
गत सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसियाका प्रधानमन्त्री भ्लादिमिर पुटिनलाई फोन गरे । सञ्चार माध्यमहरूमा यस्ता शीर्षकमा समाचार आए- कोरोना भाइरसको विषयमा ट्रम्प र पुटिनबिच संवाद ।
तर, खासमा त्यो टेलिफोन वार्तामा कोरोना भन्दा पनि तेलको विषयमा धेरै कुरा भएको बताइन्छ । ट्रम्पलाई तेलको घट्दो मूल्यका कारण अमेरिकाको सेल आयल इन्डस्ट्रीलाई परेको समस्याले धेरै सताएको थियो न कि कोरोनाको बढ्दो प्रकोपले ।
यसले के देखाएको छ भने अमेरिकी राष्ट्रपति अहिले पनि अमेरिकी जनताको भन्दा त्यहाँका व्यापारी र उद्योगी कै बढी चिन्ता गरिरहेका छन् । ग्लोबल रिसर्चमा प्रकाशित समाचार अनुसार केही बेर कोरोनाको विषयमा कुरा गरेपछि ट्रम्पले सिधै विषयलाई तेलको मूल्य तर्फ मोडेका थिए ।
अघिल्लो महिनादेखि साउदी अरब र रसिया बिच तेलको मूल्यमा देखिएको रस्साकस्सी जारी छ । साउदीले तेल उत्पादनमा कटौती गर्न गरेको अनुरोध रसियाले स्वीकार गरेन । परिणामतः कच्चा तेलको मूल्य १८ वर्ष कै सर्वाधिक कम २० डलर प्रति व्यारेल झर्यो । त्यसको असर कहाँ पर्यो भने यो मूल्यमा तेल बिक्री गर्दा अमेरिकन तेल उत्पादन कम्पनीहरू टिक्न नै सक्दैनन् ।
अमेरिकन तेल कम्पनीहरूमा त्यहाँका ठुला बैंकहरुले निकै नै लगानी गरेका छन् । यसरी सेल आयल उत्पादक कम्पनीहरू डुब्दा त्यसको प्रत्यक्ष असर ट्रम्पलाई पर्छ । किनकि सन् २०१४ मा कुनै सतहमा आएको केहीपछि नै यस्ता कम्पनीहरू खोल्न प्रेरित गरेका हुन् । त्यति मात्र होइन वाल स्ट्रिटले यदि ती कम्पनीहरू घाटामा जाँदा ठुला बैंकहरुको शेयर मूल्यमा समेत भारी गिरावट आउने चेतावनी दिएपछि ट्रम्पले बाध्य भएर पुटिनलाई फोन गरेका हुन् । सो फोन कलमार्फत तेलको मूल्य बढाउने कुरामा पुटिनलाई मनाउने ट्रम्पको योजना थियो ।
तर विश्वले नै के सम्झिरहेको छ भने युक्रेनको विषयलाई लिएर ट्रम्प प्रशासनले रसिया विरुद्ध आर्थिक नाकाबन्दी गर्दा पुटिन अनौठो गरी मौन बसेका थिए । रसियन राष्ट्रपतिले वासिङ्टनले सिरियामा गरेको हस्तक्षेप र जर्मनी तथा बुल्गेरियामा जाने पाइपलाइन बन्द गर्न गरिएका प्रयास लगायत सबैमा मौनता साँधेका थिए ।
अहिले परिवेश बदलिएको छ । अमेरिकन व्यापारीहरूका स्वार्थहरू जोखिममा परेका छन् । त्यसैले ट्रम्प मस्कोले सहयोग गरोस् र आफ्ना उद्योगहरू बचाईदेओस् भन्ने आग्रह गर्न बाध्य भएका हुन् ।
अमेरिकाको यो निरीह अवस्था र ट्रम्पको बाध्यात्मक फोन कलबारे अमेरिकी सञ्चार माध्यमहरूमा कुनै समाचारहरू आएनन् । आओस् पनि कसरी ? उनै ट्रम्पले भन्ने गरेका “दुष्ट” सँग अमेरिकी राष्ट्रपतिले याचना गरेको घटना थियो, यो ।
उता रसियाको सरकारी सञ्चार माध्यम तासले सो फोन कललाई तीन वटा वाक्यमा समेटेर संक्षिप्त समाचार सार्वजनिक गर्यो । जुन यस प्रकार छ:
“दुई राष्ट्रपतिहरूले विश्व तेल बजारको वर्तमान अवस्थाबारे पनि छलफल गरे । रसिया र अमेरिकाको ऊर्जा विभाग प्रमुखहरू बिचमा यस विषयमा परामर्श गर्ने गरी एउटा संयन्त्र विकास गरिएको छ । क्रेमलिनले भनेको छ, भ्लादिमीर पुटिन र डोनाल्ड ट्रम्प निरन्तर व्यक्तिगत सम्पर्कमा रहने सहमति गरेका छन् । ”
यसले स्पष्ट पार्छ की अमेरिकन सञ्चार माध्यमहरूले कति तथ्यपूर्ण सूचनाहरू सम्प्रेषण गरिरहेका थिए । उनीहरू विगत तीन वर्षौँदेखि लगातार रूपमा हरेक कुरामा रसियाले अनावश्यक चासो राखेको भन्ने शीर्षकसहित समाचारहरू प्रकाशित गरिरहेका थिए । आखिर, अमेरिकी राष्ट्रपति आफ्ना सर्वाधिक चर्चित शत्रुलाई फोन गर्न बाध्य भए ।
यस बेला अर्को स्मरण योग्य कुरा के छ भने ट्रम्प तिनै व्यक्ति हुन्, जसले सन् २०१८ मा हेल्सिन्कीमा एउटा सम्बोधनका क्रममा ‘पुटिनले तेलको मूल्य बढाएको’ भन्दै सत्तोसराप गरेका थिए । त्यो बेला कच्चा तेलको मूल्य प्रति व्यारेल ८५ डलर पुगेको थियो । अनि अमेरिकामा तेल महँगो भएको भन्दै त्यहाँका उद्योगीहरू असन्तुष्टि पोखिरहेका थिए ।
अर्को के कुरामा अचम्म मान्नु पर्दैन भने ट्रम्पले त्यो बेला पुटिनलाई दोष लगाउनु नै पनि गल्ती थियो । किनकि तेलको मूल्य वृद्धि हुनुमा पुटिनको कुनै हात थिएन । बरु ट्रम्प प्रशासनले इरान र भेनेजुएलामाथि लगाएको प्रतिबन्धका कारण तेल उत्पादनमा भारी गिरावट हुँदा मूल्य वृद्धि भएको थियो । लिबियामाथिको आक्रमणलाई अमेरिकाले सहयोग गरेका कारण पनि त्यो स्थिति सिर्जना भएको थियो ।
वास्तवमा भन्ने हो भने न सन् २०१८ को मूल्य वृद्धिमा रसियाको दोष थियो न अहिले देखिएको गिरावटमा नै उसको कुनै भूमिका छ । बरु अहिलेको अवस्थाका लागि साउदी अरब बढी दोषी छ । किनभने तेलको उत्पादन बढाएको साउदीले हो । रसियाले होईन ।
तर, यसको अर्थ यो होइन कि पुटिन अहिलेको स्थितिलाई ठिक ट्रयाकमा ल्याउन भूमिका खेल्नै सक्दैनन् । पुटिनले चाहे भने तेलको मूल्य बढ्न सक्छ तर त्यसका लागि यी दुई राष्ट्रपतिबिच रचनात्मक सहकार्यको जरुरी हुन्छ । उनीहरू बिचको शिखर वार्ताले राम्रो परिणाम दिन सक्छ तर समस्या के छ भने ट्रम्प नेतृत्वको अमेरिकी विदेश नीतिले यस्ता सहकार्यको कल्पना नै गर्न सक्दैन ।
के त्यसो भए रसियामाथि लगाइएको आर्थिक नाकाबन्दी हटाउने सर्तमा पुटिनले रसियाको तेल उत्पादनमा कटौती गर्लान् त ? त्यो सम्भावना देखिँदैन । किनभने, पुटिन वासिङ्टन अझ धेरै लचक बनेको र युद्ध, महामारी, आणविक निःशस्त्रीकरण र सुरक्षाको विषयमा एउटै मञ्चमा अमेरिकासँग छलफल होस् भन्ने चाहन्छन् ।
रसियाका पछिल्ला गतिविधि हेर्दा लाग्छ पुटिन अमेरिकालाई एउटा त्यस्तो साझेदारको रूपमा हेर्न चाहन्छन् जसले अन्तर्राष्ट्रिय कानुन मानोस्, विधि र विधानमा चलोस्, कुनै मुलुकको सत्ता गिराउन घिनलाग्दो खेल नखेलोस्, प्रत्येक राष्ट्रको सार्वभौमिकताको सम्मान गरोस् र विश्वव्यापी समस्याको समाधानका लागि हात बढाओस् ।
निष्कर्षमा के भन्न सकिन्छ भने पुटिन अरूका पनि स्वार्थको सम्मान गर्ने, आपसी महत्त्वका विषयमा सहकार्य गर्ने र विश्वको समतापूर्ण समृद्धिका लागि हातेमालो गर्ने सहकर्मी चाहन्छन् । त्यसका लागि ट्रम्पले आफ्ना सबै नीति र व्यवहार पविर्तन गर्नुपर्छ । एक्लै हिँड्ने अमेरिकी नीति त्याग्नु पर्छ । यदि अमेरिकाले यस्तो नीति अङ्गाल्यो भने उ विश्व राजनीतिमा सबैको तारो बन्ने छैन । यसरी झुकेर शत्रु करार गरेको अर्को देशको राष्ट्रपतिसँग याचना गर्नु पर्ने अवस्थामा पटक पटक पुग्ने छैन ।
प्रतिक्रिया दिनुहोस