aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतले थाल्यो ठुलो तयारी, २० हजार रेलका डब्बालाई अस्पताल बनाइँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ चैत्र २०७६
भारतले थाल्यो ठुलो तयारी, २० हजार रेलका डब्बालाई अस्पताल बनाइँदै

काठमाडौं । रेल्वे सेवा सुरु भएको १६७ वर्ष पछि पहिलो पटक भारतमा रेल सेवा बन्द भएको छ । जसलाई सरकारले कोरोना विशेष अस्पतालका रूपमा प्रयोग गर्ने तयारी गरेको छ । 

२५ मार्चमा सुरु गरेको देशव्यापी लकडाउनका कारण भारतको रेल सेवा कम्तीमा अप्रिल १४ सम्म बन्द छ । एसिया कै पुरानो रेल सेवा इतिहासमै पहिलो पटक बन्द हुँदा त्यसलाई सदुपयोग गर्ने भारत सरकारको निर्णय निकै वैज्ञानिक भएको भन्दै प्रशंसा भइरहेको छ । 

अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाए अनुसार आफ्ना पुरानो २० हजार वटा रेलका डब्बालाई आईसोलेसन वार्डको रूपमा विकास गरेर कोरोना भाइरसका बिरामीहरुलाई त्यहाँ उपचार गर्ने योजना भारत सरकारले बनाएको छ ।

भारतीय रेल सेवा भारतकै सर्वाधिक ठुलो रोजगार दाता कम्पनी हो । यसले यसअघि नै देशभर १२५ वटा अस्पताल सञ्चालन गरिरहेका छ । जसका कारण भारतीय  रेल्वेलाई यस प्रकारका मोबाइल बेडहरू विस्तार गर्न कुनै प्राविधिक ज्ञानको कमी छैन । 

भारत सरकारका रेलमन्त्री पियूष गोयलले ट्विट गर्दै भनेका छन्, “अब रेल्वेले सफा, स्वच्छ र  कीटाणुरहित वातावरणमा बिरामीहरू सजिलै निको हुने अवसर प्रदान गर्ने छ ।”

रेलमन्त्रीको यो भनाइसँगै त्यहाँ पुराना रेलका डब्बाहरूलाई अस्पतालकारुपमा विकास गरेका तस्बिरहरू सार्वजनिक भएका छन् । समाचारमा जनाइए अनुसार अहिले त्यहाँ धमाधमरुपमा रेलका डब्बालाई सुविधा सम्पन्न अस्पताल कक्ष बनाउने काम चलिरहेका छ । 

सम्भावित संक्रमितको संख्यालाई मध्यनजर गर्दै भारतले ठुला तयारी सुरु गरेको हो । 

अप्रिल ६ सम्म भारतमा ४ हजार ३१४ जना संक्रमितको पहिचान भइसकेको छ भने ११८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाई सकेका छन् । भारतले १ लाख ४० हजार भन्दा बढी मानिसमा संक्रमणको परीक्षण गरिसकेको छ । तर भारतको कुल जनसङ्ख्याको आधारमा परीक्षण अति कम भएको भन्दै आलोचना भइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस