
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्य सामग्री सेनाले खरिद गर्दा अख्तियारले छानविन गर्दैन भन्ने मानसिकतामा सरकार देखिएको बताएका छन् । शुक्रवार विहान सामाजिक सञ्जाल फेसबुक लाईभ मार्फत नेता पौडेलले भ्रष्टाचारमा जो सुकै भएपनि तत्काल छानविन गरी कारवाहीको दायरामा ल्याउन माग गरेका हुन् ।
उनले स्वास्थ्य सामग्री खरिदमा सरकारमा रहेका मन्त्रीहरु जी टु जी मार्फत खरिद सम्भव नहुने बताउने तर मन्त्रीपरिषदले त्यही निर्णय गरेर आम मान्छेमा दुविधा बनाएको बताए । उनले यो सबै दुविधा कतै स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार ढाकछोपका लागि त होइन भन्ने शंका समेत व्यक्त गरे ।
संकटको बेलामा स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण भन्दै पौडेलले चीनमा कोरोनाको संक्रमण देखिएकै अवस्थाबाट किन सरकारले प्रयाप्त तयारीमा नलागेको भनि प्रश्न गरे ।
पौडेलले भ्रष्टाचारका कारण सरकारमा जनताप्रतिको सेवाभाव हराएको बताउदै भ्रष्टाचारबाट पैसा जम्मा गरेर त्यही पैसाका भरमा चुुनाव कब्जा गर्ने मनोवृति देखिएको समेत बताए । वरिष्ठ नेता पौडेलले कोरोनाको संक्रमणले संघीयताको औचित्य पुष्टि भएको बताए । उनले स्थानीय तहले संकटका बेलामा देखाएको कामले संघीयता र स्थानीय तहको अधिकार आवश्यक थियो भन्ने पुष्टि भएको बताए ।
उनले स्थानीय तहले क्वारेन्टाइन बनाउने देखि गरिब विपन्नलाई राहत दिने जस्ता काम स्थानीय तहले गरेकोमा प्रशंसा समेत गरे । पौडेलले स्थानीय तहमा जनप्रतिनीधिलाई प्रशिक्षित बनाउन सकेको भए संकटका बेलामा अझै क्षामता देखाउन सक्ने पनि स्पष्ट पारे । पौडेलले राज्यले केहि राम्रा काम गरेको भएपनि प्रयाप्त काम गर्न नसकेको भन्दै असंतुष्टी जनाए । उनले राज्यको भूमिका बारेमा सरकारमा बसेकाहरुले नजरअन्दाज गरेको बताउदै संकटका बेलामा राज्यको भूमिका खड्किएको आम नागरिकले महशुस गरेको बताए ।
पौडेलले कोरोना भाइरसको संक्रमणबाट नेपालमा आतिनुपर्ने अवस्था नभएको भन्दै संयमित भएर आत्माविश्वास बढाएर सरकारले जारी गरेको लकडाउनलाई विवेकपूर्ण उपयोग गर्न आम नागरिकलाई आपिल गरे । पौडेलले कोरोना भाइरसका कारण विश्वमा वजारीकरणका कारण हराउदै गएको मानवियता र वातावरण विरोधी कामको समिक्षा गर्नुपर्ने बेला आएको पनि बताए ।
उनले विश्वलाई वजारीकरणका कारण गुमाउदै गएको मानव मानव बीचको सदभाव र मानवियता देखाउने अवसर मिलेको पनि बताए । उनले अब विश्वले विकासको मोडेल पनि परिवर्तन गर्नुपर्ने बताए । विकासको मोडेल परिवर्तन गरि प्रकृति मैत्री विकासको मोडेललाई आगाडि बढाउन विश्व लाग्नुपर्ने पौडेलको भनाई छ ।
प्रतिक्रिया दिनुहोस