
कञ्चनपुर । भीमदत्त नगरपालिकामा लकडाउनको समयमा सञ्चालन गरिएका घुम्ती पसल सेवा बन्द गरिएका छन् ।
सरकारको निर्णयअनुसार लकडाउनको समयमा बासिन्दालाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन सो नगरपालिका र कञ्चनपुर उद्योग बाणिज्य सङ्घको समन्वयमा ती पसल सेवा सञ्चालन गरिएको थियो ।
नगरपालिकामा शनिबार बसेको अत्यावश्यक खाद्यान्न आपूर्ति तथा व्यवस्थापन सहजीकरण समितिको बैठकले कोरोना भाइरस ९कोभिड–१९०को सङ्क्रमणको थप जोखिम बढेपछि अर्को व्यवस्था नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख सुरेन्द्र विष्टसहित जनप्रतिनिधि, समितिका सदस्य सहभागी बैठकले कोरोना भाइरस जोखिमको संवदेनशिलतालाई मध्यनजरगरी अर्को सूचना जारी नभएसम्मका लागि पसल बन्द गर्ने निर्णय गरेको हो ।
उनले सुदूरपश्चिम प्रदेशमा पहिलो पटक स्थानीयमा सो भाइरसको सङ्क्रमण देखिएकाले लकडाउनको पूर्ण पालना गरी सुरक्षित हुन सबैमा आग्रह गरे ।
यसैगरी, कोरोनाका थप तीन संक्रमित भेटिएपछि आजदेखि धनगढी बजार पूर्ण रुपमा बन्द भएको छ अस्पताल बाहेक सबै क्षेत्र बन्द भएका छन् । आज बजारमा कुनै पनि पसल खुलेका छैनन् ।
धनगढी उपमहानगरपालिकाले शनिबार विज्ञप्ति प्रकाशन गर्दै सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको थियो ।
यस अवधिमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु होम डेलिभरी गर्न उद्योग वाणिज्य संघ कैलाली, किराना व्यवसायी संघ कैलाली, दुग्ध व्यवसायी, तरकारी व्यवसायीलगायत सबैमा आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस