
काठमाडौं । कोरोना उपचारका लागि चीनबाट सामान ल्याउन ओम्नी कम्पनीलाई दिइएको ठेक्का सम्झौतामा भ्रष्टाचार गरेको भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार उपप्रधान तथा रक्षा मन्त्री पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ अनि ओम्नी ग्रुपका सञ्चालकविरूद्ध उजुरी दिएका हुन् ।
उजुरीमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र स्वास्थ्य सेवा बिभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र र ओम्नी बिजनेस समूहका सञ्चालकलाई समेत कारवाहीको माग गरिएको छ ।
प्रमाण नष्ट हुने भएकाले उपप्रधान तथा रक्षा मन्त्री पोखरेललाई तत्कालै हिरासतमा लिएर मुद्दा दायर गर्न उजुरीमा माग गरिएको छ । बजार मूल्यभन्दा महँगोमा खरिद गरेको, गुणस्तरहीन र मापदण्डमा नपरेका किट खरिद भएको अनि सेटिङका आधारमा खरिद गरेर भ्रष्टाचार गरेको आरोप लगाएर त्रिपाठीले मुद्दा दर्ता गरेका हुन ।
बुधबार विवेकशील नेपाली दलका प्रदेश सभा सदस्य रमेश पौडेलले पनि यही ठेक्का सम्झौतामा स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरूद्ध अख्तियारमा उजुरी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस