामा अडिएर बस्ने भए, नदेखेको दिन मोबाइलमा एसएमएस गरेर बित्न थाल्यो । हप्ताको एक दिन शनिवार उसको पसल बन्द, मेरो कार्यालय बन्द । सारा जीवन नै बन्द भए जस्तो लाग्न थाल्यो हरेक शनिवार । छोराछोरी, श्रीमती छन्, काठमाण्डौंमा । कहिले घर आउला भनेर कुरी बसेका छन्, यता म श्रीमान् भैखाको मायामा कैँची परेको छ । दुई धार सँगै छन् तर चलाउन पाएको छैन ।

उत्तिकै छ माया काठमाडौँको उत्तिकै छ, प्रीति धनगढीको । यसो गन्छु कतै कमी देख्दिन मायामा, श्रीमतीलाई सम्झन्छु बिचरी मेरो बाटो हेरेर बसेकी छ, रत्तीभर डगमगाएको छैन माया । यता सम्झनाको कुरा अर्कै छ । मलाई नदेखेको दिन नसुनेको दिन उ मर्नु न बाँच्नुमा पुग्छु भन्छे । हजुरको परिवार उजाड पार्नु छैन मलाई, हजुरसँग पोइल जानु छैन मलाई । मलाई सिर्फ तपाईँको मुस्कान र माया भए पुग्छ भन्छे, धनगढीवाली । उमेरले ४० टेक्दै छ मेरो, ३० टेक्दै छे ऊ, के हुन खोजेको हो ? मलाई नै थाहा छैन, कहाँ पुगिन्छ ? जे त पर्ला यसै उसै चलिरहेको छ भन्ने लाग्न थाल्यो ।

एक दिन फेरी छिरेँ पसलमा । हजुरलाई यो क्रिम, यो पाउडर, यो अत्तर, यो बडी स्प्रे, यो फेसियल स्क्रब, के....के..... हो के के को पोको थमाइन् उनले मलाई । यो के गरेको ? किन चाहियो मलाई यो सब ?”  “जिन भए पनि चाहियो, राख्नु नि” – उनले हक सहितको झैँ जिद्दी । मलाई हजुर ह्याण्डसम भएको देख्ने रहर छ ।त्यसैपनि रोमान्टिक बन्न मलाई कसैले सिकाउनु नपर्ने किन पछि पर्थे, “म यसै ह्याण्डसम छु नि ।” “त्यो त हो तर पनि लगाई त हेर्नु” – उनको पछि हट्ने छाँट थिएन। जान्न पनि त पर्‍यो कसरी लाउने, कहाँ लाउने, कहिले लगाउने ?” एउटा माकुरी जाल थापेँ मैले । ठिकै छ आउने शनिवार म हजुरलाई सिकाउँला।दिब तय भयो । अब मलाई शनिवार कहिले आउला जस्तो लाग्न थाल्यो । तीन दिन पछिको शनिवार तीन महिना जस्तो भयो ।

शुक्रवार मोबाइल बज्यो । खाजा खाने निम्तो आयो। त्यति भएपछि मलाई के चाहियो र सेकुवा सेट मगाइन् उनले... धनगढीमा खसीको सेकुवा प्रख्यात खाजामा पर्दोरहेछ । चिसो डिऊ सँग सेकुवाले पेटको भोक मेटायो । तर, यौनको भोक त बाँकी नै थियो, त्यो कसले मेटाइदिन्छ ? वाहियात कुरा आयो मनमा ।

श्रीमती छे भनेर चित्त बुझाएको छु म, बैसठ्ठी दिन भयो घर नगएको । मेरो कर्मै खोटो भनेर चित्त बुझाएकी छ, सम्झनाले । मलाई किन यस्तो हुन्छ? हजुर बिना बाँच्न सक्दिनँ जस्तो लाग्छकिन होलाउनले बडो गम्भीर मुद्रामा भनिन् । तिमी नै भन् मैले त्यस्तो के गरेको छु र तिमीलाई। मैले त झन् तिम्रो व्यापारमा डिस्टर्व मात्र गरिरहेको छु, आउँछु, खान्छु, खर्च गराउँछु” – मैले भनेँ । कृपया आइन्दा त्यस्तो कहिल्यै नसोच्नुहोला । हजुरलाई भेटे देखि मैले नयाँ जीवन पाएको अनुभव भएको छ । नयाँ उमङ्ग छ म मा, उत्साह छ, जाँगर बढेको छ । उडूँ उडँु लाग्छ मलाई ।एकै सासमा मन खोलिन्, “मलाई पनि माया गर्ने मान्छे रहिछन्, मेरो सानो सानो व्यक्तिगत इच्छा, आकाङ्क्षा, समस्या, दुःख र सुखमा यति धेरै चासो राखेर सुन्ने र प्रतिक्रिया दिने मान्छे जीवनमा मैले भेटेको छैन ।उ धारावाहिक बोल्न थाली । म तपाईँलाई धेरै माया गर्छु, सिर्फ माया बुझ्नु भो ?” मलाई डर डर लाग्न थाल्योकतै कुनै फसादमा पो परिने हो कि ! मेरो मनोदशा बुझे झैँ गरेर भन्न थालिन् – “हजुरले चिन्ता गर्नुपर्दैन, म हजुरको जीवनमा कुनै अप्ठ्यारो पार्ने छैन ।ठिकै छ, के नै बिगारेको छु र मैले भन्ने लाग्यो । भोलिपल्ट शनिवार उसकै डेरामा भेट्ने गरी बिदा भएँ म ।

 

सम्झनासँग हेलमेल भएको छ महिना भई सकेको थियो । रेस्टुरांमा खाजा खाने, पार्कमा बसेर गफ गर्ने अथवा उसकै पसलमा बसेर गफ गर्नु बाहेक ढोका थुनेर कोठामा कहिल्यै बसेका थिएनौँ, हामी । नौ बजे बिहानै पुगेँ म उसको डेरामा । एउटा किचन, एउटा बेड रुम, एट्याच बाथरुम सहितको सानो फ्ल्याट लिएकी रहिछन्, उनले । पाउडर दूधको मिठो चियाले स्वागत गरिन् मलाई । दायाँ बायाँ हेरेँ  बच्चा देखिएन ।

खोइ त बाबु ?” मैले सोधेँ । हिजै फुपू पर्ने कहाँ गएको छ, भोलि आउँछ ।मेरो रक्तचाप बढेर आए जस्तो भयो । खाना पकाउन सबै ठिक्क पारेकी रहिछिन् । म अचम्ममा परेँ, मेरा लागि भनेर नयाँ हाफ कट्टु किनेर ल्याए कि रहिछ, त्यो लगाउन दिइन् । हामी दुवैजना मिलेर खाना पकाऊँ ल” – उनले भनिन् ।

हजुर मसला पिँध्नु, म तरकारी ओइरिन्छु ।आहा ! मलाई पनि रोमाञ्चक बनायो वातावरणले । यस्तो लाग्थ्यो हामी श्रीमान् श्रीमती हौँ, कुनै अप्ठ्यारो थिएन, सङ्कोच थिएन । खाना पाक्यो, बेड  रुममा गइयो । आँखा जुधाउने खेल खेलौँ भनिन् । ल त ल”– म कस्सिएँ । उनले जितिन्, एक्कासि ग्वार्लाम्म अँगालो हालिन् मलाई । म के गर्नु, के नगर्नु भएँ । वर्षौँदेखि भेट नभएको श्रीमान् भेट हुँदा जस्तै अङ्ग अङ्गमा चुप्पा गरी उसले, मैले साथ दिएँ ।

भोलि काठमाण्डौं जान्छुमैले भनेँ उ झसङ्ग भई । किन ?” सानो तालिम परेको छ ।

 “कहिले आउने ?”“ १०१२ दिन पछि।

घर पुगेपछि मलाई फोन गर्ने कि नगर्ने ?”“ गर्ने ...बाबा... गर्ने।”  “त्यसो भए एउटा सम्झना दिएर जानु।” “के ? कति सम्झना दिनु अब ? यत्रो भेटघाट, यत्रो माया, यत्रो अँगालो, यति म्वाइँ यी सब के हुन त ? सम्झना नभएर यी के हुन् ? जाऊँ खाना खान।मैले चेपारे कुरा गरेँ । आँखा तरेर हेरी उसले । तर पार लागेन भनौँ वातावरणले दिएन । उता भान्छामा खाना चिसो हुँदै गइरहेको थियो । यता बेडमा दुई शरीर एकाकार भएर ताता हुँदै थिए ।

(यस कथाका लेखक थापा कृषि विकास बैंक काठमाडौँका विभागीय प्रमुख हुन् ।)

 

प्रतिक्रिया दिनुहोस