
काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९)ले विश्वभर हजारौं मानिसहरुको ज्यान लिइसकेका कारण त्रास फैलाइरहेको छ । उक्त भाइरसका कारणले विश्वका लाखौं मानिसहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित बनाएको छ ।
कोरोनाभाइरसको संक्रमणका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ४८ को मृत्यु भएको छ । यससँगै यहाँ हालसम्म ८ हजार ४ सय ५२ जनाले ज्यान गुमाइसकेका छन् ।
वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ३४ हजार १ सय ९६ जना संक्रमित पाइएका छन् । यहाँ हालसम्म संक्रमितको कूल संख्या ३ लाख ११ हजार ३ सय ५७ पुगिसकेको छ जसमध्ये ८ हजार २ सय ६ जनाको स्थिती गम्भीर छ ।
हालसम्म १४ हजार ७ सय ४१ जना संक्रमित निको भएर घरसमेत फर्किसकेका छन् । यसका साथै, फ्रान्समा एकैदिन मृत्यु हुनेको संख्या हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा फ्रान्समा १ हजार ५३ जनाले कोरोनाभाइरसको संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । यहाँ हालसम्म मृतकको कूल संख्या ७ हजार ५ सय ६० पुगेको छ ।
एकैदिन ७ हजार ७ सय ८८ संक्रमित थपिएसँगै यहाँ कूल संक्रमितको संख्या ८९ हजार ९ सय ५३ पुगेको छ ।
संक्रमितमध्ये ६ हजार ८ सय ३८ गम्भीर स्थितीमा छन् । साथै, १५ हजार ४ सय ३८ जना निको भएर घरसमेत फर्किसकेका छन् ।
कोरोनाको कारणले मानव जीवनमा ठूलो क्षति पुर्याएको छ । यस भाइरसबाट विश्वभरमा १२ लाख २० हजार ४ सय ४३ जना संक्रमित छन् भने ६४ हजार ६ सय ७५ जनाको ज्यान गएको छ ।
यस भाइरसबाट २ लाख ४६ हजार १ सय ७४ जना भने निको भएका छन् । छिमेकी राष्ट्र भारतमा ३ हजार ५ सय ८८ जनामा कोरोनाले संक्रमण गराएको छ भने ८६ जनाको यस भाइरसका कारण मृत्यु भएको छ । ५ सय २९ जनामा कोरोनाको नयाँ संक्रमण देखिएको हो भने २ सय २९ जना निको भएर घर फर्किएका छन् ।
इटालीमा यस भाइरसबाट मृत्यु हुनेको संख्या १५ हजार ३ सय ६२ पुगेको छ भने १ लाख २४ हजार ६ सय ३२ जनामा संक्रमण फैलिएको छ । चीनमा ८१ हजार ६ सय ३९ जनामा कोरोनाको संक्रमण रहँदा ३ हजार ३ सय २६ जनाको मृत्यु भएको छ ।
स्पेनमा यस भाइरसबाट ११ हजार ९ सय ४७ जनाको ज्यान गएको छ भने १ लाख २६ हजार १ सय ६८ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
नेपालमा कुल १ हजार ५ सय २१ जनामा कोरोनाभाइरसको परिक्षण गरिएकोमा ९ जनामा उक्त भाइरसको संक्रमण देखिएको छ भने, १ जना निको भैसकेका छन् ।
त्यसैगरि, १ हजार ५ सय १२ जनामा संक्रमण नदेखिएको र ६८ जनालाई आइसोलेसनमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस