aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

स्वास्थ्य सामग्री खरिद गर्न ओम्नी समूहसँग गरिएको सम्झौता रद्द, ५ करोड धरौटी जफत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ चैत्र २०७६
स्वास्थ्य सामग्री खरिद गर्न ओम्नी समूहसँग गरिएको सम्झौता रद्द, ५ करोड धरौटी जफत

काठमाडौं । सरकारले कोरोना उपचारमा आवश्यक स्वास्थ्य सामग्री ल्याउन ओम्नी समूहसँग गरिएको सम्झौता रद्द गरेको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी समूहसँग भएको सम्झौता रद्द गर्ने निर्णय भएको बताएका हुन् । 

स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग सम्झौता गरेको थियो । सरकारले सो कम्पनीको ५ करोड रुपैयाँ धरौटी पनि जफत गरेको विभागका महानिर्देशक श्रेष्ठले बताए।

‘सो कम्पनीको धरौटी जफत गरी कालोसूचीमा राख्ने प्रक्रिया अघि बढिसक्यो,’ महानिर्देशक श्रेष्ठले नियमित पत्रकार सम्मेलनमा भने, ‘उसले निर्धारित समयमा भने बमोजिम सामान ल्याउन सकेन।’ उनका अनुसार ओम्नीले  निर्धारित समयमा १० प्रतिशत मात्रै सामना ल्याएको छ । 

यसैबीच, स्वास्थ्य मन्त्रालयले खरिद गरेको मेडिकल सामग्रीहरूबारे फेरि अर्को विवाद शुरु भएको थियो । वाणिज्य आपूर्ति विभागका महानिर्देशक नेत्रप्रसाद सुबेदीले आर्थिक न्युजसँगको कुराकानीमा समेत आपूर्ति कर्ता ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल कम्पनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा दर्ता नै नभएको स्पष्ट पारेका थिए । 
 
यसरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा दर्ता नभएका कम्पनीले विदेशबाट माल वस्तु आयात गर्ने यस प्रकारका टेन्डरहरूमा सहभागी नै हुन नपाउने समेत उनले बताए ।  

उक्त कम्पनी वारेमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट समेत कम्पनी रजिष्ट्रारको कार्यालयले विस्तुत विवरण पठाउन भनिएको थियो । यो कम्पनीको दर्ताको विषय सतहमा आएसँगै प्रधानमन्त्री कार्यालयले समेत ओम्नी बिजनेस इन्टरनेसनलको दर्ताको विषयमा चासो देखाएको थियो । 

स्मरण रहोस्, स्वास्थ्य मन्त्रालयले यी वस्तुहरू खरिद गर्दा व्यापक अनियमितता भएको भन्ने आरोप सुरु देखि नै लाग्दै आएको छ । स्वास्थ्य मन्त्रालयले भने यसमा कुनै प्रकारको अनियमितता नभएको दाबी गरिरहेको छ । पछिल्लो खुलासासँगै मन्त्रालय सो निर्णय रद्द गर्ने निष्कर्षमा पुगेको अनुमान गर्न सकिन्छ । 

स्वास्थ्य मन्त्रालयले समान खरिद गरेको कम्पनी दर्ता नै नभएको खुलासा, प्रधानमन्त्री कार्यालयले बढायो चासो

किन संयमता गुमाउँदै छ स्वास्थ्य मन्त्रालय ?

स्वास्थ्यमन्त्री ज्यू, कमिसनको चक्करमा लागेर कसरी जितिएला “वर्ल्ड वार सी” ?

मेडिकल किट डोनेट गर्न गएकालाई स्वास्थ्य सचिवले किन गाली गरे ?

प्रतिक्रिया दिनुहोस