काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न शिक्षा मन्त्रालयसँग छलफल गरेको छ । शिक्षा मन्त्रालयसँगको छलफलमा विदेशमा रहेका विद्यार्थीलाई नेपालबाट पठाउने रकमको सिमा एक हजार गर्न माग गरेको छ । नेपालबाट अभिभावकले कसरी पैसा पठाउने र कतिसम्म पठाउन सकिने विषयमा समेत छलफल भइरहेको इक्यानले जनाएको छ । यसअघि नेपाल राष्ट्र बैंकले नेपालबाट अभिभावकले विदेशमा रहेका आफ्ना विद्यार्थीलाई बढीमा ५०० अमेरिकी डलर खर्च पठाउन सक्ने व्यवस्था गरिसकेको छ ।
नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश गएका विद्यार्थीहरुलाई कुनै पनि प्रकारको समस्या नहोस भन्ने उद्देश्यले समस्या समाधान गर्नु पहिलो कर्तव्य भएकाले इक्यानले अग्रसरता लिएको उनको भनाइ छ । जसमा विद्यार्थीले इक्यानले बनाएको रजिष्ट्रेसन फारममा आफ्ना सम्पूर्ण विवरण भरेर आफूलाई परेको समस्याबारे जानकारी दिन सक्छन् ।
कोरोना भाइरसका कारण हाल विश्वका एक तिहाई मानिसहरु लकडाउनमा छन् । जसले गर्दा सम्पूर्ण कारोबार सुस्त हुँदा त्यसको असर सम्पूर्ण अर्थतन्त्रमा परेको छ । जसले गर्दा विदेशमा रहेको विद्यार्थीलाई समेत असर परेको छ । हाल सबैभन्दा धेरै नेपाली विद्यार्थीहरु अष्ट्रेलियामा अध्ययनरत छन् भने भारत, जापान, अमेरिका, न्यूजिल्याण्डसँगै युरोपका धेरै देशमा ठूलो संख्यामा नेपाली विद्यार्थीहरु अध्ययनरत छन् ।
विश्वव्यापी रुपमा फैलँदै गएको कोभिड–१९ भनिने कोरोना भाइरसका कारण विदेशमा अध्ययनरत विद्यार्थीहरु समस्यामा पर्ने अवस्थालाई ध्यानमा राख्दै इक्यानले त्यस्ता विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले ‘इक्यान कोभिड १९ आपतकालीन रजिष्ट्रेसन फारम’ को शुरुवात गरेको अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस