aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

कोरोनाबाट बच्न स्थानीय सरकारको चिठ्ठी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० चैत्र २०७६
कोरोनाबाट बच्न स्थानीय सरकारको चिठ्ठी

बैतडी । बैतडीको सुर्नया गाउँपालिकामा कोरोना भाइरस रोकथाम तथा बच्नका लागि प्रत्येकको घरमा चिठ्ठी दिइने भएको छ । गाउँपालिकाको वडा नं ३ मा रहेको कोरोना नियन्त्रण तथा समन्वय समितिले यस्तो निर्णय गरेको हो ।
 
समन्वय समितिका संयोजक तथा गाउँपालिका–३ का वडाअध्यक्ष दिलाराम भट्टका अनुसार वडाभित्र रहेका सम्पूर्ण घरपरिवारलाई कारेनाबाट बच्ने उपायका बारेमा सचेतनामूलक चिठ्ठी पठाइने भएको हो । 

बुधबार बसेको समन्वय समितिको बैठकले बिहीबारदेखि घरदैलो कार्यक्रम गर्दै प्रत्येक घरमा चिठ्ठीका साथै साबुन पनि दिइने निर्णय गरेको उनले बताए । घरदैलोसँगै भारत तथा अन्य मुलुकबाट आएका नागरिक, अति विपन्न, ज्याला मजदुरी गर्ने तथा बेसहाराको तथ्याङ्क सङ्कलनको काम पनि हुने जनाईएको छ । 

बुधबार वडा नं ३ का सात ओटै टोलका १४ परिचालकलाई चिठ्ठी र साबुन वितरण गर्न ४५० चिठ्ठी तथा ४५० साबुन वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष लिला बिष्टले बताए । कार्यक्रममार्फत वडा कार्यालयले भारत तथा अन्य मुलुकबाट आएका नागरिकलाई अनिवार्यरूपमा क्वारेन्टाइनमा बस्न अनुरोधसमेत गरेको छ ।

कीटनाशक औषधि छर्कने कार्य जारी 

कोरोनाको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा कीटनाशक औषधि छर्कने कार्य जारी रहेको छ । जिल्लाका मुख्य बजारहरुमा कीटनाशक औषधि छर्कने कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

क्लोरिनमा पानी मिसाएर दमकलको सहायताले औषधि छर्कने काम भइरहेको छ । जिल्ला प्रशासनको अगुवाइमा सञ्चालन भएको औषधि छर्कने कार्यमा दशरथचन्द नगरपालिका र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले सहयोग गरेका छन् । 

यस्तै पाटन नगरपालिकाले पनि पाटन बजार क्षेत्रमा कीटनाशक औषधि छर्केको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि गाउँपालिकाका बजार क्षेत्रमा कीटनाशक औषधि छर्केको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस