aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

के इटालीले “को आफ्नो, को पराई” चिन्यो होला त ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ चैत्र २०७६
के इटालीले “को आफ्नो, को पराई” चिन्यो होला त ?

इटालीमा मार्च महिना सम्ममा साढे १२ हजार जनाले कोरोना भाइरसको कारण ज्यान गुमाइसके । एक लाख ५ हजार जना भन्दा बढी सङ्क्रमित भइसकेका छन् । मानिसहरू के आशङ्का गर्दै छन् भने त्यहाँ सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्या सार्वजनिक भएभन्दा धेरै नै बढी हुनसक्छ ।

यहाँ चर्चा गर्न खोजिएको विषय भने अर्कै हो । विश्व साम्राज्यवाद र आर्थिक उदारवादको वकालत गर्ने मुलुकहरूले यो विपदमा इटालीलाई साथ दिए वा दिएनन् ? उदारवादी विश्व नीति अर्थात् पारस्परिक सहयोगबाट मात्र सबै समस्याको हल गर्न सकिन्छ भन्ने दृष्टिकोण राख्ने युरोपेली युनियन र नेटोका सदस्य राष्ट्रहरूले इटालीलाई सहयोग गर्ने सन्दर्भमा देखेको उदासीनताको विश्लेषण अहिले आवश्यक देखिएको छ ।

इजरायलले इटालीको मिलान सहर लाई आपत्कालीन सहयोग गर्‍यो । तर, त्यो सहायता त्यहाँ रहेका यहुदीको लागि मात्र थियो । टर्की, नेटोको एक सदस्य राष्ट्र, प्रति हप्ता ५० मिलियन मास्क उत्पादन गर्ने क्षमता राख्छ तर उसले इटालीले लागी सौदा गरिसकेको २ लाख थान मास्क समेत बिक्री नगर्ने निर्णय गर्‍यो र दिएन । इटालीका प्रधानमन्त्रीले त्यहाँका राष्ट्रपतिलाई सो मास्क डेलिभरी गर्न अनुरोध समेत गरे तर आखिर इटालीको रोदनमा टर्की थोरैपनी पग्लेन ।

युरोपमा धेरै त्यस्ता अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू छन् जो मानव अधिकारवादीको रूपमा काम गर्छन् । अमेरिकी चाहना र ब्रसेल्सको योजनामा चल्ने ती संस्थाहरूले समेत इटालीका ती मानिसहरूको गुहार सुनेन जसले त्यहाँ रहेका अवैधानिक आप्रवासीको व्यवस्थापनको लागि अनुनय गरिरहेका थिए । कोरोनाको केन्द्र बनेको उत्तरी र मध्य इटालीमा ठुलो मानवीय सङ्कट देखा पर्‍यो तर पुरै युरोप ती सबै घटना प्रति बेखबर झैँ देखियो । ती पिडामा परेका मानिसको बारे किन ती मानवाधिकारबादी मौन बसे ? मानवीय सहयोगको हात त्यहाँ नफैलाइनुको कारण के हो ? यो प्रश्नको जवाफ अहिले इटालीका नागरिक र त्यहाँको सरकार दुवैले खोजिरहेका छन् ।

इटाली यो महामारीको समयमा यती निरीह बन्यो कि फ्रान्स र जर्मनी जस्ता युरोपका ठुला उत्पादकहरूले समेत आफ्ना मेडिकल उत्पादन निर्यातमा रोक लगाइदिए । आफूसँग भएको भौतिक पूर्वाधारले नधानेको बेला यसरी इयुकै सदस्य राष्ट्रहरूले अर्कोतिर मुख फर्काउलान् भन्ने शायद इटालीले कहिलेपनी कल्पना गरेको थिएन । तर, त्यो यथार्थता पनि यसबिच इटालीले भोग्यो ।

इटाली अहिले आफ्नो विगत सम्झेर पछुताउँदै छ । युरोपेली युनियनको सदस्य बन्न अपनाउनै पर्ने आर्थिक उदारीकरणको नीतिमा इटाली गयो । जसले गर्दा इटालीको आफ्नो आर्थिक स्वतन्त्रता पूर्णपुरमा समाप्त भयो भने तिनै फ्रान्स र जर्मनीका उत्पादनले त्यहाँका कतिपय उद्योग समेत बन्द हुन पुगे तर जब इटालीलाई आवश्यक पर्‍यो उसले किन्न समेत पाएन । आखिर इटाली सहज बेलाको बजार मात्र बन्यो । 

