aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भरतपुर अस्पतालमा युवतीको मृत्यु, स्वाब परीक्षण गरिँदै

  • रासस
    रासस
  • शुक्रबार, २१ चैत्र २०७६
भरतपुर अस्पतालमा युवतीको मृत्यु, स्वाब परीक्षण गरिँदै

चितवन । भरतपुर अस्पतालमा आज (शुक्रबार) बिहान मृत्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ । परीक्षणको नतिजा नआएसम्म मृत शरीरलाई  छुट्टै सुरक्षित राखिएको छ । परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइनेछ ।
 
अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । 

राति १२ बजे अस्पताल ल्याइएका राईको सघन उपचारकक्षमा उपचारकै क्रममा बिहान २ बजे मृत्यु भएको हो । अधिकारीले उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिने बताए ।
 
युवतीको मृत्युको कारणबारे नतिजा आएपछि थाहा हुने भएकाले उच्च सावधानी अपनाइएको उनले जानकारी दिए । कोरोना भाइरसको त्रास भएकाले ज्वरो आएका बिरामीको उपचारमा विशेष सतर्कता अपनाइएको छ । 

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सिन्धुलीको हरिहरपुर गाउँपालिका–२ की राईलाई हेटौँडा अस्पतालले राति थप उपचारका लागि भरतपुर अस्पताल पठाएको हो । 

अस्पतालमा हरेक महिना विभिन्न कारणबाट ५० देखि ५५ जनाको मृत्यु हुने गरेको उनले जानकारी दिए । यद्यपि ज्वरोका बिरामीको उपचारका क्रममा मृत्यु भएमा स्वाब परीक्षण गर्न थालिएको हो । 
 

प्रतिक्रिया दिनुहोस