- दीपक ढकाल
पूर्वीय दर्शन र पश्चिमी दर्शनबिचको मूल फरक भनेको वस्तुप्रतिको हाम्रो दृष्टिकोण नै हो भन्दा फरक नपर्ला । मूलतः पूर्वीय चिन्तनले जहिले पनि अध्यात्मवादलाई प्रमुखता दियो र पश्चिमी चिन्तनले भौतिकवादलाई ।
अध्यात्मवादले आत्मालाई नै जीवन र जगतको मूलतत्व मान्छ र के कुरामा विश्वास गर्छ भने यो भौतिक जगत भनेको इश्वरीय शक्ति र गुणहरुको अभिव्यक्ति मात्र हो । सम्पूर्ण सत्य भनेको परमब्रह्म्म परमात्मा नै हो । अर्कोतर्फ भौतिकवादले जहिले पनि वस्तु (matter) लाई नै प्रकृतिको मूल तत्त्वको रूपमा मान्छ र हाम्रो सोच, विचार, चेतना यी सवै कुरा बस्तुहरूसँगको हाम्रो अन्तरक्रिया ले निर्धारण गर्दछ भन्ने मान्यता राख्दछ ।
भौतिकवादीहरूका लागि वस्तु नै सवै थोक हो । अझ उपभोक्तावादले त झन् अधिक वस्तुहरूको अधि पति हुन र बढी भन्दा बढी उपभोग गर्न उत्प्रेरित गरिरहेको हुन्छ ।
पूर्वीय दर्शनमा विश्वास गर्ने हामीजस्ता देशहरूमा शिक्षा पद्धतिमा भएको तथाकथित आधुनिकीकरणले हो वा अन्य कारणले हो - पश्चिमी दर्शनले सङ्क्रमण गर्दै गयो । भौतिकवाद हाबी हुँदै गयो र अध्यात्मवाद कमजोर । वस्तुप्रतिको आशक्ति बढ्यो । जसको जति धन छ उ नै समाजमा गन्यमान्यका रूपमा स्थापित हुने भयो, सर्वमान्य हुने भयो ।
अझ नेपाली समाजको चरित्र त झन् घर, गाडी, नगद र गहनाका वरिपरि बढी सीमित भए जस्तो लाग्छ । हामीले जीवनमा भागदौड गरेर जति कमाएपनि त्यसको उपयोग भनेको घर बनाउन, सवारी साधन खरिद गर्न, गहना जोड्न र बैङ्कमा राम्रो ब्यालेन्स कायम गर्नतर्फ मात्र सीमित भयो । आफूसँग धेरै सम्पत्ति छ भन्ने देखाउन घर पनि बढी भन्दा बढी आलिसान कसरी बनाउने, महँगा र नयाँ गाडी कसरी चढ्ने, महँगा विद्यालयमा केटाकेटी कसरी पढाउने, रीति थिति र भोज भतेरलाई कसरी भड्किलो पार्ने, महँगा र ब्रान्डेड कपडा लगाएर आफूलाई कसरी अलग देखाउने भन्ने जस्ता कुरामा हाम्रो प्रतिस्पर्धा चल्न थाल्यो । मात्रागत भिन्नता होला तर हामी सवैमा यो उपभोक्तावादले कुनै कुनै रूपमा जरा गाढेको छ ।
वस्तुप्रतिको यो आशक्ति हटाउन न त हामी तयार छौँ न त प्रयत्न नै गरेका छौँ । एक प्रकारको नशाका रूपमा यसले हामी सबैलाई गाँजेको छ । हामीले हाम्रो मूल दर्शनलाई विर्सिएका छौँ । तर, समय समयमा प्रकृतिले हामीलाई झस्काउन र सम्झाउन भने छाडेको छैन । महाभूकम्प गयो, सबैभन्दा अग्ला र आलिसान घरमा बस्नेहरू सडकमा अरूहरूसँगै सुत्न आइपुगे ।
दिनहरू बित्दै गए, मानिसहरूले त्यो कुरा बिर्सँदै गए । अहिले विश्वभर करोनाभाइरसका रूपमा महामारी फैलिएको छ । सबैभन्दा महँगा र अत्याधुनिक भनिएका गाडीहरू पनि ग्यारेजमा थन्किएका छन् । मान्छे सडकमा निस्कन पाएको छैन- सवैतिर लकडाउन छ । अर्थशास्त्रीहरुले अव विश्वमै ठुलो आर्थिक सङ्कट आउनसक्ने चेतावनी दिइरहेका छन् । त्यस्तो नहोस् तर भयो भने हामी सबैले थुपारेको त्यो नगद पनि कागजका खोस्टा भएर सडकभरि छरिन बेर छैन ।
अतः अति भौतिकवाद पनि आवश्यक छैन । यसको अर्थ भजन गाउँदै वैरागी भएर हिँड्ने भनेको पनि होइन । आवश्यक पर्यो भने त्यो पनि गरिएला । तर भौतिकवादलाई अँगाल्दै गर्दा आफ्नो मूल दर्शनलाई नबिर्सौँ । भागदौडमा सामेल त होऔँ तर अलि सचेत भएर भागौँ । अस्तु ।
प्रतिक्रिया दिनुहोस