यसबिच इटालीमा भएका कतिपय मत सर्वेक्षणले के देखाएको छ भने अहिले ६७ प्रतिशत इटालीका नागरिक अब इटाली युरोपेली युनियनबाट बाहिरिनु पर्छ भन्ने मान्यता राख्छन् । इयु प्रतिको यो नकारात्मकता यो सङ्कटमा इयुले केखेको आफ्नो असली रूप हो । आखिर इयु निर्माणको स्वार्थ भनेको फ्रान्स र जर्मनीको लागि बजार सुरक्षित गर्नु मात्र रहेछ भन्ने सत्य अहिले उजागर भएको छ ।

उता, चीनले भने यो बेला इटालीलाई मात्र नभएर पुरा युरोपलाई नै सहयोग गर्दै आएको छ । उता पश्चिमबाट विशेष गरी अमेरिकाबाट भने यो सहयोगबारे समेत अनेकौँ टिप्पणी भइरहेको छ । उनीहरू यो मौका छोपेर चीन र रसियाले मानवीय सहायताको नाममा प्रोपोगान्डा मात्र गरेको भन्दै छन् । त्यति मात्र होइन चीनले पठाएका र बिक्रिगरेका कतिपय स्वास्थ्य सामग्रीको गुणस्तरका विषयमा समेत चाहिँदो/नचाहिँदो हल्ला र भ्रम फैलाउन इयुका ठालुहरू र अमेरिकनहरू सक्रिय देखिएका छन् ।

चीनले इटालीमा डाक्टर, नर्स र मेडिकल उपकरण पठाएर सहयोग गरेको छ । नेदरल्यान्डलाई ८ लाख थान मास्क, ग्रिसलाई ५ लाख थान मास्क सहयोग गरेको छ । चिनियाँहरू अहिले विश्वभर अभाव नहोस् भन्दै चौबिसै घण्टा भेन्टिलेटर उत्पादनमा जुटेका छन् । उता अमेरिका भने आफूलाई मात्र समान उत्पादन गर्दैछ । त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले जेनेरल मोटर्सलाई अमेरिकोको लागी भेन्टिलेटर बनाउन र गाडीको उत्पादन रोक्न आदेश दिए । 

यो बेला वुहानमा खटेका आफ्ना अनुभवी डाक्टर पठाएर चीनले इटालीलाई सहयोग मात्र गरेको छैन कि रोमन सभ्यताको यो केन्द्रलाई इतिहास कै एक ठुलो संकटबाट बाहिर निकाल्न चीन आफ्ना सबै प्रयत्नहरू गरिरहेको छ । त्यो सभ्यताको सम्मानमा चीन जति गम्भीर देखियो त्यति विश्वका अरू कुनै मुलुक देखिएनन् ।

अमेरिका र ब्रसेल्समा हेडक्वार्टर भएका उसका मतियार मुलुकहरूले नाकाबन्दी लगाएर दुख दिइरहेका रसिया, भेनेजुएला र क्युबाले यो बेला इटालीलाई सहयोग गरिरहेका छन् । इसापुर्व ४ मा हाल कोरोनाको चपेटामा परेका स्पेनमा जन्मिएर ६५ मा इटालीमा मृत्युवरण गरेका दार्शनिक लुसिउस अन्नयूस सेनेकाले त्यो बेला भनेको, “हामी एकै समुन्द्रका छालहरू, उही रुखका पातहरू र एउटै बगैँचाका फूलहरू हौँ” भन्ने कुरा चीनले बुझ्यो, दुई हजार वर्ष पछि पनि सम्झ्यो तर त्यहीँका छिमेकीहरूले त्यो याद गरेनन् ।

जे होस्, इटालीले आफ्ना इयुका ‘मित्र राष्ट्र’ लाई चिन्ने राम्रो अवसर पायो । वास्तवमा को मित्र हो र को होइन भन्ने पक्कै पनि इटालीले चिन्यो । आर्थिक उदारवाद कति हदसम्म  स्वार्थी हुँदो रहेछ भन्ने अवश्य पनि बुझ्यो । अब हेर्न बाँकी यो छ की इटालीले इसुका ती बजार प्रेमी मित्रहरूलाई माफ गर्छ या के गर्छ ? अर्थात् इयुबाट बाहिरिने निर्णयमा पुगेर आफ्नै खालको मौलिक, स्वाधीन र भूगोल सुहाउँदो अर्थव्यवस्था अँगाल्ने दिशामा अघि बढ्छ या बढ्दैन ?

(अन्तराष्ट्रिय समाचार संस्थाहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस