aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

५० करोडको कोरोना कोष डेढ अर्बभन्दा ठूलो बन्यो, कसले कति गरे सहयोग ? (सूचीसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ चैत्र २०७६
५० करोडको कोरोना कोष डेढ अर्बभन्दा ठूलो बन्यो, कसले कति गरे सहयोग ?  (सूचीसहित)

काठमाडौं । कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि सहयोग जुटाउन भन्दै गठन भएको कोष डेढ अर्बभन्दा ठूलो बनेको छ । नेपाल सरकारले गठन गरेको उक्त कोषमा बिहीबार एकैदिन ८४ करोड ५१ लाख ५० हजार रुपैंया सहयोग जम्मा भएसँगै कोषको आकार १ अर्ब ५९ करोड लाख पुगेको हो । बुधबारसम्म यस्तो सहयोग रकम २४ करोड ७३ लाख ७२ हजार रुपैंयामा सीमित थियो । बिहीबार उक्त सहयोग रकम जम्मा भएसँगै कुल सहयोग १ अर्ब ९ करोड पुगेको छ । 

उक्त कोषमा बिहीबारमात्रै १७ वटा संस्थाहरुले सहयोग रकम जम्मा गरेका थिए । सोमध्ये सबैभन्दा बढी सहयोग नेपाल आयल निगमले गरेको छ । निगमले ५० करोड रुपैंयाको चेक प्रधामन्त्री कार्यालयको खातामा जम्मा गरेको हो । 

त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणले १५ करोड रुपैंया जम्मा गर्दा नेपाल स्टक एक्सचेञ्जले ३ करोड ५१ लाख रुपैंया, नेपाल धितोपत्र बोर्ड, कर्मचारी सञ्चयकोष र निक्षेप तथा कर्जा सुरक्षण कोषले ३/३ करोड रुपैंया र नागरिक लगानी कोषले २ करोड रुपैंया सहयोग गरेका छन् । 

नेपाल पुनर्बीमा कम्पनीले १ करोड १ लाख, एनएमबि बैंकले १ करोड ५१ लाख रुपैंया, प्रभु बैंकले १ करोड १ लाख रुपैंया, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड रुपैंया, सीडीएस एण्ड क्लियरिङ लिमिटेडले ३५ लाख रुपैंया, नेपाल फ्रेइट एण्ड फर्वाडर्स एशोसिएसनले ७ लाख रुपैंया जम्मा गरेका छन् । 

सिटिजन्स बैंकले १ लाख रुपैंया, विश्वम्भर घिमिरेले १ लाख रुपैंया, मीना बस्नेत र माधव कुमार बस्नेतको संयुक्त नाममा ५० हजार रुपैंया सहयोग रकम जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । 

त्यसबाहेक २ लाख ८२ हजार ९ सय १२ रुपैंया जम्मा भएको छ । त्यस्तो रकम जम्मा गर्नेको नाम नखुलेको समेत कार्यालयले जनाएको छ ।

बुधबारसम्म २४ करोड जम्मा गर्नेहरुको विस्तृत विवरण भने उल्लेख गरिएको छैन । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो कोष स्थापना गरेको हो । सो कोषमा सरकारले ५० करोड रुपैंया हालेको थियो भने संघीय सरकारका मन्त्रीहरुको १/१ महिनाको तलब समेत कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । त्यस्तै, निजामति कर्मचारीहरुबाट अनिवार्य रुपमा कोषमा सहयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । 

अहिले त्यो कोषमा सहयोगको ओइरो लागेको छ । बिहीबार मात्रै २२ वटा वाणिज्य बैंकहरुले २५ करोड ४० लाख रुपैंया सहयोग गर्ने घोषणा गरिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस