
सन् १९१८ मा फैलिएको महामारी जसले पहिलो विश्व युद्धले भन्दा बढी मानिसहरूको ज्यान लियो । त्यो भन्दापछि देखा परेको मानव जातिका लागि सबैभन्दा चुनौतीपूर्ण महामारी हो, कोभिड- १९ । तर, अझैसम्म पनि विश्वका सर्वाधिक ठुलो अर्थतन्त्र भएका अमेरिका र चीन बिच यो संकटबाट विश्वलाई कसरी बाहिर निकाल्ने भन्ने विषयमा सहकार्य नै सुरु भएको छैन ।
चीनका राष्ट्रपति सी जिङपिङ र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुका दिनहरूमा यसको फैलावटलाई त्यति वास्ता गरेनन् । चीनले आफ्नो एउटा प्रान्तबाट अरू तिर नफैलिओस् भनेर आवश्यक काम त गर्यो तर विश्वभरि यो कुन गतिमा फैलन सक्ला भन्ने कुराको अन्दाज गर्न सकेन ।
उता अमेरिकाका राष्ट्रपति ट्रम्पले भने कोरोना सङ्क्रमण रोक्नका लागि सक्रिय बन्नु पर्ने समय चीनलाई दोष लगाउनमा र खेलाचिपुर्ण अभिव्यक्ति दिनमा नै खर्च गरे । एक जिम्मेवार विश्व नेताले जुन रूपको तदारुकता, होसियारी र फलदायी अन्तर्राष्ट्रिय समन्वय निर्माणमा समय र ध्यान लगाउनु पर्थ्यो त्यो काममा अमेरिकी राष्ट्रपति नराम्ररी चुके । फलस्वरूप अहिले अमेरिका महामारीको केन्द्रबिन्दु बनेको छ । जहाँ साढे २ लाख मानिसहरू सङ्क्रमित भइसकेका छन् भने ६ हजार भन्दा बढिले ज्यान गुमाइसकेका छन् ।
अहिले चीन सहजता तर्फ उन्मुख बनिसकेको छ भने अमेरिका पुरै लकडाउनको अवस्थामा छ । तर, आजको मितिसम्म पनि यी दुई नेताले गम्भीर रूपमा यो समस्याबाट विश्वलाई कसरी बाहिर निकाल्ने भन्ने बारे छलफल गरेको सुनिएको छैन । बरु एक अर्कालाई मनगढन्ते आरोपहरू लगाउँदै विश्व समुदायलाई भ्रमित पार्नमा दुवै पक्ष सक्रिय छन् ।
चीनका विदेशमन्त्रीले अमेरिकी सेनाले वुहानमा ल्याएर भाइरस छोडिदिएको आरोप लगाए । उता ट्रम्पले ‘चाइनिज भाइरस’ भनेर जवाफ फर्काए । तर, दुवैले के भने बुझेको देखिँदैन भने भाइरसले राष्ट्रियता हेर्दैन । को चिनियाँ, को अमेरिकी छुट्याउदैन ।
स्पष्ट छ, जबसम्म अमेरिका र चीनबिच यो महामारी रोक्नका लागि विशेष सहकार्यको थालनी हुँदैन तब सम्म विश्वले यो सन्त्रासबाट मुक्ति पाउन सक्ने अवस्था छैन । तर, समस्या यो छ की यी दुई देशबिचको चिसिँदै गएको सम्बन्धलाई कोरोना भाइरसले अझ बढी जटिल बनाइदिएको छ । त्यसै पनि सन् २०१७ यता ट्रम्पले अघि सारेको राष्ट्रिय सुरक्षा रणनीतिले चीनसँग प्रतिस्पर्धा गर्ने नीति अङ्गीकार गरेको छ । अमेरिकाका सबै राजनीतिक शक्तिहरूले सहमति जनाएको यो नीतिले चीनसँग हात मिलाउने होइन की विभिन्न उपाय निकालेर चीनलाई दुख दिने कुरालाई नै अनुमोदन गर्छ ।
अमेरिकाले यो नीति कार्यान्वयनमा ल्याइसकेको उदाहरणहरू प्रशस्तै छन् । चीनसँगको व्यापार युद्ध, साइबर चोरीका आरोप, बलपूर्ण गरिएको बौद्धिक सम्पत्ति स्थानान्तरणका जरिवाना लगायतका विषयहरू यसका प्रमाणहरू हुन् । फाइभ जी प्रविधिका विषयमा अमेरिकाले गरेको कपटपूर्ण व्यवहार त्यहीँ रणनीतिको एउटा हिस्साको रूपमा देखिएको थियो ।
सुरक्षाको प्रश्न उठाउँदै चीनले फेसबुक र गुगललाई आफ्नो मुलुकमा प्रतिबन्ध लगाउन मिल्छ भने अमेरिकाले हुवेई र जेडटिईलाई किन आफ्नो मुलुकमा प्रतिबन्ध लगाउन नमिल्ने भन्ने खालका तर्कहरू अघि सार्ने गरेको छ । आखिर जे होस्, यी दुई देशबिच अविश्वास छ र सहकार्यको लागि हातेमालो गरिहाल्ने मोडमा यिनीहरू देखिँदैनन् ।
तर, कोरोना भाइरसले उत्पन्न गरेको संकटले भने हामीलाई अर्कै पाठ सिकाउन खोजेको देखिन्छ । राष्ट्रिय सुरक्षाका विषय यस बेलाको प्रमुख विषय होइन । कुनै पनि मुलुकको राष्ट्रिय स्वार्थ सम्पूर्ण मानव जातिको सुरक्षा र हित भन्दा माथि रहन सक्दैन । अनि सूचना प्रविधि र भूमण्डलीकरणले छुट्ट्याउनै नमिल्ने गरी संसारलाई एउटै संयन्त्रमा बाँधेको अवस्थामा कुनै दुई मुलुकहरूबिचको स्वार्थको टकराब महत्त्वपूर्ण कुरा हुन सक्दैन ।
सबै राष्ट्रप्रेमी नेताहरूले आफ्नो मुलुकको स्वार्थलाई केन्द्रमा राख्नु पर्दछ । यी नेताहरूले त्यसो गरेर गल्ती गरे भन्ने पटक्कै होइन । तर, महत्त्वपूर्ण प्रश्न चाहिँ यो होकी उनीहरूले सो राष्ट्रिय स्वार्थलाई कति बृहत् या संकुचितरुपमा परिभाषित गरिरहेका छन् । अमेरिका र चीन दुवै मुलुकले कोरोना भाइरसको सङ्क्रमणले सिर्जना गरेको परिस्थितिलाई अल्पकालीन समस्याका रूपमा मात्र बुझे जस्तो देखिन्छ । उनीहरूले यो ग्रहलाई नै भयावह अवस्थामा पुर्याएको यो विषयमा आपसी सहयात्रा जरुरी छ भन्ने महसुस गरेको देखिएको छैन । विश्वका सर्वाधिक प्रभावशाली व्यक्ति र धनी मुलुकका प्रमुखहरू यसरी विश्वव्यापी समस्याप्रति तुलनात्मक रूपमा उदासीन देखिनु विश्व समुदायका लागि सुखद कुरा होइन ।
अपरिहार्य देखिएको अमेरिका–चीन सहकार्यका लागि चीन निकै लचक बनेर प्रस्तुत हुन खोजिरहेको देखिन्छ । उसले अनेकौँ आरोपहरूका बिच युरोपमा फैलिएको सङ्क्रमण नियन्त्रणका लागि हर तरहका प्रयत्न गरिरहेको छ । भौतिक सामाग्री देखि जनशक्ति सहितको सहयोगमा चीनले देखाएको उदारताले उ विश्वलाई सङ्कटबाट मुक्त गर्न चाहन्छ भन्ने सन्देश प्रवाह गरिरहेको छ । उता अमेरिकाले भने ट्रम्पको “अमेरिका फस्ट” नीतिबाट टसमस हुने लक्षण देखाएको छैन ।
अहिले जसरी अमेरिका कोरोनाको केन्द्र बनेको छ त्यहाँबाट सहजै बाहिर निस्किन पनि उसले चीनसँगको सहकार्यलाई स्थापित गर्न आवश्यक हुन्छ । एक महिना अघिसम्म अत्यन्तै गैरजिम्मेवारपुर्ण र ठट्टा मिश्रित प्रतिक्रिया दिँदै आएका ट्रम्प यो साता भने केही गम्भीर चाहिँ देखिएका छन् । उनको त्यो गम्भीरता व्यवहारमा परिणत हुने हो भने मात्र अमेरिका लगायत सारा विश्वले कोरोनाको सन्त्रासबाट उन्मुक्तिको बाटो खोजी गर्ने वातावरण निर्माण हुनसक्छ । आशा गरौँ, यस्तो चेत अमेरिकी राष्ट्रपतिमा चाडै आउनेछ ।
प्रतिक्रिया दिनुहोस